मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ७ बुधबार
  • Monday, 14 July, 2025
२o७७ असोज ७ बुधबार १३:२४:oo
Read Time : > 3 मिनेट
फिचर

युरोपियन फुटबल सिजन : दर्शकरहित खेल, दबाबविहीन खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ७ बुधबार १३:२४:oo

सन् २०२० को युरोपियन फुटबल सिजन सुरु भएको छ । कोभिड–१९ महामारीका कारण यो सिजनमा पनि रंगशाला खाली छ । दर्शकलाई रंगशालामा निषेध गरिएको हो । घरेलु मैदानमा आफ्ना नियमित दर्शकविना नै प्रतिस्पर्धा गर्नुपर्दा खेलाडी निराश मात्रै छैनन् उनीहरूले दबाब महसुस नगरेका कारण खेलको रौनक नै छैन । 

विश्वमा खेलिने सबै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन दर्शकको उपस्थिति महत्वपूर्ण मानिन्छ । जुन मैदानमा खेले पनि दर्शकले खेलाडीको हौसला बढाउने गर्छन् । चाहे त्यो होम वा अवे नै किन नहोस् । यी दुवैै मैदानमा घरेलु समर्थकको महत्व उत्तिकै छ । प्रिमियर लिग डर्बी खेलमा समर्थकको सहयोगले नतिजा नै उल्ट्याएका उदाहरणहरू पनि छन् । स्पेनमा रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको खेलमा रंगशाला खचाखच हुन्छ । हजारौँ विपक्षी दर्शकका अगाडि गोल गर्दा र जित निकाल्दा पाहुना टोलीको सान नै बेग्लै हुन्छ । इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको खेलमा यस्तै हुन्छ । तर, कोरोना भाइरसका कारण अहिले यस्तो दृश्य देखिनु दुर्लभ भएको छ ।

यो वेला घरेलु मैदानमा पाहुना टोलीले त्यति दबाब लिइरहेको छैन । अन्य वेलामा उनीहरूमाथि विपक्षी समर्थकको हुटिङले त्यत्तिकै दबाब सामना गर्नुपर्ने हुन्थ्यो । दर्शकको दबाब नहुँदा खेलाडी मानसिक रूपले नै स्वतन्त्र भए पनि मैदानमा फुटबलको रौनक छैन । उनीहरू मैदानमा जाँदा कुनै दबाबमा नरहेको पुष्टि गर्छ । 

चाहे त्यो आधा दर्जन गोल आफ्नो पोस्टमै किन विपक्षी टोलीले प्रहार गरेको नहोस् । खेलाडी, प्रशिक्षक तथा अफिसियलले दबाब नलिएका कारण यो विकेन्डमा इंग्लिस प्रिमियर (इपिएल) लिगमा ३९ गोल भयो । जुन इपिएलको इतिहासमा अहिले सम्मकै सर्वाधिक गोल हो । ‘अहिले मैदानभित्र कोही दबाब हुँदैनन्, सबै सामान्य अवस्थामा हुन्छन्,’ युरोपका फुटबलविज्ञ इयान हर्ट भन्छन्, ‘जब रंगशाला भरिभराउ हुन्छ, त्यसवेला मात्र खेलाडी दबाब पर्ने गर्छन्, मैदानको वातावरण नै फरक हुन्छ ।’ 

इपिएलको आठ खेल, ३९ गोल

यो विकेन्डमा भएको इपिएलको आठ खेलमा ३९ गोल भएको थियो । प्रतिखेल गोलऔसत ४.८८ रह्यो । गत शनिबार मात्र २१ गोल भयो । इंग्लिस प्रिमियर लिगको इतिहासमा यो गोल संख्या नै कीर्तिमानी हो । तीन खेलमा दुई गोलभन्दा माथि नै भएको थियो । गत वर्ष यसै समयमा प्रतिखेल २.७ गोल भएको थियो । अहिले प्रतिखेल ३.७ औसत गोल भएको तथ्यांकले देखाएको छ । खाली रंगशालामा खेल्नुपर्दा कोही पनि खुसी छैनन् । 

सामान्य वेलामा गोल गरेको केही मिनेटभित्रै फर्काउने दबाब घरेलु टोलीले झेल्ने फुटबलविज्ञ इयानको भनाइ छ । उनी भन्छन्, ‘दर्शक हुनु र नहुनुमा धेरै फरक छ, घरेलु टोलीले एक गोल व्यहोरेको अवस्थामा कम्तीमा तीन गोल फर्काउनुपर्ने किसिमको दबाब समर्थकले दिइरहेका हुन्थे । अहिले घरेलु टोलीले सुरुवातमै गोल व्यहोर्दा पनि त्यति दबाब लिएको देखिँदैन ।’ 

गोल गरेपछि मैदानको एक कुनामा गएर खुसी मनाउनसमेत अहिले खेलाडीले इच्छा नदेखाएको उनको भनाइ छ । उनी भन्छन्, ‘चर्चित खेलाडी गोलपछि समर्थकअगाडि नै डाइभ गर्दै खुसी मनाउने गर्छन्, अहिले दर्शक छैनन्, उनीहरूले गोल गरेपछि सामान्य लिन्छन् । पहिला खेलाडी मैदानमा आउँदा दर्शकलाई खुसी दिलाउन राम्रो खेल्ने र गोल गर्नुपर्ने भावनाका साथ आउँछन् । अहिले खेलाडीमा त्यो बडिल्यांग्वेज पाउन गाह्रो छ ।’ 

गोलसंख्या मात्रै बढे

विश्व स्वास्थ संगठन र प्रिमियर लिगको प्रोटोकलअनुसारै खेलाडी सामान्य रूपमै खुसी मनाउने गरेको धारणा धेरैका छन् । हुलमुलमा खुसी मनाउँदा संक्रमित हुने सम्भावना उत्तिकै छ । अहिले प्रिमियरसिप लिगको सुरुवाती साताको खेल विश्लेषण गर्दा पहिलो १० मिनेटभित्र १५ प्रतिशत गोल भएको देखिन्छ । सन् २०१९–२० को सिजनमा यो प्रतिशत निकै तलो थियो । 

गत वर्ष यही समयमा पहिलो दश मिनेटभित्र केवल सात प्रतिशत मात्र गोल खेलाडीले गरेका थिए । पहिलो २० मिनेटमा मैदानमा रहेका दुवै क्लबका खेलाडी आक्रामक रूपमै प्रस्तुत हुन्छन् । त्यसपछिको समयमा खेलाडीभित्र रौनक भेटिन मुस्किल पर्छ । यसै शनिबार लिड्स युनाइटेड र फुलहामबीच खेलमा सात गोल भयो । 

इलान्ड रोडमा दर्शक हुँदा यस दिनमा लिड्समाथि फुलहामले दबाब बनाउने थियो । प्रिमियर लिगको १६ वर्षमा फुलहाम हाइस्कोर खेलमा लिड्ससँग पराजित भयो । यो समयमा घरेलु टोली स्वतन्त्रपूर्वक खेलिरहेको छ । कोभिड– १९ को महामारी कारण गत सिजनमै बन्द रंगशालाभित्र खेल सञ्चालन भयो । आर्थिक रूपमा बन्द रंगशालाभित्र भइरहँदा क्लब आर्थिक घाटा व्यहोरिरहेको छ । प्रायोजकसँग जति रकममा सम्झौता भए पनि क्लबको मुख्य आम्दानी स्रोत नै रंगशालामा बिक्री भएको टिकट हो ।

सिजन भर्खर मात्र सुरु भएकाले घरेलु टोली ढुक्कका साथ प्रतिस्पर्धा गर्दै ठूलो अन्तरमा जित निकाल्न सफल भइरहेको छ । दर्शकको अनुपस्थितिमा यो सिजनमा इंग्लिस प्रिमियर लिगमा दुई वर्षयताकै धेरै गोल हुने अनुमान छ । पछिल्लो दुई सत्रको डाटाअनुसार प्रत्येक वर्ष गोलसंख्या बढिरहेको छ । सन् २०१८–१९ को सिजनमा १०७२ गोल भएको थियो । गत सिजनमा ३४२ गोल बढी भयो । 

सन् २०१९–२० मा खेलाडीले १४१४ गोल गरेका थिए । यद्यपि यी दुवै सिजनमा दर्शकको दबाब उत्तिकै थियो । योबीच पनि गोल राम्रै औसतमा निस्किएको थियो । फेरि अहिले फुटबलमा ह्यान्डबलको नियम लागू भएको देखिन्छ । यसले पहिलो दुई सातामै १७ प्रतिशतले गोलदर वृद्धि भएको हो । –एजेन्सीको सहयोगमा