Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
नौकुण्ड गाउँपालिका– ३ पारच्याङस्थित पारच्याङ गुरुगुम्बा
२०७७ असोज ४ आइतबार २१:४१:००
समाचार डिजिटल संस्करण

रसुवामा सम्पदा पुनर्निर्माणले गति लिन सकेन

२०७७ असोज ४ आइतबार २१:४१:००

रसुवाको नौकुण्ड गाउँपालिका– ३ पारच्याङस्थित पारच्याङ गुरुगुम्बा ०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भयो । गुम्बामा रहेको मूर्तिलगायत सामान क्षतिग्रस्त भए । भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ । 

गुम्बा भने भूकम्पकै भग्नावशेषमै रहेको छ । सन् १७ सयमा निर्माण भएको गुम्बा भूकम्पले ध्वस्त पारेको र हालसम्म पुनर्निर्माणमा कुनै पनि निकायले चासो नदिएको  गुम्बाका प्रमुख लामा सार्की लामाको गुनासो छ । ‘ढुंगामाटोले बनेको एकतले गुम्बा थियो, भूकम्पले भत्कायो, गुम्बामा रहेका मूर्तिसहित  सामानमा क्षति पुग्यो, करिब १५ लाखजतिको सम्पूर्ण सामग्री पुरिएर कामै नलाग्ने भयो,’ उनले भने । 

पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना बोकेको यस ठाउँमा गाउँपालिकाको केन्द्रसमेत रहेको छ । तर, जनप्रतिनिधिलगायत सम्पूर्ण क्षेत्रमा बारम्बार अनुरोध गर्दा पनि कसैले ध्यान दिएनन् । 

अहिले भूकम्पले भत्किएको भग्नावशेषमै बसेर पूजाआजा गरिरहेकोसमेत उनले बताए । शुद्ध मनले पूजापाठ गर्दा आफूलाई पनि पुण्य प्राप्त हुने र पुण्य नपाएको प्राणी–जगतले पनि स्वर्गमा वास पाउने किंवदन्तीका साथ पूजाआजा गर्ने बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर पुनर्निर्माणमा राज्यले बेवास्ता गरेको उनको गुनासो छ । उनले भने, ‘सांस्कृतिक धरोहर जोगाउन सबै  लाग्नुपर्छ । इतिहास मेट्दै गएपछि आस्था र अस्तित्व पनि मेटिँदै जान्छ । त्यसैले आस्थावान् वस्तुलाई जीवन्त राख्नुपर्दछ, तर कसैले पनि चासो नदिँदा दुःख लाग्यो ।’ 

नौकुण्ड गाउँपालिका– ३ पारच्याङस्थित रहेको पारच्याङ गुरुगुम्बा मात्र होइन्, भूकम्पले कालिका गाउँपालिका– २ मा रहेको टासलिङ गुम्बा पनि भत्कियो । गुम्बा निर्माणका लागि  गुम्बाका अध्यक्ष प्रमित लामा जिल्लादेखि केन्द्रसम्म धाएका थिए  । उनी भन्छन्, ‘डोनर आउँछ भनेर ठाउँपाठँमा निवेदन दिनु भने, सबैतिर  धाइयो, तर कहीँबाट केही भएन, धेरै दुःख पायौँ, अन्तिममा एउटा गैरसरकारी संस्था, गाउँपालिकाको आर्थिक सहयोगले एक ढलानको भवन बनायौँ, तर बजेट सकियो, भित्र गर्नुपर्ने निर्माण सबै सकिएको छैन ।’ उनका अनुसार रङरोगन र शौचाालय निर्माणको काम पनि बाँकी छ । 

अहिले भवन ठड्याए  पनि व्यवस्थापनको काम सम्पन्न नहुँदा पुरानै गुम्बा मर्मत गरेर पूजाआजालगायतका गुम्बाबाट हुने गतिविधि गरिरहेकोसमेत उनले बताए । 

यी दुई गुम्बा मात्र होइन, विनाशकारी भूकम्पले रसुवाको विभिन्न स्थानमा रहेका गुम्बा भत्कँदा बौद्ध ग्रन्थ र त्यससँग सम्बन्धित धार्मिक सामग्रीहरूमा क्षति पुग्यो । बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर नै ढलेपछि पाठपूजा, धार्मिक रीतिरिवाजमा हुन पुगेको प्रभावले भूकम्पको कारण धार्मिक संस्कार कमजोर बन्दै आएको छ । 

भूकम्पले गाउँबाट मानिस विस्थापित हुँदा गाउँमा आफ्नै थातथलोमा धार्मिक संस्कार जोगाउँदै आएका रसुवाका तामाङ समुदायको धार्मिक परम्परा अहिले बिथोलिएको छ ।

विनाशकारी भूकम्पपश्चात् घर छाडेर अन्यत्र शरण लिएर बसेकाहरू एकै स्थानमा बस्न नपाउँदा धार्मिक संस्कार प्रभावित भएको हाकुबाट विस्थापित भई खाल्डेस्थित  क्याम्पमा बसिरहेका छेकु लामाले बताए । ‘भूकम्पले थातथलो गुमेपछि कहिले कता कहिले कता भयो, हामीले जे काम गर्दा नि गुम्बामै बसेर गर्थ्याैँ, अहिले धार्मिक संस्कार नै बिथोलियो, पहिलाभन्दा अहिले हाम्रो परम्परा पनि छुट्टै भयो, लामाहरूले प्रयोग गर्ने सामानहरू पाइँदैन, अरूसँग माग्दा पनि नपाउने रै’छ, धेरै समस्या भयो,’उनले भने, ‘पुस्तौँदेखि मान्दै आएको धर्म–परम्परा छोडेर अन्य परम्परा अँगाल्न थालिसके ।’ लामाले प्रयोग गर्ने धार्मिक विधिका सामानहरू भूकम्पले क्षति पुऱ्याउँदा अहिले लामाहरू संस्कृतिको संरक्षण गर्न चुनौती थपिएकोसमेत उनको गुनासो छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) रसुवाको तथ्यांकअनुसार ०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका ५० गुम्बामा क्षति पुगेको थियो । तीमध्ये १, २, ३ ग्रेडको आठवटा गुम्बा मर्मत गर्नुपर्ने र ४२ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने रहेको छ । तीमध्ये हालसम्म चारवटा गुम्बाको मात्र मर्मत भएको छ । जुन गत आर्थिक वर्षमा मर्मत भएको हो । चालू आर्थिक वर्षभित्र ०७७/७८ मा निर्माण हुने ६ वटा गुम्बा पुनर्निर्माण गरिने जनाइएको छ । जसमध्ये तीनवटा गुम्बा पुनर्निर्माणका लागि ९८ लाख बजेटसहित डिपिआर आएको र तीनवटा गुम्बाको बजेटसहित डिपिआर केन्द्रले पठाउन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) रसुवाका सूचना अधिकारी सूर्य थोक्राले बताए । 

भूकम्पले भत्किएका गुम्बा मर्मत तथा पुनर्निर्माणका लागि केन्द्रले बजेट नपठाउँदा धार्मिक सम्पदा पुनर्निर्माण हुन नसकेको उनले बताए । ‘अघिल्लो वर्ष अन्तिममा बजेट आएको थियो, काम हुनै सकेन, गत वर्षदेखि बजेट आउन थालेपछि काम सुरु गरिएको हो,’ उनले भने, ‘बजेट अभावकै कारण  काममा ढिलाइ भएको हो ।’

जिल्लाका पाँचवटै स्थानीय तहले भूकम्पले भत्किएको  गुम्बा पुनर्निर्माण गरिरहेका छन् । कति निर्माण गरे भन्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) रसुवासँग कुनै पनि तथ्यांक छैन । थोक्राले भने, ‘कतिपय हामीसँग लिस्टमा रहेका गुम्बाको निर्माण तथा मर्मतको काम गाउँपालिकाले सुरु गरेका छन्,  यसमा के गर्ने भन्नेमा केन्द्रीय स्तरमा जानकारी गराएका छौँ ।’

भूकम्पले क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण गरिँदै जाने जिल्लाका स्थानीय तहहरूले बताएका छन् । आफ्नो कार्यकाल अवधिभित्र आफ्नो पालिकाभित्र निर्माण गर्नुपर्ने सबै सम्पदा निर्माण गर्ने नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घलेले बताए ।