Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
२०७७ असोज १ बिहीबार ०३:१७:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्पतालमा दुई महिनादेखि बन्धक दम्पती मुक्त, झुपडीमा फर्कियो खुसी 

२०७७ असोज १ बिहीबार ०३:१७:००

लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ । कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष । 

छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भयो । नयाँ पत्रिकाले अन्यायमा परेको दम्पती नै बन्धक भएको समाचार प्रकाशित गरेपछि मुक्त भए । एम्बुलेन्स चढेर ५७औँ दिनमा घर पुग्दा उनीहरूले हर्षका आँसु झारे । शिवचन्द्र र उनकी श्रीमती धेरैबेर भक्कानिए । उनको घर–आँगनमा जम्मा भएका अरू हेरेकोहेरै भए । सन्नाटा नै छायो । तर, दम्पती घर पुग्दा छिमेकका केही केटाकेटी आँगनमा रहेको घाँस सफा गर्दै थिए ।

निरन्तरको झरीले बाँसको टाटीमा माटोले लिपेर बनाएको जीर्ण घरमा पुगेपछि दम्पतीले छोराछोरी खोजे । तर, केटाकेटी घरमा केही खानेकुरा नभएर मावली गएका थिए । छिमेकी रामपरी सदाका अनुसार मामाघरकी हजुरआमाले तीन नातिनातिनालाई लिएर गएकी थिइन् । बा–आमा घाइते भएर अस्पताल गएपछि उनका छोराछोरीले छिमेकीकहाँ मागेर पेट पालेका थिए । छिमेकीले समेत खान दिन छाडेपछि उनीहरू हजुरआमासँग मावली गएका थिए ।

छिमेकीबाट छोराछोरीको सबै हालखबर बुझेपछि थकित शिवचन्द्र आराम चाहन्थे, पुग्नेबित्तिकै बाँसको भाटाले बनाएको खाटमा पल्टे । छिमेकी भेला भएर पछिल्लो हालखबर बुझ्दै थिए । तर, के–कसो भयो भनेर कसैले सबै जान्न चाहेनन् । सबै छिमेकी घटनाबाट जानकार नै थिए । घरमा खानेपानीको कल थिएन । मिलियादेवी छिमेकीको घरमा नुहाउन गइन् ।

ठूलो संघर्ष जितेर सदादम्पती घर त पुगे । तर, मनभरि चिन्ता र भय छ । घरमा खानलाई एक मुठी अन्न छैन, के खाएर ज्यान पाल्ने ? यो चिन्ता त छ नै । फेरि पापी छिमेकीको आक्रमण हुने कि भन्ने भय पनि उत्तिकै छ । केहीबेरको आरामपछि शिवचन्द्रले भने, ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्ने ?’

एकैछिन टोलाएपछि शिवचन्द्रको आँखाबाट फेरि आँसु झ¥यो । उनको आँखाले छोराछोरीको अनुहार हेर्न खोजेका थिए । तल मुन्टो लगाएर भने, ‘केटाकेटीको मावली सीमावर्ती भारतीय गाउँ लालपुर छ । अब तिनीहरूलाई कसरी घर फर्काउने ? घरमा सुरक्षा हुन्छ कि हुँदैन, डरैडर छ ।’

यो पनि पढ्नुहोस्


सप्तरीको महुली गाउँका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीलाई गत ५ साउनमा छिमेकीले निर्घात कुटेका थिए । बाँसको भाटाले प्रहार गर्दा शिवचन्द्रको टाउको फुटेको थियो । उनकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन् । 

घाइते दम्पतीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको थियो । तर, उपचारमा एक लाख ९० हजारको बिल आयो । गरिब सदादम्पती यो बिल तिर्न सक्ने अवस्थामा थिएनन् । बिल नतिरेपछि अस्पतालले बन्धन बनायो । विपन्न र बेखर्ची सदादम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका थिए ।

‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्नुपर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ अस्पतालमा बन्धक रहेका शिवचन्द्र र उनकी श्रीमतीले रुँदै अनुरोध गरेपछि नयाँ पत्रिकाले सरोकारवाला निकायसँग सम्पर्क गरेर समाचार लेखेको थियो । 

घटनाक्रम समेटेर नयाँ पत्रिकाले महत्वका साथ उनीहरूमाथि भएको अन्यायको समाचार छाप्यो । बल्ल स्थानीय प्रशासन र सरकारका आँखा खुले । जब कि त्यतिवेलासम्म स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले न्यायका लागि आश्वासन दिएर झुलाएका थिए । तर, अहिले मुक्त गराएको जस लिने होड चलेको छ ।

नयाँ पत्रिकामा समाचार छापिएपछि बुधबार बिहानै प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले गोल्डेन हस्पिटलका सञ्चालक डाक्टर श्याम रौनियारलाई फोन गरेर तत्काल बिरामी छोड्न निर्देशन दिए । मन्त्री कार्कीले नयाँ पत्रिकासँग कुरा गर्दै भने, ‘सप्तरी जिल्ला प्रशासन कार्यालयबाट अस्पतालको औषधि–उपचारको खर्च नदिएको खण्डमा मैले तिराउने सर्तमा उनीहरूलाई मुक्त गर्न लगाएँ । अब उनीहरू बन्धनमुक्त भएका छन् ।’ 

सदादम्पतीलाई बन्धनमुक्त गर्न प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि अस्पतालको जमानी बसेका छन् । मुख्य न्यायाधिवक्ता झाले भने, ‘अस्पतालका सञ्चालकमध्येका एक सनातम मण्डलसँग कुरा गरेर मैलै औषधि–उपचार खर्च सीधै अस्पतालको खातामा पठाउने जिम्मा लिएपछि उहाँहरू मुक्त हुनुभएको हो ।’ 

झाले बुधबार दिउँसो चेक तयार भएको तथा बिहीबार अस्पतालको खातामा पैसा जम्मा हुने बताए । झाले गत बिहीबार प्रदेश सरकारले उनीहरूको सहयोगार्थ डेढ लाख रुपैयाँ दिने निर्णय गरे पनि निर्णय प्रमाणीकरण नभएका कारण चेक बन्न नसकेको दाबी गरे । उनले नयाँ पत्रिकामा समाचार आएपछि यसमा आफूले पहल लिएको बताए । 

त्यस्तै, मोरङका सिडिओ कोषहरि निरौलाले पनि सदादम्पतीलाई मुक्त गर्न गोल्डेन हस्पिटललाई बुधबार लिखित रूपमै पत्राचार गरेको बताए । प्रशासनका अनुसार गत १८ भदौमै हस्पिटलका सनातम मण्डलसँग टेलिफोनमा सदादम्पतीलाई छाड्ने मौखिक सहमति भएको थियो । तर, हस्पिटलले बिल नतिरेसम्म नछाड्ने भन्दै बन्धन बनाएको थियो । 

पत्रको गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरबार काठमाडौं, आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ विराटनगर, आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश २ जनकपुर र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएको छ ।

मोरङ प्रशासनका अनुसार सदादम्पतीलाई कुटपिट गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिताबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा मुद्दा दर्ता गरिएको छ । सदादम्पतीको उपचारमा लागेको खर्च कुटपिट गर्ने व्यक्तिबाट असुलउपुर गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा पठाउन पनि मोरङ प्रशासनले लेखेको पत्रमा छ । 

बाँसको भाटाले हान्दा गम्भीर चोट लागेको शिवचन्द्रको दाइने हात अझै राम्रोसँग चल्न सकेको छैन । तर, उनलाई मरणासन्न हुने गरी पिट्ने छिमेकी दिना साह तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन् । 

सांघातिक हमला गरेर दम्पती नै अस्पताल भर्ना हुनुपर्ने अवस्था आए पनि प्रहरीले भने आरोपीलाई अभद्र व्यवहार गरेको आरोपमा मात्र कारबाही अघि बढाएको थियो । घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयले घाइतेको उपचार खर्च दिने गरी आरोपीलाई तारेखमा छोड्न आदेश दियो । तर, उपचार खर्च नतिर्दै आरोपीलाई प्रहरीले ३२ साउनमा मुक्त गरिदियो । यसरी आक्रमणकारी समाजमा फर्किए भने पीडितहरू अस्पतालमा बन्धक भएका थिए ।