मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:२२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशत : एडिबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:२२:००

एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा चालू वर्ष ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हुने यसअघिको प्रक्षेपणलाई घटाएर १ दशमलव ५ प्रतिशतमा झारिएको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । 

गत आव ०७५/७६ मा नेपालमा आर्थिक वृद्धि माइनस २ प्रतिशत संकुचनमा गएको थियो । तर, केन्द्रीय तथ्यांक विभागले यसअघि गरेको २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने आकलनलाई अन्तिम परिमार्जन गर्न बाँकी नै छ । त्यसअघिका तीन वर्ष नेपालको आर्थिक वृद्धि लगातार ६ प्रतिशतभन्दा माथि भएको थियो । ‘विगतमा बलियो आर्थिक वृद्धि गरिरहेको नेपालले कोरोनाका कारण निर्यात, रेमिट्यान्स र पर्यटन आयमा संकुचन आई वृद्धिदर घट्ने देखिएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतको आर्थिक वद्धि तीव्र रूपमा घटेकाले त्यसको असरसमेत नेपालको अर्थतन्त्रमा पर्नेछ,’ नेपालका लागि एडिबीका निर्देशक मुख्तोर खामुदखानोभले बताए । कोरोनाको संक्रमण बढ्दै गएर त्यसको रोकथामका लागि थप कदम चाल्नुपरेको अवस्थामा मुलुकको आर्थिक वृद्धि थप कम हुने पनि उनले बताए । 

आजै सार्वजनिक भएको नेपाल म्याक्रोइकोनोमिक अपडेटका अनुसार मौसम राम्रो भएकाले यो वर्ष धानको उत्पादन बढ्ने र कृषि क्षेत्रको वृद्धिदर केही राम्रो हुने देखिन्छ । तर, रासायनिक मलको आपूर्तिमा भएको अवरोधले धानको उत्पादनलाई प्रभावित बनाउन सक्नेछ । 

गत आवको तुलनामा मूल्यवृद्धि केही घटेर चालू आर्थिक वर्षमा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण पनि एडिबीले गरेको छ । गत आवमा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत थियो । मुलुकको चालू खाता घाटा भने गत आवमा जिडिपीको माइनस ० दशमलव ९ प्रतिशतबाट अझै घटेर माइनस १ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण पनि एडिबीको छ ।