Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १२ सोमबार
  • Monday, 28 September, 2020
२०७७ भदौ ३० मंगलबार ०४:१०:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुकुम घटनायता मधेसमा आठ दलितको हत्या : मधेसका दलित निरन्तर आन्दोलित, काठमाडौंलाई वास्ता छैन

२०७७ भदौ ३० मंगलबार ०४:१०:००

 

०००

रौतहट गरुडा नगरपालिका– ८ जिंगडियाका १९ वर्षीय युवा विजय राम गाउँ–छिमेकमा पढेलेखेका युवा मानिन्थे । उनले ११ कक्षा पढेका थिए, उनीबराबर पढेको युवा छिमेकमा थिएन । गाउँमा आशा गरिएका १९ वर्षीय विजयको शव १९ दिनदेखि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा छ । 

मामाका छोरा निरञ्जन रामको हत्या आरोपमा विजय पक्राउ परेका थिए । तर, उनले आफू निर्दोष भएको दोहोर्‍याइरहेका थिए । उनीविरुद्ध प्रमाण नभएकाले प्रहरीले उनीबाटै बकाउने कोसिस गरेको थियो । त्यही क्रममा चरम यातना दिँदा उनको हिरासतमै मृत्यु भयो । निर्दोषलाई दोषी साबित गर्न यातना दिने ६ प्रहरी अधिकारीविरुद्ध विजयका बाबु पनिलालले सरकारी वकिल कार्यालयमार्फत २४ भदौमा उजुरी दर्ता गराएका छन् । तर, प्रहरीले अहिलेसम्म कुनै कारबाही थालेको छैन ।

विजयका मामाका छोरा २१ वर्षीय निरञ्जन ३१ साउन राति रौतहटको गरुडा–८ स्थित लखन साहको घरमा बर्थ–डे पार्टीमा गएका थिए । साहको नर्सरीमा काम गर्ने भएकाले उनलाई बोलाइएको थियो । त्यही राति घाँटी रेटेर उनको हत्या भयो । 

‘२१ वर्षीय दलित युवाको हत्या भएपछि गाउँ आक्रोशित थियो । तर, प्रहरीले राति दलित बस्तीमा आएर घरघरबाट मान्छे तानेर कुटपिट ग¥यो, राति नै ११ जनालाई पक्राउ गरेर हिरासतमा लगियो जसमध्ये विजय पनि थिए,’ छिमेकी जवाहर रामले नयाँ पत्रिकासँग भने । 

एक सातापछि ७ भदौमा इलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलन गर्दै सातजना मिलेर निरञ्जनको हत्या गरेको ‘खुलासा’ गरे । त्यो वेलासम्म चारजनालाई छाडिएको थियो । नर्सरीका साहु लखनका छोरा राजाराम, साथीहरू शेख आजाद, अजयकुमार रञ्जन, विवेक राय यादव, अर्जुन राम, टिकिन्द्र पासवान र विजय रामले मिलेर हत्या गरेको प्रहरीको दाबी थियो । 

नर्सरी साहुको योजनामा उनका सहयोगीले हत्या गरे पनि गाउँका सोझासिधा युवाहरूलाई फसाइएको भन्दै गाउँमा विरोध भयो । स्वयं निरञ्जनका बाबु रामलालले पनि नर्सरी साहु लखन, भाइ राजगिर, छोरा राजाराम र साथी शेख आजाद मिलेर हत्या गरेको किटानी जाहेरी दिएका थिए । ‘तर, प्रहरीले नर्सरी साहु र उनका भाइ राजगिरको नाम हटाउन र विजयसहित अन्य पाँचजनाको नाम थपेर ल्याउन दबाब दियो, त्यो विषयमा विवाद बढेपछि प्रहरी कार्यालयमै झडप भएको थियो,’ जवाहरको भनाइ छ । 

मुख्य दोषीलाई कारबाही गराउन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा स्थानीय घाइते भए । महिलालाई अस्पताल भर्ना गर्नुपर्‍यो । न्यायको माग गर्ने स्थानीयमाथि बाहिर बल प्रयोग गरेको प्रहरीले हिरासतभित्र रहेका युवालाई पनि कुटपिट गरिरहेको थियो । मुख्य दोषीलाई लुकाएर निर्दोषलाई फसाउन प्रहरीले पाँचजना युवामाथि ज्यादती नै गरेको थियो । हिरासतमा यातनापछि गम्भीर बनेका विजयलाई ८ भदौमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, १० भदौ मध्यरातमा उनको मृत्यु भयो ।

मृत्युअघि आइसियूबाट दिएको अन्तिम सन्देशअनुसार प्रहरीले कुटपिट मात्र होइन, करेन्ट पनि लगाएको बताएका छन् । ‘प्रहरीले अपराध कबुल गर्न दबाब दियो, टाउको, पिठ्युँ, खुट्टा, कम्मर र हिपमा लाठी, बुट, मुक्का र प्लास्टिकको पाइपले पटक–पटक कुट्यो । शरीरका विभिन्न भागमा करेन्ट पनि लगायो,’ अस्पतालको बेडमा छटपटिँदै उनले भनेका छन् ।

११ भदौमा उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो । तर, हिरासतमा यातना दिने प्रहरी पक्राउ नपरेसम्म परिवारले शव बुझ्न मानेको छैन । ‘निर्दोष छोरालाई कुटी–कुटी मार्‍यो । हामीलाई न्याय चाहियो । दोषीहरूलाई पक्राउ नगरेसम्म हामी शव बुझ्न तयार छैनौँ ?’ विजयकी आमा बिसुमती भन्छिन् । बिसुमतीका जेठा छोराको पनि यसअघि निधन भएकाले उनका तीन सन्तानको अभिभावकत्व पनि विजयले लिएका थिए । यी सबैको बिचल्ली भएको छ । 

प्रहरीले इन्स्पेक्टर नवीन सिंह तथा हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् । तर, दोषी प्रहरीलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ । 

मृतक विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसुरमा रौतहटका तत्कालीन एसपी खड्का, गरुडाका डिएसपी महतो, प्रहरी निरीक्षक सिंह, सइ वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

घटनाको अनुसन्धान गर्न रौतहट पुगेका अधिवक्ता बद्री भुसाल विजय रामको मृत्युको कारण प्रहरीको कुटपिट नै भएको बताउँछन् । ‘जुन दिन साहुले निरञ्जनसमेतलाई बोलाएर पार्टी राखे, त्यस दिन विजय त्यहाँ गएकासमेत थिएनन् । तर, उनीमाथि नै हत्या अभियोग लगाइयो, त्यसैबाट प्रहरीको नियत स्पष्ट हुन्छ,’ उनी भन्छन् ।

बर्थ डे पार्टीमा गएको वेला मारिएका निरञ्जनका बाबु नन्दलाल पनि आफ्नो छोराको हत्यामा विजय र उनका साथीहरू होइन, नर्सरी सञ्चालक लखन र उनका सहयोगीको हात रहेको दाबी गर्छन् । तर, साहुलाई बचाउन डिएसपी महतोले निर्दोषलाई फसाउन खोजेको उनको आरोप छ । ‘मेरो छोराले वर्षौँसम्म साहुको नर्सरीमा पसिना बगायो, त्यही साहुको योजनामा मेरो छोराको खुन बग्यो, ज्यान गयो,’ नन्दलाल भन्छन्, ‘हामीलाई न्याय दिनुपर्ने प्रहरी दोषीलाई छाडेर मुसहरकै बच्चालाई फसाउन लागिपरेको छ ।’

निरञ्जनको घरमा बाबुआमा, दाजुभाउजू र दाइका सन्तान छन् । ३१ साउन साँझ निरञ्जनलाई लिन उनकी आमा नर्सरीमा पुगेकी थिइन् । तर, साहु लखन साहले साँझ आफ्नो घरमा बर्थ–डे पार्टी भएकाले यतै बस्छ, भोलि आउँछ भनेका थिए । तर, बिहान ६ बजे घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा निरञ्जनको शव भेटियो ।

रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार निरञ्जनको हत्या नर्सरी सञ्चालक साहको डिजाइनमा शेख आजादले गरेको पुष्टि भएको छ । शेख पक्राउ परे पनि लखन र उनका भाइ राजगिरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साहको छोरा राजाराम र उनका साथीहरू शेख आजाद, अजयकुमार रञ्जन, विवेक यादव, अर्जुन राम र टिकिन्द्र पासवानविरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको छ ।

न्याय माग्दै दलित महिला सडकमा : समाजमा निरञ्जन राम र हिरासतमा विजय रामको हत्याविरुद्ध रौतहटमा प्रदर्शन

०००

धनुषा सबैला– १२ वर्कुवानिवासी २३ वर्षीय शम्भु सदा गाडीचालक थिए । उनी स्थानीय सञ्जय साहको ट्र्याक्टर चलाउँथे । १२ जेठमा भएको दुर्घटनामा सबैला– १३ की समुद्रीदेवी साह (५५ वर्ष)को मृत्यु भयो । दुर्घटनाको कानुनी उपचार खोज्न र सुरक्षित हुन उनी प्रहरीको शरणमा पुगेका थिए । तर, १४ दिनपछि उनी हिरासतमै मृत भेटिए । 

२८ जेठमा इलाका प्रहरी कार्यालय सबैलाको हिरासतको शौचालयमा कमिज र भेस्टले घाँटीमा बाँधी, मुखमा कपडा कोचेको अवस्थामा उनी मृत भेटिएका थिए । प्रहरीको दाबी छ, ‘उनको मृत्यु झुन्डिएर भएको हो । तर, उनको परिवारको भनाइ छ– हिरासतमा यातनाका कारण उनको मृत्यु भयो, अनि प्रहरीले घटनालाई आत्महत्या बनाएको हो । झुन्डिएर आत्महत्या गरेको हो भने मुखमा कपडा कसले कोचिदियो ?’

प्रहरीले पैसा लिएर ‘केस’ मिलाउन खोजेको, तर गाडीधनी पैसा दिन तयार नभएकाले शम्भु चरम यातनाको सिकार भए । परिवारका अनुसार शम्भुले प्रहरीले घुस माग्दै शारीरिक यातना दिएको बताउँदै पटक–पटक घरमा फोन गरेका थिए । भेट्न गएकासँग पनि उनले यही दुःख बताएका थिए । २७ जेठ साँझ पनि शम्भुले आमालाई फोन गरेर भनेका थिए, ‘मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छन्, साहुजीलाई भनेर छिटो पैसा मिलाइदिनु ।’ 

आमा सियाली सदाले सोही साँझ ट्र्याक्टरका मालिक सञ्जयलाई फोन गरेर प्रहरीले पैसा माग्दै शम्भुलाई यातना दिएको बताएकी थिइन् । तर, ट्र्याक्टरधनी साहले प्रहरीलाई पैसा दिनुपर्दैन, सबै ठीक हुन्छ भनेका थिए । त्यही राति उनी प्रहरी हिरासतमै मृत भेटिए । शम्भुकी श्रीमती मनिता भन्छिन्, ‘खुट्टा सुन्निएका थिए, शरीरमा कालो दाग र बाहुलामा पनि दाग थियो ।’ प्रहरीले झुन्डिएर आत्महत्या गरेको भने पनि आफन्त पत्याउन तयार छैनन् ।

तर, शम्भुको पोस्टमार्टम गर्न एक साता लाग्यो । ‘सुरुदेखि नै प्रमाण नष्ट गर्न चलखेल भयो, घाउचोट लुकाउन नै पोस्टमार्टम ढिला गरिएको हो । बहाना बनाएर एक सातापछि मात्रै पोस्टमार्टम भयो,’ स्थानीय दलित अधिकारकर्मी पचु मुसहर भन्छन्, ‘पोस्टमार्टम गर्ने डाक्टरले शरीर गलिसकेकाले घाउचोटबारे स्पष्ट गर्न नसकिएको भन्नुभयो । अहिलेसम्म आधिकारिक रिपोर्ट सार्वजनिक गरिएको छैन ।’ 

परिवारले इलाका प्रहरीका निरीक्षक चन्द्रभूषण यादव, वडा– २ का अध्यक्ष पारस साह, वडा– ३ का अध्यक्ष सन्तोष साह, वडा– ४ बस्ने राजकुमार यादव, वडा– २ बस्ने कारी यादव र सञ्जय साह तथा वडा– ३ बस्ने कालीप्रसाद साहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएको छ । 

न्याय माग्दै परिवार र शुभचिन्तकले पटक–पटक प्रदर्शन पनि गरे । महिलाहरू सडकमा निस्किए, उनीहरूमाथि बल प्रयोग पनि भयो, तर न्याय मिलेन । प्रहरीमाथि कुनै छानबिन पनि भएको छैन । 

०००

सप्तरी डाक्नेश्वरी– १० सखुवास्थित दलित बस्तीमा सार्वजनिक सडक मिचेर स्थानीय नीलमदेवी मेहताले घर बनाइन् । ‘भोलि कोही बिरामी भयो भने एम्बुलेन्स ल्याउनुपर्ला, यसरी बाटै ब्लक गर्न भएन,’ स्थानीयको भनाइ थियो । 

सडक मिचेकोमा सबै स्थानीयको विरोध थियो । विरोध गर्नेमाथि मेहताको योजनामा १० जेठमा स्थानीय दलित बस्तीमा आक्रमण भयो । गाउँमा भागाभाग भयो । तर, ५४ वर्षीय सुकदेव मण्डलको काखमा बच्चा पनि थिए । उनीमाथि समूहले कुटपिट गर्‍यो । 

गम्भीर घाइते सुकदेवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगियो । तर, टाउकोमा गम्भीर चोट लागेका उनको त्यहाँ उपचार सम्भव भएन, लगत्तै न्युरो अस्पताल विराटनगर पु¥याइयो । उपचारकै क्रममा मध्यरातमा उनको मृत्यु भयो । मण्डललाई ठूलो समूहले लाठी र चिर्पटले टाउकोमा प्रहार गरेका थिए । छोरा अशोक मण्डल भन्छन्, ‘बुबाले नानी बोक्नुभएको थियो, भाग्न पनि पाउनुभएन । कुटी–कुटी मारे ।’

बस्तीमा करिब १० घर दलित बस्छन् । आक्रमणमा संलग्न सातजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । तर, प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । ‘खोजी भइरहेको भनेको छ, तर पक्राउ गरेको छैन, बरु उजुरी दिएको भनेर हामीमाथि गाउँमा गालीगलौज भइरहेको छ,’ अशोक भन्छन् ।

०००

सप्तरी शम्भुनाथ– ३ कचनदाहाका ४२ वर्षीय त्रिभुवन राम छिमेकी जमिनदार रासलाल पाल गडेरीकोे १० कट्ठा जग्गामा मोही थिए । भूमिसुधार कार्यालयले उनलाई मोहियानी हकको प्रमाणपत्र दिइसकेको थियो, तर जमिनदारले यो हक दिन मानेका थिएनन् । 

विवाद बढेपछि २९ असारमा प्रहरी रोहबरमा भएकाले छलफलपछि त्रिभुवनले मोहियानी हक पाउने गरी मिलापत्र गरायो । मिलापत्रपछि घर फर्केर गाउँतिर निस्किएका त्रिभुवन त्यस दिन साँझ घर फर्किएनन् । भोलिपल्ट खोजी गर्दा उनी नजिकै मुतनी नदीमा मृत भेटिए । परिवारको उजुरीपछि प्रहरीले रासलालका छोरा सुरेन्द्र पाल गडेरी, शम्भु साह, उनका भाइ प्रभु साह र पंकज चौधरीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

अढाई वर्षअघि २७ फागुन ०७४ मा गाउँमा एक युवतीको बलात्कार भएको थियो । जसमा त्रिभुवन रामले विरोध मात्र होइन, प्रहरीमा उजुरी पनि दिएका थिए । घटनामा एटलान्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साहलाई जिल्ला अदालतले गत ०७६ मा १० वर्ष कैद सजाय तोकेको थियो । अहिले त्रिभुवन हत्यामा पक्राउ परेका प्रभु बलात्कार मुद्दामा जेलमा रहेका अर्जुन र मनोजका दाजु हुन् । यस्तै, पंकज पनि बलात्कार मुद्दामा परेका एटलान्टिकका काका हुन् । बलात्कार मुद्दामा बबी चौधरी र मिथिलेशकुमार साह अझै फरार छन् । त्रिभुवनको हत्यामा प्रहरीले जग्गा प्रकरणलाई जोडे पनि बलात्कार प्रकरणलाई जोडेर अनुसन्धान गरेको छैन । 

०००

रौतहट गढीमाई– ३ लक्ष्मीपुर मुसरीटोलकी ३५ वर्षीय मिन्त्रादेवी बैठा १४ भदौको साँझ उखुबारीमा मृत भेटिइन् । घरबाट करिब चार सय मिटर पर घाँस काट्न गएकी उनको शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरे । रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार घाँटीमा सारीको फेरोले कसेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । ‘घटनास्थल हेर्दा बलात्कारपछि हत्या भएजस्तो लाग्छ, झाडीभित्र चिच्याए पनि कसैले सुन्ने अवस्था देखिँदैन, तर पोस्टमार्टम रिपोर्ट नआइन्जेल केही भन्न सकिँदैन,’ उनी भन्छन् । घटनाको दुई सातासम्म पोस्टमार्टम रिपोर्ट भएको छैन, अहिलेसम्म कोही पनि शंकास्पद पक्राउ परेका छैनन् । 

घटनास्थलमा वरिपरि मडारिएको तथा पातपतिंगर सोहोरिएको थियो । शरीरको छाला पिल्सिएको देखिएकाले उनलाई घाँटी कसेपछि घिस्याएकोजस्तो देखिन्छ । शरीरभरि विभिन्नखाले चोट देखिएका छन् । प्रहरीले घटना अनुसन्धान गरिरहेको भने पनि अहिलेसम्म कुनै सुराक फेला पारेको छैन ।

०००

कैलाली धनगढी– ५ का १९ वर्षीय रोशन विक गत शुक्रबार हिरासतको शौचालयमा मृत भेटिए । परिवारले यातनाका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् भने प्रहरीले सधैँझैँ आत्महत्या भनेको छ । 

‘रोशन विकलाई मोबाइल चोरी गरेको आरोपमा २२ भदौमा पक्राउ गरिएको थियो, उनी २६ भदौमा हिरासतमा शौचालयमा झुन्डिएको अवस्थामा फेला परे,’ डिएसपी प्रतीक विष्ट भन्छन् । 

रोशनका आफन्तजनले प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन् । ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ रोशनका बुबा टेक विकले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’ पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन् । तर, यो विषयमा प्रहरीमाथि कुनै छानबिन भएको छैन ।

मधेशका दलितमाथि भइरहेको अत्याचारविरुद्ध पर्सामा गरिएको प्रदर्शन

 

०००

दलित नै आन्दोलन गर्ने अवस्था किन आउँछ ?  : सुन्दर विश्वकर्मा, सांसद, प्रदेश २ 

दलित मानव अधिकारको हिसाबले प्रदेश २ ‘रेड जोन’मा छ । यहाँ दलितको बाँच्न पाउने अधिकारमै प्रश्न उठेको छ । अहिले पनि सामन्ती सोचको ठूलो अवशेष बाँकी छ । हिजो कुटेको, हेपेको, विभेद गरेको दलितलाई आज किन गर्न नहुने ? भन्ने सोच देखिन्छ । यस्ता जघन्य मानव अधिकारविरोधी घटना हुँदा पनि मानव अधिकारकर्मीले समेत चासो दिएका छैनन् । 

गैरदलितमाथि घटना हुँदा त्यो मानव अधिकारको विषय बन्छ, तर दलितमाथि उस्तै घटना हुँदा त्यो किन दलितको मात्रै घटना हुने अवस्था आउँछ ? त्यस्ता घटनामा दलितले नै आन्दोलन गर्नुपर्ने अवस्था किन आउँछ ? आखिर हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ ?

०००

संघीय सरकारको अंकुशले काम गर्न पाएका छैनौँ : ज्ञानेन्द्रकुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश २

दलितमाथि भएको विभेद र अत्याचारका घटनाप्रति प्रदेश सरकार अत्यन्तै संवेदनशील छ । जहाँजहाँ दलितमाथि अन्याय भएको छ, त्यहाँ प्रदेश सरकार पुगेको छ । सबै घटनामा प्रदेश सरकारले समन्वयकारी भूमिका निभाएको छ । सातवटै प्रदेशमध्ये हामीले दलित सशक्तीकरण ऐन जारी गरेर त्यहीअनुसार काम गरिरहेका छौँ । अहिले भएका घटनाका सम्बन्धमा पनि मेरै नेतृत्वमा छानबिन समिति गठन भएर छानबिनको काम भइरहेको छ । 

घटनाका दोषीलाई कारबाही हुन्छ । हामी प्रदेश २ लाई दलितमैत्री, महिलामैत्री, विभेद तथा गरिबीमुक्त र समतामूलक प्रदेश बनाउन चाहन्छौँ । तर, संघीय सरकारले अधिकारमाथि अंकुश लगाएका कारण चाहेजस्तो सबै काम गर्न पाएका छैनौँ ।