१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय डिजिटल संस्करण

अख्तियारमा स्थापित अँध्यारो इतिहास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५८:oo

मालपोत कार्यालय कलंकीमा कार्यरत खरिदार रामहरि सुवेदीले गत वर्ष आत्महत्या गरे । २२ वर्ष सरकारी सेवामा रहेका सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै डेढ महिना थुनामा राखेको थियो । विशेष अदालतले एक हजार धरौटीमा छाडे पनि अख्तियारको कार्बाहीका कारण प्रतिष्ठा र व्यक्तित्वमा आँच आएपछि अपमानित महसुस गरेर मानसिक विषादको अवस्थामा पुगेपछि उनले आत्महत्याको बाटो रोजेका थिए ।

उनलाई अख्तियारको कोभर्ट अपे्रसन टोलीले चिया–खाजाका लागि ५०० को नोट सेवाग्राहीबाट लिएको सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । विशेष अदालतले उनको आत्महत्याको झन्डै १० महिनापछि उनीविरुद्ध परेको मुद्दामा फैसला गर्दै उनलाई सफाइ दिएको थियो । 

उनलाई दिइएको सफाइसम्बन्धी फैसलाले अख्तियारको स्टिङ अप्रेसनभित्र रहेको मनोवृत्तिमाथि पनि प्रश्न उठाएको छ । उनले सफाइ त पाए, तर जीवन पाएनन् । उनका परिवारले न्यायालयको सफाइका आधारमा कानुनी रूपमा न्याय पाएको अनुभव गरे पनि सामाजिक रूपमा गुमेको प्रतिष्ठा पुनस्र्थापित हुन सम्भव छैन ।

हामीकहाँ अख्तियार प्राप्त अधिकारीले आफ्नो अधिकारको कति दुरुपयोग गर्छन् र एउटा साधारण मानिस कसरी त्यसको कोपभाजनमा पर्छ भन्ने सन्दर्भमा यो एउटा उदाहरण मात्र हो । लोकमानसिंह कार्कीले नेपालमा एकपटक समानान्तर सत्ता चलाएका थिए, अख्तियार प्रमुखका रूपमा । सरकारी अधिकारी आर्थिक कारोबार हुने क्षेत्रमा आफ्नो कर्तव्य पालन गर्नसमेत डराउने र तर्किने अवस्था सिर्जना भएको थियो । 

अख्तियार पूर्णतया बिचौलियाको हातमा पुगेको थियो, शक्तिको अतिशय दुरुपयोग गरिएको नग्न उदाहरणको समय थियो त्यो । लोकमानको दोस्रो उत्तराधिकारीका रूपमा अख्तियार प्रमुख भएका नवीन घिमिरेले आफ्नो कार्यकालमा यसरी नै स्टिङ अप्रेसनका नाममा चलाएको अभियानबाट केही सकारात्मक परिणामहरू निम्तिएका पनि होलान्, तर उनले आफ्नो कार्यकाल मूलतः सत्ताको ताबेदारीमा बिताएको भन्ने अभिलिखित हुने भएको छ ।

नवीन घिमिरेले पदबाट निवृत्त हुनुअघि गर्नुपर्ने सार्वजनिक चासोका मुख्य विषयमा निरुपणको प्रयास गरेनन्, त्यसैले रामहरि सुवेदीको छायाले उनलाई जीवनभर पछ्याउनेछ । यस्तो अँध्यारो इतिहासबाट अब उनका उत्तराधिकारीले पाठ सिक्नुपर्नेछ ।

यसरी अख्तियार प्राप्त संस्था या व्यक्तिले आफ्नो कर्तव्य सही ढंगले पालन नगर्दा समाजमा त्यसका दूरगामी नकारात्मक असर हुन्छन् । नेपालमा भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा पनि संविधानले गरेको व्यवस्था र समाजले गरेको आशाविपरीत त्यसमा नेतृत्व गर्न जाने र नेतृत्व छनोट गर्ने पदाधिकारी या अख्तियार प्राप्त नेतृत्वले आफ्नाप्रतिको भक्ति र निकटतालाई नेतृत्व चयनको आधार बनाउने गरेकाले निराशा हात लागेको छ । 

नवीन घिमिरेले पदबाट निवृत्त हुनुअघि गर्नुपर्ने सार्वजनिक चासोका मुख्य विषयमा निरुपणको प्रयास गरेनन् । सत्ता राजनीतिसँग सीधा जोडिएका वाइडबडी, यती समूहसँग सम्बन्धित घोटाला, ललिता निवास, प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणजस्ता मुख्य मुद्दामा उनले आफूलाई नियुक्त गर्ने नेता या पदाधिकारीप्रति बफादारी देखाएको आरोप उनले सँगै लिएर गएका छन् ।

यस सम्बन्धमा राजनीतिक नेतृत्वको भूमिकाबारे पनि प्रश्न उठिरहनेछ, तर समयमा कार्य सम्पादन नगरेर राजनीतिक नेतृत्वलाई रिझाएको दोष भने घिमिरे एक्लैले बोक्नुपर्ने हुन्छ । घिमिरेको समय सानालाई ऐन ठूलालाई चैन हुने, ठूलाप्रतिको भक्तिकालका रूपमा अख्तियारको इतिहासमा दर्ता हुने परिघटनाले उनलाई दुःस्वप्न बनेर लेखेटिरहनेछ । रामहरि सुवेदीको छायाले उनलाई जीवनभर पछ्याउनेछ । यस्तो अँध्यारो इतिहासबाट अब उनका उत्तराधिकारीले पाठ सिक्नुपर्नेछ ।

ad
ad