मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ २४ बुधबार १७:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

सिराहा कारागारका ५९ कैदीबन्दीमा कोरोना

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार १७:४५:००

सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपाेर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो । 

कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दी र चोहर्वास्थित नेपाली सेनाका सातजना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू २० देखि ५५ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए । उनका अनुसार यसअघि मंगलबार सिराहास्थित सशस्त्र प्रहरी बलका ११ जना, औरही, बरियारपट्टि र मिर्चैयामा गरी १४ जनामा संक्रमण पुष्टि भएको थियो । 
पछिल्लो दुई दिनमा संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसन, सिराहा कोभिड अस्पताल र धनगढीमाईका छपराढीस्थित महेन्द्र गेनाई कोरोना विशेष अस्थायी अस्पताल उपचार थालेको प्रमुख यादवले उल्लेख गरे । 

अस्पताल र आइसोलेसन थपिँदै
संक्रमित बढ्न थालेपछि जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार मिर्चैया, चोहर्वा, गोलबजार, लहान र सिराहामा गरी थप दुई सय १० शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । गोलबजार नगरपालिकाले १९ भदौदेखि गोलबजार– ४ चोहर्वामा करिब एक करोड लागतमा ५० शय्याको कोरोना अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेको छ । 

जिल्ला सदरमुकाम सिराहामा चन्द्र माविमा एक सय, सिराहा अस्पताल ५० र धनगढीमाई छपराढीस्थित महेन्द्र गेनाई कोरोना विशेष अस्थायी अस्पतालमा गरी दुई सय शय्याको अइसोलेसन कक्ष सञ्चालन भइरहेको छ ।

हालसम्म तीन सय ५५ जना कोरोनामुक्त 
सिराहास्थित कोरोना सिचुएसन सेन्टरका अनुसार सखुवानन्कारकट्टी मौवाहीमा ३ जेठमा पहिलो संक्रमित भेटिएयता बुधबारसम्म ६ सय ३० जना संक्रमित भएका छन् । त्यसमध्ये तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् ।

होम आइसोलेसनसहित बुधबारसम्म ३७ महिला र दुई सय २८ पुरुषसहित दुई सय ६५ जनाको उपचार भइरहेको सेन्टरका अन्देश्वर चौधरीले बताए । सिराहामा अहिलेसम्म कोरोना संक्रमणबाट एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ ।