मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०५:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

स्पुतनिक फाइभ : प्रतिरोधी क्षमतामा सकारात्मक संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०५:२९:००

रसियाले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ भ्याक्सिनले छोटो समयमा प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रतिक्रिया देखाएको छ । रुसी वैज्ञानिकहरूले खोपको प्रभावकारिताबारे पहिलो रिपोर्ट प्रकाशित गरेका छन् । मेडिकल जर्नल ‘द लेसेन्ट’मा प्रकाशित प्रतिवेदनमा परीक्षणमा सहभागीहरूमा प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रतिक्रिया देखिएको उल्लेख छ । सहभागीहरूमा छोटो समयमै एन्टिबडी विकास भएको र गम्भीर साइड इफेक्ट नदेखिएको जनाइएको छ । 

रसियाले अगस्ट महिनामै ‘स्पुतनिक फाइभ’ भ्याक्सिन मानिसमा परीक्षणका लागि अनुमति दिएको थियो । तर, भाइरोलोजिस्टहरूले रुसको भ्याक्सिन छोटो समयमै प्रयोगमा ल्याइएकाले पूर्णतया मापदण्ड पालना नगरेको बताउँदै आएका छन् । कोभिडविरुद्धको नयाँ भ्याक्सिनलाई भाइरल भेक्टोर भ्याक्सिन भनिन्छ, जसले शरीरमा अर्को भाइरस प्रवेश गराएर रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ । यो इन्जेक्सनमार्फत दिइन्छ । रसियाले कोरोना भाइरसविरुद्धको ‘स्पुतनिक फाइभ’ खोप छिटै प्रयोगमा ल्याउन मिल्ने बताएसँगै कोरोना महामारी नियन्त्रणमा आउने आशा थपिएको थियो । 

प्रतिवेदनअनुसार, सुरुवातमा ३८ जना स्वस्थ स्वयंसेवकमा भ्याक्सिन दिइएको थियो । त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो । प्रयोगकर्ताहरू १८ देखि ६० वर्ष उमेर समूहका थिए । उनीहरूलाई ४२ दिनसम्म निगरानीमा राखिएको थियो । तीन हप्तामा सबैको शरीरमा एन्टिबडी विकास भएको पाइयो । परीक्षणमा सहभागी केही व्यक्तिहरूमा टाउको र जोर्नी दुख्नेजस्ता सामान्य साइडइफेक्ट देखिएका थिए । महामारी नियन्त्रणमा ल्याउन धेरै अध्ययन, परीक्षण र अनुगमन आवश्यक रहेको रिपोर्टले जनाएको छ । ‘स्पुतनिक फाइभ’ भ्याक्सिनमा सामान्य खालको फ्लु (कोल्ड) निम्त्याउने एडिनो भाइरस प्रयोग गरिएको छ । विभिन्न देशहरूमा भइरहेको तेस्रो चरणको परीक्षणमा चार हजार स्वयंसेवकहरू सहभागी छन् । 

दोस्रो चरणको परीक्षणमा सहभागीहरूमा एन्टिबडी विकास भए पनि कोभिडले असर गर्छ या गर्दैन भन्ने तथ्य प्रमाणित भने भइसकेको छैन । कोभिडविरुद्ध प्रयोगमा ल्याउन तेस्रो चरणको परीक्षणको नतिजा अध्ययन गर्नुपर्ने र अझै समय लाग्ने वैज्ञानिकहरूले बताएका छन् । यस्तै, परीक्षणमा ६० वर्ष उमेर समूहका व्यक्ति मात्रै सहभागी भएकाले उच्च जोखिममा रहेका ६० वर्षभन्दा माथिका व्यक्तिका लागि प्रभावकारी हुने कुनै प्रमाणहरू पुष्टि भइसकेका छैनन् । यसका लागि अझै विभिन्न परीक्षण गर्नुपर्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । तर, रसियन इन्भेस्टमेन्ट फन्डका प्रमुख किरल दिमित्रिभले रुसी खोपको अव्यावहारिक आलोचना गर्न यो पर्याप्त तर्क भएको भन्दै वैज्ञानिकहरूको भनाइलाई खण्डन गरेका छन् । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी नोभेम्बर या डिसेम्बरमा उच्च जोखिममा रहेका व्यक्तिहरूमा समेत ‘स्पुतनिक फाइभ’ भ्याक्सिन प्रयोगमा ल्याउने बताएका छन् । 

एजेन्सीको सहयोगमा