मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ २१ आइतबार ०९:१६:००
Read Time : > 10 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टिआरपीको पासोमा भारतीय न्युज च्यानल

Read Time : > 10 मिनेट
२०७७ भदौ २१ आइतबार ०९:१६:००

मोदीले अयोध्यामा भूमिपूजन गरिरहेका वेला १६ करोड मानिसले लाइभ प्रसारण हेरेका थिए, तर सुशान्तसिंह मामलामा औसतमा हरेक घन्टा १८ करोडले लगातार हेरेका थिए

...................

बलिउड अभिनेता सुशान्तसिंह राजपुत (३४)ले आत्महत्या गरेको अढाई महिनाभन्दा बढी भयो । सुशान्त प्रकरणमा प्रेमिका रिया चक्रवर्तीमाथि सिबिआईले जाँच गरिरहेको छ । तर, सामाजिक सञ्जाल र मिडियाको इजलास (मिडिया ट्रायल)ले रियाको विपक्षमा फैसला सुनाइसकेका छन् । रियाको अन्तर्वार्ता गरेकोमा ‘आजतक’विरुद्ध मानिस खनिएका छन् । भारतीय मिडिया यतिखेर सुशान्तको आत्महत्या बेच्न कम्मर कसेर लागिपरेका छन् । थकित रियाले अन्तर्वार्तामै भनेकी छन्, ‘हिजोआज आत्महत्या गर्ने विचार आउन थालेको छ ।’

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध खनिएका भारतीय मिडियाले प्रधानमन्त्री र राजदूतको सम्बन्धलाई लिएर अफवाह फैलाउने कोसिस गरे । जी न्युजले प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धलाई लिएर निकै गैरजिम्मेवार समाचार प्रसारण गर्यो । परराष्ट्र मन्त्रालयले आपत्ति जनायो । प्रधानमन्त्रीको सचिवालयले चासो राख्यो । नेपाली समाज र मिडियाले एकमुख भएर निन्दा गर्यो, जी न्युजले माफी माग्यो । उपन्यासको च्याप्टरजस्तो स्क्रिप्ट लेखेर समाचार बजाउने भारतीय टिभी च्यानलको परम्परागत शैली र सोच नै हो । 

यी उदाहरणले भारतीय टिभी च्यानलको चाल र चरित्र बुझाउँछन् । अब यही सन्दर्भमा केही तथ्यांक हेरौँ, जसले उनीहरूको प्राथमिकता के भन्ने अनुमान गर्न सकिन्छ । सन् २०१९ सम्मका तीन वर्षका एक हजार ९५ दिनमा हरेक दिन औसत २.५ ओटा बहस भारत–पाकिस्तान तनावलाई लिएर भए । अर्थात्, २६ सय बहस भारत–पाकिस्तानमै केन्द्रित भयो । भर्खरै पाकिस्तानमाथि आक्रमण हुन्छ जस्तो गरी न्युजएंकर र अतिथि प्रस्तुत भए । स्टुडियोलाई एयरबेस बनाइयो, बंकर बनाइयो । एंकर बन्दुकै बोकेर आए । ठीक यसै गरी पछिल्लो पाँच वर्षमा भारतका प्रमुख १० समाचारमूलक टिभी च्यानलमा हिन्दू–मुस्लिम मुद्दाले धेरै समय लियो । पाँच वर्षको १८२४ दिनमा हिन्दू–मुस्लिम मुद्दामा ४,८०० पटक बहस भयो । हरेक वर्ष ९ सय ६० बहस अर्थात् हरेक दिन तीन बहस । धर्मनिरपेक्ष मुलुकमा धर्ममाथि बहसैबहस । हिन्दुत्वलाई मिडियाबाटै बढावा दिइएको छ । भारतका पुराना पत्रकारहरू, जो अहिले मूलधारका मिडियामा छैनन्, उनीहरू अहिले यस्तै–यस्तै अनुसन्धानमा जुटिरहेका छन् । 

पछिल्लोपटक भारतीय टिभी च्यानलमा धेरै बहस भएको विषय हो– भारत–चीन तनाव । गलवान उपत्यकामा चिनियाँ सेनाको आक्रमणमा अधिकृतसहित भारतका २० सैनिक मारिए । घटना घटेको १५ जुनदेखि ३ जुलाईसम्मका १८ दिनमा भारतका प्रमुख १० समाचारमूलक टिभी च्यानलमा एक सय ९० बहस यसैमा केन्द्रित भए । त्यहीबीचमा भारतीय प्रधानमन्त्री मोदी ३ जुलाईमा ‘लेह’ पुगे । त्यहाँ पुगेर उनले भारतीय भूमिमा कोही नआएको दाबी गरे । त्यसपछि ३ जुलाईदेखि अगस्त १२ सम्म एक सातामा एक सय २० टिभी–बहस भए । बहसमा एउटै कुरा दोहोर्याइयो : चीन हार्यो, चिनियाँ सेना भाग्यो । तर, चीनसँग भिड्दा सहिद बनेका सैनिक परिवारको कुनै आवाज आएन । पछिल्लोपटक २९ र ३० अगस्तमा चीनले घुसपैठ गर्न थालेको भनेर टिभी च्यानल फेरि पुरानै लयमा फर्किएका छन् । जबकि १ सेप्टेम्बरमा ‘द हिन्दू’मा विजैता सिंहले लेखेको समचारमा चीनले लद्दाखमा एक हजार वर्गकिलोमिटर जमिनमा कब्जा गरेको उल्लेख छ । चीन मामला र तनावलाई लिएर वास्तविकतासँग भारतीय टिभीको भेटै भएको छैन । 

भारतमा आजका सबैभन्दा महत्वपूर्ण मुद्दा के हुन् ? जनताको जीवनका आधारभूत एजेन्डा के हुन् ? टिभी च्यानलको स्क्रिनमा ‘कन्टेन्ट’ गायब छन् । महाव्याधिका कारण सन् २०२० को दोस्रो त्रैमासिकमा भारतको जिडिपी २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोना र लकडाउनले पहिलो त्रैमासमा जिडिपीमा १८ प्रतिशतसम्म र दोस्रोमा १६.६ प्रतिशतसम्म कमी आउने प्रक्षेपण थियो, तर नयाँ तथ्यांक निराशाजनक आएको छ । जिडिपीको यो तस्बिर २४ वर्षको सबैभन्दा खराब हो । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको यो अवस्थाबारे संसारभरका मिडियामा खबरले महत्व पायो, तर भारतीय टिभीमा भने यो मुद्दामा बहसै छैन । जापानको बिजनेस अखबार निकेई एसियन रिभ्युमा भारतीय वित्त आयोगका पूर्वसहायक निर्देशक रितेशकुमार सिंहको लेखको शीर्षक छ, ‘नरेन्द्र मोदीले भारतको अर्थव्यवस्था जर्जर बनाए ।’ सामान्यतः मोदीको छवि व्यापारमैत्री मानिन्छ, जुन उनको कर्पोरेट घरानासँगको सम्बन्धलाई लिएर बनेको धारणा हो । मोदी आत्मनिर्भर भारतको कुरा गरिरहेका छन् ? तर, यसबारे टिभी च्यानलमा बहस छैन । 

भारतमा लोकसभा चुनाव हुने वर्ष सन् २०२४ सम्ममा भारतीय अर्थतन्त्र ५० खर्ब डलर पु¥याउने मोदीको दाबी छ । तर, अहिले व्यापार, होटेल र ट्रान्सपोर्ट क्षेत्रको प्रदर्शन ४७ प्रतिशतले खुम्चिएको छ । कुनै समय भारतको सबैभन्दा बलियो मानिएको म्यानुफ्याक्चरिङ उद्योगमा ३९ प्रतिशतको संकुचन देखिएको छ । लकडाउनका कारण ४१ प्रतिशत किसानले उब्जनी काट्न पाएनन्, ४२ प्रतिशतले रोप्न पाएनन् र ५३ प्रतिशतले आफ्नो उत्पादन बेच्न सकेनन् । जसकारण ऋण तिर्न नसकेर लाखौँ किसान आत्महत्या गरिरहेका छन् । भोकले छटपटाएका आप्रवासी मजदुर, नोटबन्दी, जिएसटी र लकडाउनको असरबारे न्युज च्यानल मौन छन् । हिन्दू–मुस्लिम, चीन–भारत, भारत–पाकिस्तान र सुशान्तसिंह मात्रै टिभीका प्राइम टाइम कन्टेन्ट छन् । जबकि यही वेला दैनिक ८० हजारको हाराहारीमा संक्रमित भेटिइरहेका छन्, दैनिक हजारआसपासमा नागरिकको कोरोनाकै कारण मृत्यु भइरहेको छ । दलित र आदिवासीमाथि अत्याचार छ । तर, टिभी च्यानल यी तमाम मुद्दाबाट भागिरहेका छन् । टिभीले यस्तोसम्म गर्न सकेका छन्, विश्वविद्यालयहरूलाई ‘आतंकवाद’को अड्डाजस्तो गरेर खबर प्रसारण गरेका छन् । मोदी शासनमाथि प्रश्न उठाउने बौद्धिक तप्कालाई ‘सहरी नक्सली’ भनेर हुर्मत लिएका छन् । 

आखिर यो सबै किन भएको छ ? यसमा दुई आयाम छन्– पहिलो, मिडियाकर्मीको अज्ञानता एवं सत्तासँग मिडियामालिकको साँठगाँठ र दोस्रो, कमाइसँग जोडिएको ‘टिआरपी’को खेल । मिडिया राजनीतिक सत्तासँग भयातुर छ । सरकारभक्त भए भनेर भारतमा धेरैजसो मिडियालाई ‘गोदी मिडिया’ पनि भन्ने गरिन्छ । सत्ताले मिडिया प्रयोग गरेर समाजलाई हिंस्रक बनाउने, त्यही हिंस्रक समाजसँग मिडिया आफैँ प्रभावित हुने र डराउने दुष्चक्र चलिरहेको छ । अर्कातर्फ, सत्ताको आडमा साढे २५ अर्बको विज्ञापन हत्याउन ‘टिआरपी’ बढाउने मूल्यहीन दौड छ । देशका मुद्दामा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर दिने हो भने ‘टिआरपी’को दौडबाट गायब होइन्छ भन्ने डर पनि छ । 

‘टिआरपी’को खेल बुझ्न सुशान्तसिंहको आत्महत्यासँग जोडिएको समाचार उदाहरणीय छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्तमा अयोध्यामा राममन्दिरका लागि भूमिपूजन गरेका थिए, जुन भारतको राजनीतिमा धेरै नै गरम बहस थियो । मोदीले भूमिपूजन गरिरहेका वेला १६ करोड मानिसले विभिन्न टिभीमा लाइभ प्रसारण हेरेका थिए । तर, सुशान्तसिंह मामलामा एक साताको औसत दर्शक हेर्दा हरेक घन्टा १८ करोड मानिसले लगातार हेरेका छन् । ‘टिआरपी’को यो हिसाब आएलगत्तै त्यसले टिभी च्यानललाई सम्पूर्ण ध्यान र शक्ति सुशान्तसिंहको आत्महत्याको ‘कहानी’तर्फ केन्द्रित गराइदियो । सुशान्त आत्महत्याबारे आज भारतीय टिभी च्यानलमा देखिएको ‘ड्रामा’ यसैको परिणाम हो । दुर्भाग्य– ‘टिआरपी’को दौडमा पक्ष–विपक्ष छ, तर सत्य र तथ्य छैन । सुशान्तसिंहको हकमा मच्चिएको कोलाहल पनि सुशान्तलाई न्याय दिलाउन र नागरिकलाई सच्चाइ बताउन होइन, ‘टिआरपी’ बटुल्न रचिएको हो । अब त यो महाराष्ट्र भर्सेस बिहारको लडाइँ भएको छ । चाँडै बिहारमा चुनाव हुँदै छ । सुशान्त बिहारका हुन्, उनलाई बेचेर फेरि चुनाव लड्ने नीतिशकुमार र बिजेपीको रणनीति देखिएको छ । ‘टिआरपी’कै दौडमा च्यानल–च्यानलको लडाइँ र आरोप–प्रत्यारोप छ । 

टिआरपी’को गणना कसरी हुन्छ भन्ने बुझ्नु पनि सान्दर्भिकै हुनेछ । इन्डियन टेलिभिजन अडियन्स मेजरमेन्ट (आइएनटिएम) नामक एउटा एजेन्सी छ, जसले टिभी च्यानलको टेलिभिजन रेटिङ पोइन्ट अर्थात् ‘टिआरपी’ मापन गर्छ । यो एजेन्सीले विभिन्न फ्रिक्वेन्सी जाँच गरेर कुन टिभी च्यानल कुन समयमा सबैभन्दा धेरै मानिसले हेरे भन्ने पत्ता लगाउँछ । ‘टिआरपी’ जाँच्न कुनै निर्धारित ठाउँमा ‘पीपल मिटर’ लगाइन्छ, जसले एउटा फ्रिक्वेन्सीमार्फत कुन टिभीमा कुन कार्यक्रम कतिपटक हेरियो भन्नेसमेत पत्ता लगाउँछ । यसले यो संयन्त्रबाट टिभी हेर्ने मानिसको बानीमाथि पनि नजर राख्छ । यो मिटरको हरेक युनिटले दर्शकको तथ्यांक आइएनटिएमलाई पठाउँछ । ‘टिआरपी’को हिसाबले साप्ताहिक वा मासिक रूपमा सबैभन्दा प्रसिद्ध टिभी च्यानल र कार्यक्रमबारेका तथ्यांक सार्वजनिक गरिन्छ । ‘टिआरपी’ बुझ्न टेलिभिजनको सेटअप बक्सको पनि सहारा लिइन्छ । नमुना संकलनबाट कुनै पनि च्यानल वा कार्यक्रमको प्रसिद्धि बुझ्न मद्दत मिल्छ । जुन च्यानल जति धेरै मानिस र जति धेरै समय हेरिन्छ, त्यसैका आधारमा त्यो च्यानलको ‘टिआरपी’ धेरै हुन्छ । यो नमुना संकलनबाट गरिने अनुमान हो, सम्पूर्ण सत्य होइन । ‘टिआरपी’बाट विज्ञापनदातालाई निर्णय लिन सजिलो हुन्छ । धेरै ‘टिआरपी’ अर्थात् धेरै दर्शक, त्यसैले विज्ञापनदाताले ‘टिआरपी’कै आधारमा विज्ञापन दिन रुचाउँछन् । यसैकारण टिभी च्यानल ‘टिआरपी’ बढाउने खेलमा लाग्छन् । 

भारतीय टिभी च्यानलको ‘टिआरपी’ खेल २५ वर्षअगाडिको एउटा रिपोर्टसँग जोडिन्छ । गणेश चतुर्थीको दिन, २१ सेप्टेम्बर १९९५ मा डिडी टिभीमा गणेशले दूध पिउन थालेको रिपोर्टिङ आउँछ । त्यसवेला आजतक भिन्दै च्यानल थिएन । राति ९ बजे दूरदर्शनमा आजतकको जम्मा २० मिनेटको कार्यक्रम आउँथ्यो । त्यो पनि दूरदर्शनका अधिकारीले ‘सेन्सर’पछि मात्रै प्रसारण गर्थे । तर, गणेशले दूध पिउन थालेको अवैज्ञानिक र अपुष्ट रिपोर्ट प्रसारण भयो । यो समाचारलाई लिएर संसारभरका मिडियाले डिडीको मजाक उडाए । तर, दूध पिउने गणेशको ‘आशीर्वाद’ले आजतक भारतमा हिट भयो । त्यसपछि टिभीमालिक र सम्पादकले सुरु गरेको दर्शकलाई कसरी मूर्ख बनाउन सकिन्छ भन्ने ‘कन्टेन्ट डिजाइन’को नयाँ खेती भारतीय टिभी च्यानलमा हुर्केको छ, फुलेको छ र राम्रै फलेको छ । 

पत्रकार पुन्यप्रसून बाजपेयीले खोजेको तथ्यांकअनुसार मोदीले सरकार बनाएको पहिलो वर्षमा सरकारी कामको प्रचारमा नौ अर्ब ३५ करोड रुपैयाँ खर्च गरे । यसमध्ये आधा पैसा समाचार च्यानलमा गयो । दोेस्रो वर्ष ११ अर्ब ७१ करोड, तेस्रो वर्ष १२ अर्ब ६३ करोड, तेस्रो वर्ष १० अर्ब, चौथो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च भयो । पछिल्ला पाँच वर्षमा मोदीले ५९ अर्ब १० करोड आत्मप्रचारमा खर्चिएका छन् । २६ मे २०१४ मा प्रधानमन्त्री भएका मोदीले आजका दिनसम्म पाँच वर्षको अन्तरालमा खर्चिएको औसत हेर्ने हो भने हरेक दिन तीन करोड १८ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । यसबाहेक मोदीको तस्बिर राखेर अलग–अलग मन्त्रालयले गरेको खर्च सग्लै बाँकी छ । यसरी सबैभन्दा ठूलो विज्ञापनदाता को हो ? सरकार । यसर्थ, मिडिया सरकारको भक्त भएको छ । अझ, चुनावमा भाजपाले मोदीलाई प्रोजेक्ट गरेर गरेको खर्च पनि अलग्गै छ । सरकार र भाजपाबाट मिल्ने अथाह पैसाका अगाडि मिडिया नतमस्तक छन् । त्यसैले सरकारलाई जवाफदेही बनाउने मुद्दामा होइन, जनताको ध्यान भड्काउने गरी बहस र न्युज च्यानलमा थरीथरीका कहानी चलाइएको छ, ताकि जनताले सरकारको कामबारे सच्चाइ थाहा नपाऊन् । 

‘टिआरपी’मा फसेका टिभीबारे ‘सेन्टर फर मिडिया स्टडिज’ (सिएमएस)का संस्थापक अध्यक्ष डा. एन भास्कर रावले ‘टिआरपी ट्रिक ः हाउ टेलिभिजन इन इन्डिया वाज हाइज्याक्ड’ नामको किताब नै लेखे । पुस्तकमा टिआरपीले टिभी च्यानल कसरी प्रभावित हुन्छन् र यसका लागि उनीहरूले कस्तासम्म खेल रच्छन् भन्ने विषय समेटेका छन् । सनसनीपूर्ण मात्र होइन, निन्दा र विष फैलाउने सामग्री टिभी दुनियाँमा आम छ । आचारसंहिता छ, तर त्यसले ‘लक्ष्मणरेखा’ बचाउन सकेको छैन । कैयौँ वरिष्ठ पत्रकार यस्ता बहसलाई ‘मुर्गा लडाइँ’ भन्न रुचाउँछन् । यस्ता बहसमार्फत राजनीतिक र कर्पोरेट एजेन्डामा समाचार ‘प्लान्ट’को काम पनि हुने गरेको आरोप छ । कैयौँ बुद्धिजीवीले यस्ता बहसमा जानै छाडेका छन् । 

नवभारत टाइम्स, दैनिक हिन्दुस्तान र आउटलुकमा सम्पादक भएर काम गरिसकेका वरिष्ठ पत्रकार आलोक मेहता यस्ता बहसको संख्या बढ्नुमा दर्शकलाई पनि जिम्मेवार ठान्छन् । उनका अनुसार गम्भीर पत्रकारिता उल्टिएको र ‘टिआरपी’का कारण हरेक समाचार च्यानलले उत्तेजित बहसमा ध्यान केन्द्रित गरेका छन् । राष्ट्रिय जनता दलका प्रवक्ता मनोज झाले त बहसमा सामेल हुँदाको असर उनको मानसिक स्वास्थ्यमा समेत पर्न थालेको बताएका छन् । 

२४ मार्चमा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरे, उनले अति आत्मविश्वासका साथ २१ दिनमा कोरोना नियन्त्रण हुने दाबी गरेका थिए । तर, कोरोना झन् उग्र छ । ‘मोदी है तो मुमकिन है’ भनेर बहुतै आशावादी समाचार प्रसारण गरेका टिभी च्यानलले कोेरोनाले तवाही मच्चाउँदासमेत मोदीको दाबी र सरकारको काममाथि प्रश्न उठाएका छैनन् । त्यसैले मिडिया मामलाका जानकार भन्छन्, ‘भारतमा कोरोना महामारीलाई लिएर जसरी मिडियाले कभरेज गरेको छ, त्यो मिडियाको स्थापित मान्यताविरुद्ध छ ।’ सिकागो विश्वविद्यालयमा राजनीतिक विज्ञानका प्रोफेसर टाम गिन्सबर्गले भारतमा मोदीको उत्थानमाथि अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘भारतमा मिडिया नियन्त्रित छ, किनभने टिभिका मालिक प्रधानमन्त्रीका साथी छन् । पत्रकारलाई डराउने र धम्काउने काम भएको छ ।’ 

विश्व प्रेस स्वतन्त्रता सूचीमा भारत लगातार तल झरेको छ । पत्रकारविरुद्ध मुद्दा–मामिला बढेका छन् । कतिपय पत्रकारको हत्या भएको छ । रिपोर्टर्स विदाउट बोडर्सका अनुसार विश्व प्रेस स्वतन्त्रता सूचकमा स्न २०१९ मा एक सय ४०औँ स्थानमा रहेको भारत २०२० मा एक सय ४२औँ स्थानमा झरेको छ । एक सय ८० देशमा भारतको स्थिति ‘खराब’भित्र छ । ‘गेटिङ अवे विथ मर्डर’ नामको एउटा अध्ययनमा सन् २०१४ देखि २०१९ सम्म (मोदीको पहिलो पाँच वर्षे कार्यकाल)मा ४० पत्रकार मारिएका छन्, जसमा २१ पत्रकारको हत्या पत्रकारिताकै कारण भएको हो । यस अवधिमा पत्रकारमाथि दुई सयभन्दा बढी आक्रमण भए । हिन्दुत्व र राष्ट्रवाद पत्रकारका लागि चुनौती बनेका छन्, जसलाई लिएर विभाजित विपक्षीले सरकारमाथि दबाब बनाउन सकेको छैन । 

‘टिआरपी’को दौडले भारतीय टिभी च्यानलका एंकरलाई एंकर मात्रै बनेर बस्न दिएको छैन । कहिले उनीहरूलाई नेता, कहिले सेना, कहिले बाबा त कहिले न्यायाधीशका रूपमा उभ्याएको छ । सम्पादक त यी सबै अनुहारका कमान्डर भइहाले । ‘टिआरपी’को नम्बर–१ को खेलमा एंकरले आत्मसम्मान गुमाएका छन् र विवेक बेचेका छन् । टिआरपीको फन्डा बन्द हुने हो भने टिभी च्यानल समाचारमा फोकस हुने मिडिया विश्लेषकहरू मान्छन् । भारतका वरिष्ठ पत्रकार पंकज बोहरा भन्छन्, ‘जागरुकता नै लोकतन्त्रको मूल्य हो । तर, मिडियाले यो आलोचनात्मक प्रशंसाको भूमिका सही तरिकाले निभाएनन् ।’

मिडिया ट्रायलबाट आजित सिबिआईले अन्ततः भन्नैपर्यो–सुशान्तसिंह प्रकरणमा सिबिआई जाँचसँग सम्बन्धित मिडिया रिपोर्ट सत्य छैनन् । सिबिआईले व्यवस्थित र व्यावसायिक तरिकाले यो प्रकरणमा अनुसन्धान भइरहेको पनि स्पष्ट गर्यो । आफ्नो नीतिअनुसार नै सिबिआईले जाँचसँग जोडिएको कुनै जानकारी सार्वजनिक गर्दैन । तर, भारतीय टिभी च्यानलमा सिबिआईलाई हवाला दिएर धेरै रिपोर्ट प्रसारण भए । बलिउडका कैयौँ हस्तीले सुशान्तसिंह प्रकरणमा मिडिया ट्रायलमाथि प्रश्न उठाएका छन् । फिल्म निर्देशक रामगोपाल बर्मा मिडिया ट्रायलका विरुद्ध खुलेरै बोले, रियाले अन्तर्वार्ता दिएर धेरै राम्रो गरेको धारणा राखे, विद्या बालनजस्ता अभिनेत्री पनि बोलेका छन् । मुम्बई हाइकोर्टले पनि मिडियालाई यो प्रकरणमा सावधानी र तथ्यपूर्ण रिपोर्टिङ गर्न भनेको छ । 

त्यसैले अहिले मिडियाका जानकारहरू भन्न थालेका छन्, ‘भारतको इतिहासमा सुशान्तसिंह प्रकरण सायद सबैभन्दा खतरनाक र भयानक अपराधका रूपमा देखाइएको छ । यस घटनाका अगाडि बाढी र देशलाई नै रोगी बनाउने गरी फैलिँदै गएको कोरोना महामारी पनि सानो भयो । देशका महत्वपूर्ण मुद्दा पन्छाएर मिडिया गिद्धको झुन्डजस्तै एक निर्दाेष आरोपीमाथि खनिएका छन् । दुर्भाग्य, कहिल्यै लठ्ठी र चप्पल लिएर सडकमा नआउने सभ्य समाज पनि सुशान्तसिंह प्रकरणमा खुलेरै बाहिर आयो ।’ टिभी च्यानलको अर्को दुर्दशा छ, उनीहरू ठूला भविष्यज्ञाता भएर प्रस्तुत भएका छन् । पेसाको आत्मा दूषित बनाएका छन् । बौद्धिक आत्मसम्मान र नैतिकताको जिम्मेवारीबाट आफूलाई टाढा राखेका छन् । 

भारतका एक पत्रकार अजित अनजुम, जो इन्डिया टिभी र न्युज–२४ का पूर्वसम्पादक तथा बिहार बाढी रिपोर्टिङमा गोयन्का अवार्डविजेता पनि हुन्, युट्युब च्यानलमा पत्रिकाको समीक्षा चलाउँछन् । मिडियाको चाल, चरित्र, सोच र शैली देखेर नै होला कार्यक्रमको नाम दिएका छन्, ‘क्या छपा, क्या छिपा ?’ दिल्लीबाट प्रकाशित हुने पत्रिकामा जनसरोकारका राष्ट्रिय महत्वका के मुद्दा कसरी छापिए र के मुद्दा किन छापिएनन् ? उनले सानदार प्रस्तुत गर्छन् । अजित पत्रिकामा नछापिएका वा लुकाइएका समाचारको बहस गर्छन् र त्यसमा सत्तास्वार्थको कारण बताउँछन् । तर, मूलधारका टिभी र तिनका दर्शकलाई यसले प्रभावित गरेको छैन ।

धेरैजसो टिभी समाचार च्यानल त ‘टिआरपी’को पासो, ‘राष्ट्रवाद’को मुकुन्डो र सरकारको भजनकीर्तनमा छन्, जहाँ जनसरोकारका मुद्दाबाहेक सबै देख्न पाइन्छ । यो कति भयानक हुने हो, अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन । किनकि, भारतीय टिभी च्यानलले यस्तो वातावरण बनाइरहेका छन्, हरकोही संवेदनशील व्यक्तिको मुटु काम्छ । अब त स्क्रिनको तनावले मृत्यु पनि निम्त्याउन थालेको छ । कंग्रेस प्रवक्ता राजीव त्यागी टिभी च्यानल ‘आजतक’मा ‘बहस’ गर्दागर्दै बिरामी देखिएका थिए । कोरोनाका कारण उनी घरबाटै लाइभ बहसमा सहभागी थिए । त्यहाँ मर्यादाका सारा सीमा तोडेर एंकर र भाजपा नेताको लगातार आक्रमण थियो । असजिलो हुँदा पनि पानी पिउँदै उनले आफ्नो विचार राखिरहेका थिए । १२ अगस्त साँझ ५ बजेको लाइभ ‘बहस’ सकेर केही बेर घरमै आराम गरिरहेको अवस्थामा उनलाई हर्टअट्याक भयो, अस्पताल पुग्न नपाउँदै मुत्यु भयो । टिभी ‘डिबेट सो’मा योभन्दा खतरनाक प्रस्तुति दुर्लभै हुन्छ । राजीवको मृत्युले भारतीय टिभी च्यानलमा हुने परिचर्चाको आक्रामकतालाई लिएर बहस त सुरु ग¥यो, तर सुधारको ‘टर्निङ पोइन्ट’ बनेन । टिभी च्यानलले यसबाट केही पाठ सिकेनन्, उनीहरू पुरानै शैलीमा कायम छन् । (भारतीय सञ्चारमाध्यम र मिडिया अनुसन्धानकर्ताको सहयोगमा) 

 

मिडिया बहसमा थप :

इराक युद्धमा मिडियाका दुई ध्रुव

इन्दिराको इमर्जेन्सी : प्रेस स्वतन्त्रताविरुद्धको अँध्यारो युग

न्युयोर्क टाइम्सबाट सुरु भएको एउटा बहस

‘द भल्चर एन्ड द लिटल गर्ल’

एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो

वाटरगेट काण्ड : जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे

मिडिया मुगल रुपर्ट मर्डक, जोसँग विश्वको शक्तिकेन्द्र झुक्छ

एक रेडियो, जसले रुवान्डा नरसंहार गरायो