१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ भदौ १८ बिहीबार १०:२६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई भाडामा सरकारको हस्तक्षेप : चार्टर उडानभन्दा बढी भाडा लिन नपाइने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ १८ बिहीबार १०:२६:००

मलेसिया र दुबईबाट ४४ हजार ६ सय ४० मै कामदार स्वदेश फर्कन पाउने, विदेशी कम्पनीले पनि बढी लिन नपाउने

विदेशमा अलपत्र नेपाली श्रमिकलाई नेपाल ल्याउँदा चार्टर उडानको भन्दा बढी भाडा नलिन नेपाल सरकारले कम्पनीहरूलाई निर्देशन दिएको छ । विदेशमा रहेका नेपालीलाई सात गुणासम्म बढी भाडा लिएको भन्दै आलोचना भएपछि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा नलिन निर्देशन दिएको सहसचिव सुरेश आचार्यले जानकारी दिए । उनले भने, ‘नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चार्टरभन्दा पनि सस्तोमा उडान गर्न र विदेशी एयरलाइन्सलाई पनि सोहीअनुसार गराउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ ।’ निगम र हिमालयले अहिले पनि चार्टरकै दरमा उडान गरेको भए पनि ट्राभल एजेन्सीले बढी असुलेको उनको भनाइ छ । त्यस्ता एजेन्सीलाई कारबाही गर्न पनि निर्देशन दिएको उनले बताए । उनले भने, ‘विदेशी एयरलाइन्सको हकमा हिमालय र निगमले लिने भाडादरमै उडान गर्नका लागि प्राधिकरणलाई नियमन गर्न निर्देशन दिएका छौँ ।’ मलेसिया र दुबईबाट आउने नेपालीहरूलाई ट्राभल एजेन्सीहरूले चर्को भाडा असुलेका छन् । 

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन
बढी भाडा असुलेको गुनासो आएपछि सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरूको भाडादर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा मन्त्री योगेश भट्टराईले १ सय ४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् । अरेबियाले २५ अगस्टमा १ सय ६१ यात्रु युएईको सारजाहबाट काठमाडाैं ल्याएको थियो । एयर अरेबियाले १ सय ४२ जना पिसिआर गरेका, १८ जना आरडिटी गरेका र एक परीक्षण नै नगरेका यात्रु ल्याएर होटेल क्वारेन्टाइनमा राखेको छ । सबै यात्रुबाट होटेल खर्च उठाएको, तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि बढी रकम फिर्ता नगरे कारबाही गर्नसमेत उनले निर्देशन दिएका छन् । बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शी र गैरकानुनी मुनाफा राखेर भाडादर नलिन वायुसेवा कम्पनीहरूलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नगरी सञ्चालन गर्न अनुमति दिनेसमेत निर्णय गरेको छ । 

इत्तेहादलाई निःशुल्क टिकटमा नेपाली ल्याउन दिइने
सरकारले इत्तेहाद एयरलाइन्सलाई ११ सय नेपालीलाई निःशुल्क उडानमार्फत ल्याउने अनुमति दिने भएको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो । सेप्टेम्बर ४ देखि १८ सम्म ८ वटा उडान गरेर १ हजार १ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको छ । गत भदौ १४ गते मन्त्रालयमा दूतावासले निवेदन दिएको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । ‘पिसिआर र टिकट निःशुल्क गर्ने गरी प्रस्ताव ल्याएको छ, हामीले सेड्युल बनाइसकेकाले अनुमति दिन ढिला भएको हो,’ सहसचिव आचार्यले भने । मन्त्रिपरिषद्ले ५ सयको कोटा ८ सय बनाएकाले अब सोहीअनुसार सेड्युल थप हुनेक्रममा इत्तेहादको प्रस्तावअनुसार ल्याउन दिने आचार्यले जानकारी दिए । 

सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणको रिपोर्टसमेत निःशुल्क गराएर  ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर उडान गर्ने प्रस्ताव गरेको छ । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने उल्लेख गरेको छ । 

युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदारबाहेक अरू कुनै पनि यात्रुलाई नल्याउने प्रस्तावमा उल्लेख गरेको छ । भिसाको अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने व्यवस्था भएकाले पनि अनुमति दिनका लागि माग गरिएको हो । 

निगमले पनि घटायो नियमित उडानको भाडा, बढी लिए कारबाही गर्ने

नेपाल वायुसेवा निगमले नियमित उडानमा भाडादर महँगो भएको गुनासो आएपछि भाडादर निर्धारण गरेको छ । निगमले जहाज सिटको क्लासका आधारमा भाडा निर्धारण गरेको छ । मलेसिया–काठमाडौंको भाडा न्यूनतम ४१ हजार १ सय ७३ रुपैयाँ र अधिकतम ५६ हजार ५ सय ६४ रुपैयाँ भाडादर तोकेको छ । त्यसैगरी, युएईदेखि काठमाडौंको भाडा पनि न्यूनतम ४५ हजार १ सय ७२ रुपैयाँ र अधिकतम ६६ हजार ५ सय ४ रुपैयाँ तोकेको छ । निगमले भाडा तोकेको भए पनि अधिकतममा भने चार्टरको भन्दा बढी तोकेको छ । 

त्यस्तै, हङकङदेखि काठमाडौंको भाडा ६३ हजार ३ सय ८९ रुपैयाँ भाडादर तोकेको छ । त्यस्तै, नारितादेखि काठमाडौंको भाडा ८३ हजार ९ सय ३० रुपैयाँ तोकेको छ । निगमले हाललाई हङकङ र नारिताबाट एक मात्र भाडादर तोकिएको जनाएको छ । निगमले करसहितको भाडादर भएकाले तोकिएको भन्दा महँगो भाडा नतिर्न र लिएको पाइए कारबाही गर्नेसमेत जनाएको छ ।