मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १५:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलन र धर्नापछि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १५:३१:oo

सिराहाको सुखीपुर नगरपालिकाले पालिकाअन्तर्गत विभिन्न वडामा बसोबास गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिका तथा अपांगता भएका व्यक्तिहरूको आगामी सातादेखि सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिने प्रतिबद्धता जनाएको छ । 

लक्षित समूहका सेवाग्राहीहरूले अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने मागसहित सोमबार बिहान कार्यालय खुलेलगत्तै मुख्य गेटअगाडि धर्ना दिएपछि नगरप्रमुख रामऔतार यादवले २४ असोजदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धतापत्रमार्फत उनले नगरपालिकाको केही प्राविधिक त्रुटिका कारण सामाजिक सुरक्षा भत्ताको आर्थिक वर्ष ०८२/८३ को वैशाख, जेठ, असारसम्मको अन्तिम किस्ता र आ.व. ०८३/८४ को साउन, भदौ र असोजसम्मको पहिलो किस्ता रकम भुक्तानी हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । प्रतिबद्धतापत्रमार्फत उनले २४ असोजदेखि एक साताभित्र आर्थिक वर्ष ०८२/८३ र०८३८४ को गरी दुई किस्ताको सामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित बैंकमार्फत वितरण गर्ने कबाेल गरेका छन् । प्रतिबद्धतापत्रमा उनले सामाजिक सुरक्षा भत्ता वितरणसहित नगरपालिकासँग सम्बन्धित दैनिक सेवा प्रवाह, विकास निर्माण तथा अन्य विषयमा स्थानीय राजनीतिक दलहरूले बुझाएको ज्ञापनपत्रबारे नगरपालिका गम्भीर रहेको दाबी गर्दै नगरको स्रोतले भ्याएसम्म समाधानका लागि पहल गर्ने आश्वासनसहित कुनै पनि आन्दोलन नगर्न–नगराउन अपिल गरेका छन् ।

‘सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति चिन्तित हुँदै कार्यालय समयमा सञ्चालन हुन दिन सम्पूर्ण राजनीतिक दल र जनसमुदायमा अनुरोध गर्दछु,’ प्रतिबद्धतापत्रमा भनिएको छ । पछिल्लो ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणलगायत पालिकाको सेवा प्रवाह र विकास निर्माणको विषयमा एक साताअघि नै नगर प्रशासनलाई लिखित रूपमा ध्यानाकर्षण गराइएको भए पनि बेवास्ता गरिएपछि स्थानीय सेवाग्राहीहरूले गरेको आन्दोलनमा सहयोग गरेको स्थानीय राजनीतिक दलले जनाएका छन् । 

सेवाग्राहीहरूले गरेको आन्दोलनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलका प्रतिनिधिहरू ऐक्यबद्धता जनाउँदै नगरपालिकाको गेटमा धर्ना बसेका थिए ।

रास्वपाले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै सामाजिक सुरक्षा भत्तामा निर्भर नागरिकको अधिकार र दैनिक जीवनमा परेको असरलाई ध्यानमा राख्दै पहिलो चरणमा ज्ञापनपत्र बुझाइएको भए पनि बेवास्ता गरिएपछि सेवाग्राहीहरूको आन्दोलनमा सहभागी भएको जनाएको छ । लक्षित समुदायको सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराइनुपर्ने माग गर्दै रास्वपाले सार्वजनिक स्रोतको पारदर्शितासहित सदुपयोग गरिनुपर्ने माग गरेको छ । 

त्यस्तै, जसपा नेपालले सामाजिक सुरक्षा भत्ता निश्चित मिति, प्रक्रिया र कार्यतालिका बनाएर वितरण गरिनुपर्ने, वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सूचना तथा गुनासो व्यवस्थापनका लागि जिम्मेवार व्यक्ति तोकी नाम र सम्पर्क नम्बर सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणको प्रगति तथा अवस्थाको विषयमा नियमित रूपमा आमनागरिकलाई जानकारी दिने व्यवस्था गरिनुपर्ने जसपाले माग गरेको छ । 
 

↑