शिक्षामन्त्री सस्मित पोखरेलले २/३ वर्षमा नेपालको पाठ्यक्रम पूर्ण रूपमा परिमार्जन गरी अहिलेको युग र माटो सुहाउँदो शिक्षा प्रणाली विकास गरी लागू गरिने बताएका छन्।
नेपालको दोस्रो चन्द्र माध्यमिक विद्यालय सिराहाको निरीक्षण गर्दै शिक्षामन्त्री पोखरेलले अहिले विद्यालयको पाठ्यक्रम बनाउने क्रममा रहेको भन्दै विभिन्न विद्यालयमा गएर शिक्षक, विद्यार्थी र अभिभावकको आवाज समेट्न सुझाव लिइरहेको बताएका छन्। 'मधेश प्रदेश शिक्षामा पिछडिएको छ। यसमा सुधार गर्नुपर्छ,' मन्त्री पोखरेलले भने, 'मधेश प्रदेश प्राथमिकतामा छ। शिक्षामा सुधार गर्न प्राथमिकता दिएर हामी सुझाव संकलन गरिरहेका छौँ।'
सिराहा जिल्लामा पनि धेरै विद्यालयमा पुगेको भन्दै उनले ग्राउन्डबाट धेरै राम्रो सुझाव आइरहेको बताएका छन्। 'काठमाडौं र मन्त्रालयमा बसेर पाठ्यक्रम र कानुन बनाएर हुँदैन,' मन्त्री पोखरेलले भने, 'ग्राउन्डको कुरा पनि सुन्नुपर्छ। त्यही भएर ग्राउन्डमा आएका छौँ। सुझाव संकलन गरिरहेका छौँ।'
पाठ्यक्रम परिमार्जन र शिक्षा ऐनको विषयमा सुझाव संकलन गर्न नेपालभरि टोली परिचालन गरेको मन्त्री पोखरेलले बताए। विभिन्न सुझाव आइरहेको र विद्यार्थीले भनेको कुरा अर्को वर्षदेखि लागू हुने र पूर्ण रूपमा लागू गर्न २ वर्षको समय लाग्ने उनले बताए। 'स्किल एजुकेसन जोड दिन्छौँ,' उनले भने, 'विद्यार्थीले थ्याैरी बढी पढ्छौँ भनेका छन्। अब स्किलमा पनि जोड दिने गरी शिक्षामा सुधार हुनुपर्छ।'
चन्द्र माध्यमिक विद्यालयका प्रध्यानाध्यापक जितेन्द्र यादवले विद्यालयमा सुविधासहितको छात्रावास र विभिन्न विषयको स्नातक तहका पठनपाठनको समन्धनमा पहललगायतको विषयमा मन्त्री पोखरेललाई ध्यनाकर्षण गराएका थिए।
यस्तै, शिक्षामन्त्री पोखरेल सिराहा पुस्तकालयको पनि निरीक्षण गरेका छन्। सरकारले पुस्तकालयको विषयलाई पनि प्राथमिकतामा राखेको भन्दै उनले सिराहा पुस्तकालय देशकै पुरानोमध्येको एक पुस्तकालय रहेकाले आफूले आवश्यक पहल गर्ने बताए। यस्तै, मन्त्री पोखरेल सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, बहिरा विद्यालय, सुन्दर जनता माध्यमिक विद्यालय औरही, जनता माध्यमिक विद्यालय बरियारपट्टीलगायतका जिल्लाभरिका १० वटाभन्दा बढी विद्यालयमा पुगेका थिए।
मन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्यहरू बब्लु गुप्ता, शिव यादव, पुरुषोत्तम यादवलगायत सहभागी भएको रास्वपा नगर सभापति जितेन्द्र यादवले बताए।