बुधबारको संसदीय समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ‘उद्योगीलाई पाता नकसेसम्म ग्यास आपूर्ति सहज नहुने’ भन्दै आक्रोश पोखेकी थिइन् । विगत ६ महिनादेखि विभिन्न कारणले उपत्यकामा ग्यास आपूर्ति सहज नभएपछि दिक्क बनेकी मन्त्री यादवले संसदीय समिति पुगेर भड्किलोअभिव्यक्ती दिएकी हुन् । तर, उनको यस्तो आक्रोशपूर्ण अभिव्यक्तिपछि भने आयल निगम र उद्योगीले उपत्यकामा आपूर्ति बढाउन सक्रियता बढाएका छन्।
संसदीय समितिमा मन्त्री यादवले उद्योगी र कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेपछि निगम व्यवस्थापन बुधबार दिनभर आपूर्ति बढाउन सक्रिय भएको एक अधिकारीले बताए । जसकारण बुधबार काठमाडौंमा एक सातायताकै सबैभन्दा बढी ४२ हजार ६०९ थान ग्यास सिलिन्डर आपूर्ति व्यवस्थापन भएको थियो ।
आयल निगमको एलपिजी विभागका अनुसार बिहीबार मध्याह्न १२ बजेसम्म पनि उपत्यकामा ३४ हजार ४१६ थान ग्यास आपूर्ति सुनिश्चित भइसकेको छ । उपत्यकामा बजारीकरण गरेका सबै ग्यास कम्पनीका सिलिन्डरहरू बुधबार डिलरमार्फत बिक्रीका लागि पुगिरहेको निगमले जनाएको छ ।
आयल निगमका अनुसार बिहीबार १९ कम्पनीका ग्यास सिलिन्डर वितरणका लागि डिलरकहाँ पुगेका छन् । जुन एक सातायताकै उच्च संख्या पनि हो । कृष्णभिरमा पहिरो गएयता दैनिक १३–१४ वटा कम्पनीले मात्र डिलरलाई ग्यास उपलब्ध गराइरहेका थिए ।
निगमको एलपिजी विभागको तथ्यांकअनुसार बिहीबार ‘ग्यास वान’ २८३, गीता ५९३, एचपी दुई हजार २२७, श्रीमाया तीन हजार ४६, मारुती १६५, एसटिसी दुई हजार ५६०, नमस्ते ६६७ र नेपाल ग्यास पाँच हजार ७८० थान सिलिन्डर उपभोक्तालाई बिक्रीका लागि डिलरकहाँ पठाइएको छ । त्यस्तै, सगर चार हजार ७८१, साईबाबा एक हजार ६३०, श्रीकृष्ण ९२४, सीता एक हजार ६०९, मनोज तीन सय, भानु ४५२, ओम ५५७, श्री ९६०, श्रीराम सात सय र सुगम ४७० थान ग्यास डिलरकहाँ पुगेको आयल निगमले जनाएको छ ।
यसबाहेक एभरेस्ट ब्रान्डको चार हजार ६९४ सिलिन्डरमा ग्यास भरेर बुधबार बिहान हेटौँडाबाट गाडीहरू काठमाडौं प्रस्थान गरेको निगमले जनाएको छ । त्यस्तै, सुगमको एक हजार ७२५ सिलिन्डरमा पनि ग्यास भरेर बिहानै हेटौँडाबाट ट्रकहरू काठमाडौं प्रस्थान गरेका छन् । सूर्या ब्रान्डको ९९३ थान सिलिन्डर पनि वीरगन्जस्थित उद्योगमा रिफिल भएर बिहानै काठमाडौंका लागि निस्किएको निगमले जनाएको छ ।
एक सातामा कहिले कति वितरण भयो ?
मन्त्रीले ग्यास वितरणको संख्या र प्रणालीमा चर्को असन्तुष्टि पोखेपछि बुधबार सबैभन्दा बढी ४२ हजार ८०९ थान ग्यास सिलिन्डर काठमाडौंमा वितरणको व्यवस्थापन भएको थियो । त्यस्तै, बिहीबार मध्याह्नसम्म ३४ हजार ४१६ थान ग्यास आपूर्ति सुनिश्चित भइसककेो छ । बिहीबार वितरण हुने ग्यासको संख्या अझै बढ्न सक्ने निगमले जनाएको छ ।
मंगलबार १९ हजार ५६२, सोमबार १७ हजार ९१९, आइतबार १३ हजार ६२७, शनिबार ६ हजार ८२४ र शुक्रबार ११ हजार १४८ थान ग्यास काठमाडौंमा वितरण भएको निगमले जनाएको छ ।