गत १६ भदौमा ठमेलमा एक युवतीमाथि दुर्व्यवहार भयो। सडकमा हिँडिरहेकी युवतीलाई विपरीत दिशाबाट आएका युवकले हातले नियतवश छुन्छन्। युवतीले किन त्यस्तो गरेको भन्दा उनी ठोक्किएको भनेर उल्टो आफू निर्दाेष रहेको दाबी गर्छन्।
झगडा तत्कालका लागि त्यत्तिकैमा सकिन्छ। तर, युवतीलाई आफूमाथि भएको अन्यायले दुःखी बनाउँछ। उनी त्यो ठाउँमा रहेको सिसिक्यामेराको भिडियो लिएर आउँछिन् र परिचय नै दिएर सो घटना सामाजिक सञ्जालमा सार्वजनिक गर्दछिन्। सो भिडियो लाखौँमा पुगेपछि प्रहरीले पनि अनुसन्धान थाल्छ।
तीन दिन लगाएर प्रहरीले निकै मिहिनेतपछि घटनामा संलग्न युवकलाई पक्राउ गर्दछ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार सर्लाहीको कविलासी- २ घर भई काठमाडौं बस्ने ३० वर्षीय सालिन साहलाई पक्राउ गरेको हो। पक्राउ गर्दा उनको हुलिया भने फेरिइसकेको हुन्छ। सिसिक्यामेरा फुटेजमा उनी लामो कपालमा देखिन्छन्। तर, प्रहरीलाई छल्न कपाल काटेर भाग्दै हिँडेका थिए। अन्ततः उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही अघि बढेको छ।