पर्यटक लोभ्याउने हेलम्बुको कञ्चन झरना

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

हिमाल, लेकाली चउर, हरियाली जंगल र गुम्बाले भरिएको हेलम्बुको अर्को आकर्षण यहाँका कञ्चन झरना हुन् ।

हेलम्बु गाउँपालिका–१ मा रहेका पाँच सय मिटर उचाइबाट झर्ने जुम्ल्याहा झरना (छुम्जर रिङ्बु झरना), मेलम्ची खानेपानीको मुहानछेउ अम्बाथाङमा रहेको चार सय मिटर उचाइबाट झर्ने व्याङ्ज्याङ झरना तथा वडा नं. ६ र ७ को सिमानामा पर्ने सोल्सिङस्थित तीन सय मिटर उचाइबाट खस्ने ब्राङ्चे झरना चर्चित छन् ।

हिमाली क्षेत्रमा मुहान फुटेर लेकाली जंगल हुँदै आएको पानी भएकाले यी झरना कञ्चन देखिन्छन् । झरनामा सूर्यको प्रकाश पर्दा देखिने इन्द्रेणी दृश्य निकै सुन्दर र आकर्षक देखिन्छ । कञ्चन पानी र इन्द्रेणीको दृश्य हेर्न पर्यटक लोभिएका छन् ।

पर्यटकहरूले ब्राङ्चे झरनालाई सोल्सिङ झरना भनेर सामाजिक सञ्जालमा प्रचार गर्ने गरेका छन् । हेलम्बु गाउँपालिकाले भने उक्त झरना सोल्सिङ स्थानमा रहे पनि यसको नाम ब्राङ्चे झरना रहेको जनाएको छ ।

वर्षायामको कुनै पर्वाह नगरी स्वदेशी तथा विदेशी पर्यटक हेलम्बुका यी झरनाको दृश्यावलोकन गर्न पुग्ने गरेका छन् । अमेरिका, अष्ट्रेलिया र युरोपका पर्यटकसमेत यी झरना हेर्न हेलम्बु आइपुग्छन् । स्वदेशी पर्यटकमा विशेषगरी राजधानीवासीको शुक्रबार, शनिबार र आइतबार हेलम्बुमा भीड लाग्ने गरेको छ ।

मिस वर्ल्डका निर्देशक जुलिया मार्ले, मिस वर्ल्ड २०१९ टोनी आनसिङ तथा मिस नेपालहरू अनुष्का श्रेष्ठ र श्रृङ्खला खतिवडाले सोल्सिङस्थित ब्राङ्चे झरना पुगेर रोमाञ्चक दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि गत वर्षदेखि पर्यटकको संख्या बढेको हो ।

झरना हेर्न आउने पर्यटकको संख्या बढेपछि हेलम्बु गाउँपालिकाले झरना क्षेत्रमा सार्वजनिक शौचालय र विश्रामस्थल निर्माणका लागि बजेट छुट्याएको छ । हेलम्बुमा रहेका तीन मुख्य झरना तथा अन्य साना झरनाको दृश्यावलोकन सहज बनाउन केही पूर्वाधार र सडक निर्माणका लागि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

“झरना, हेलम्बु ग्रेट ट्रेल र मेलम्ची खानेपानी मुहानलाई समेटेर एउटा पर्यटन रुट तयार गरेका छौँ । त्यसैगरी आमायाङ्ग्री र छ्यादीगाङतर्फ छुट्टाछुट्टै रुट बनाएका छौँ,” उनले भने, “हिमाल, झरना, धार्मिकस्थल र खानेपानी मुहान क्षेत्रलाई समेटेर पर्यटकीय गन्तव्य तयार पारेका छौँ ।”

पर्यटन क्षेत्रबाट हेलम्बुको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । मेलम्ची बाढीले सडक बिगारे पनि झरनासम्म पुग्न अहिले कुनै कठिनाइ नरहेको उनले बताए ।

मेलम्चीदेखि मेलम्ची खानेपानीको मुहान अम्बाथाङसम्म कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरिसकेको छ । आगामी वर्षदेखि सवारीसाधनमार्फत पक्की सडक हुँदै सहज रूपमा झरनासम्म पुग्न सकिने अपेक्षा गरिएको छ ।

सुझावित समाचार