घुससम्बन्धी मुद्दामा वीर अस्पतालका तत्कालीन लेखा अधिकृत ढुन्डीराज दाहाल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई बुधबार दोषी ठहर गरी एक महिना कैद र २३ हजार ४६२ रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत असोजमा दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरेको थियो। सप्लायर्ससँग सो घुस लिएको आयोगको सूचना थियो। त्यसमध्ये ९३ हजार ८५० घुस लिएको पुष्टि भएपछि आयोगले गत २६ चैतमा मुद्दा दायर गरेको थियो। जसमा विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले दोषी ठहर गरेको थियो। घुस दिने राजेश श्रेष्ठ, प्रह्लाद गौतम र विप्लव पोखरेललाई समेत दोषी ठहर गरी एक वर्ष कैद र २३ हजार जरिवाना भएको छ। ९३ हजार बिगोलाई चार प्रतिवादीबिच दामासाहीका हिसाबले बिगो कायम गरिएको छ। घुस दिने व्यक्तिहरूलाई सुरुमा आयोगले सरकारी साक्षी बनाएकोमा पछि अदालतमा बयान फेरेपछि उनीहरूलाई पनि आयोगले प्रतिवादी बनाएको थियो। जसकारण घुस लिने–दिने दुवै पक्ष दोषी ठहर भएका हुन्।