नदीकिनार तथा जोखिमयुक्त बस्तीबाट हटाइएका परिवारका बालबालिकाहरूलाई आवासीय सुविधासहित निजी विद्यालयले निःशुल्क पढाउने भएका छन्। काठमाडौं महानगरपालिका, अभिभावक, प्याब्सन र एन प्याब्सनबिच शुक्रबार विद्यार्थी पढाउने सम्बन्धमा सम्झौता भएको हो।
पहिलो चरणमा १४ जना बालबालिकालाई महानगरपालिकाले पढाउनका लागि निजी विद्यालयहरूसँग सम्झौता गरेको छ। हाल विद्यार्थीले जुन कक्षामा पढिरहेका थिए उनीहरूलाई निजी विद्यालयले पनि सोहीअनुसारकै कक्षामा भर्ना गरेर निःशुल्क रूपमा पढाउनेछन्।
सुप्रिम बोर्डिङ स्कुल, केबिसी स्कुल, भ्याली पब्लिक स्कुल, प्रोगेसिभ स्कुल, केएमसी स्कुल, भेनस पब्लिक स्कुल, नेसनल आइडियल बोर्डिङ स्कुल, गेट वे एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमीलगायत स्कुलले आवासीय सेवासहित पढाउन सम्झौता गरेका हुन्। यी विद्यालयले हाललाई एक–एकजना सुुकुमवासी बस्तीबाट हटाइएका विद्यार्थीलाई पढाउन थालेका छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नदीकिनारबाट हटाइएका परिवारका बालबालिकालाई निजी विद्यालयले पढाउनु सकारात्मक रहेको बताइन्। ‘सबै बालबालिकाले सहज रूपमा पढ्न पाउनुपर्छ, तपाईंहरू पढेर असल नागरिक बन्नुपर्छ,’ उनले बालबालिकालाई भनिन्, ‘तपाईंहरू राम्ररी पढ्नुहोस्, राम्रा स्कुलहरूले गुणस्तरीय शिक्षा दिनका लागि गरेको सहयोग स्वागतयोग्य छ।