समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण चुक्ता गर्ने ओरेन्टल को–अपरेटिभ लिमिटेड सहकारीका ऋणीको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ।
बिहीबार सार्वजनिक गरिएको नामावलीमा २८४ ऋणीको तीनपुस्ते विवरण उल्लेख गरिएको छ। समितिले उनीहरूलाई यथाशीघ्र ऋण चुक्ताका लागि कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ। यदि समयमा नै ऋण चुक्त नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा भनिएको छ।
समितिले ओरेन्टललाई ७ असोज ०७९ मा समस्याग्रस्त घोषणा गरेको थियो। ओरेन्टलले चार हजार २५९ बचतकर्ताको तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ डुबाएको छ । मुलुकमा स्थापनमा भएका ठुला सहकारीमध्ये ओरेन्टलमा सबैभन्दा पहिलो समस्या आएको थियो।
बचतकर्ताको रकम डुब्ने भएपछि प्रहरीले ओरेन्टलका सञ्चालक सुधीर बस्नेतलाई प्रहरीले १४ वर्षअघि नै पक्राउ गरेको थियो।
बचतकर्ताको रकम फिर्ता गर्न तत्कालीन सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। तर, बचतकर्ताले अझैसम्म पनि रकम फिर्ता पाउन सकेका छैनन्।
यस अवधिमा ओरेन्टलका सञ्चालक बस्नेत पक्राउ पर्ने र छुट्ने क्रम जारी छ । तर, बचतकर्ताले डुबेको रकम अझै फिर्ता पाउन सकेका छैनन्।