अमेरिकाविरुद्ध नेपाल ‘ए’ तीन विकेटले विजयी

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण
अमेरिकाविरुद्ध नेपाल ‘ए’ तीन विकेटले विजयी

मयन यादव । तस्बिर क्यान

एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले अमेरिकाविरुद्ध जित निकालेको छ। बिहीबार स्कटल्यान्डमाथि ४५ रनको जित निकालेको नेपालले शुक्रबार अमेरिकासँगको खेलमा तीन विकेटको जित दर्ता गराएको हो।

पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको थियो। सो क्रममा समित पटेलले शतक पूरा गरे। १०८ बल सामना गरेका उनले ११६ रन जोडेका हुन्। यसैगरी, जसदीप सिंह, हर्मित सिंह र मोनान्क पटेलले क्रमशः ३३, २५ र २० रन बनाए।

नेपालका लागि पवन सर्राफले दुई विकेट लिँदा विपिन खत्री, बसिर अहमद र शेर मल्लले समान एक विकेट निकाले।

२६३ रनको लक्ष्य नेपालले पाँच बलअगावै सात विकेट गुमाएर भेट्टायो। मयन यादवले ८० बलमा सर्वाधिक ७२ रनको योगदान गरे। उनी प्लेअर अफ द म्याचसमेत भए। यसैगरी, सन्दीप जोराले ५२ बलमा ३६, कुशल मल्लले ४९ बलमा ३३, अनिलकुमार शाहले ३१ बलमा २७ र तृतराज दासले ३० बलमा २३ रन बनाए। आक्रामक ब्याटिङ गरेका पवन सर्राफ १५ बलमा २४ रन जोडेर अविजित रहे।

अमेरिकाका मिलिन्द कुमारले दुई तथा सञ्जय कृष्णमूर्ति, हर्मित सिंह र रुसिल उगरकारले समान एक विकेट निकाले।

अमेरिका र स्कटल्यान्ड विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजअगाडि अभ्यास खेल खेल्न नेपाल आएका हुन्।

सुझावित समाचार