स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन बागमती प्रदेश सरकारको निर्देशन

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका निजी तथा गैरसरकारी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत दर्ता तथा नवीकरण भएका विभिन्न अस्पतालहरूमा कार्यरत नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्यकर्मीहरूले तोकिएको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको गुनासो आएको भन्दै उक्त निर्देशन जारी गरेको जनाएको छ।

मन्त्रालयले श्रम ऐन, २०७४ को स्मरण गराउँदै श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मीलाई रोजगारदाताले कम्तीमा सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ। साथै, बिरामी बिदा, उपदान, सञ्चय कोष, बिमालगायतका सामाजिक सुरक्षासम्बन्धी सुविधाहरू उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्षबिच २०८२ कात्तिक १५ गते भएको सम्झौताअनुसार स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन मन्त्रालयले भनेको छ।

कुनै स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक तथा सेवासुविधाबाट वञ्चित गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले अस्पतालहरूको नियमित अनुगमन गरिने र तोकिएको व्यवस्था कार्यान्वयन नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न बाध्य हुने जनाएको छ।

सुझावित समाचार