ऋषि धमलाले घोषणा गरे स्वतन्त्र नागरिक समूह, बालेन सरकारलाई सहयोग गर्ने

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

पूर्वपत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनमा रौतहट ४ मा पराजित भएपछि आम जनता पार्टीसँगको आबद्धता परित्याग गर्दै स्वतन्त्र नागरिक समूह घोषणा गरेका छन् । धमलाले आफ्नै नेतृत्वमा शुक्रबार ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा गरेका छन् । समूहले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। ‘समयमा काम, तत्काल परिणाम’ मूल नारा दिएर रिपोर्टर्स क्लबमा धमलाले समूह घोषणा गरेका छन् । समूहको अध्यक्ष ऋषि धमला र सचिवमा हेमराज अधिकारी रहेका छन् ।

नयाँ सरकारसँग मिलेर काम गर्ने भनेर अभियानले ३१ बुँदामा समेटेर सहयात्रापत्र पनि तयार पारेको छ । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले नयाँ सरकार गठन भएको दिन मुलुकका लागि ऐतिहासिक भएको स्मरण गराए । अब मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्ने सुरुवात भएको उनको टिप्पणी थियो । उनले राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणा र प्रजातान्त्रिक कालमा बिपी कोइरालाको प्रधानमन्त्री काल स्मरण गर्दै भने, ‘अब जनताले समयमै काम र तत्काल परिणाम खोजेका छन् । नवनियुक्त प्रधानमन्त्री बालेनलाई जनताले पनि एक्सन–ओरिएन्टेड प्रधानमन्त्रीको रूपमा हेर्न चाहेका छन् ।’

उनको अभियानमा देशभरिका युवा जोडिएको र यसलाई राष्ट्रव्यापी बनाउने उद्घोष गरे । उनले अभियानलाई आफूहरूले ७५३ वटै स्थानीय तहका वडास्तरसम्म विस्तार गर्ने योजना पनि सुनाए । उनले भने, ‘हाम्रो काम भनेको सरकारलाई सहयोग गर्ने हो । जनताको चाहनाअनुसार काम गर्न सरकारलाई समर्थन गर्ने र सफल बनाउने हो । जनताको काम गर्नका लागि सरकारलाई घचघच्याउने हो । जनादेशबाट बनेको सरकार हो, यो सरकारसँग मिलेर काम गर्नुपर्छ । अहिले सरकारको विरोध गर्ने होइन ।’ पुराना दल र यसका शीर्ष नेताहरूलाई पनि धमलाले वर्तमान सरकारको विरोध नगर्न सुझाव दिए । ३५ वर्ष देशको नेतृत्व गरेका पुराना दलका पुराना नेताहरूले देशलाई सुशासन र विकास नदिएर भ्रष्टाचार र कुशासन दिएको धमलाको आरोप छ ।

उनीहरूले देशमा भएका उद्योग–धन्दा पनि बन्द गरेको र युवाहरूलाई रोजगारी दिन नसकेको उनको आरोप छ । उनले भने, ‘देश बनेन । देश बनाउने अवसर ठुला दल र यसका नेताहरूले पाएकै हो ।’ उनले रास्वपाका सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाएर राम्रो काम गरेको र लामिछानेले त्याग गरेको भन्दै प्रशंसा गरे । तर, नेपालको इतिहासमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले कुनै पनि सरकार पाँच वर्ष नटिकेको पनि उनले स्मरण गराए ।

उनले बालेन नेतृत्वको वर्तमान सरकारले पाँच वर्ष काम गर्न पाउनुपर्ने बताए । उनले जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही गर्न पनि गृहमन्त्री सुदन गुरुङलाई सुझाव दिए । उनले भने, ‘जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्नुहोस्, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुहोस् । यसमा ढिलाइ नगर्नुहोस् ।’ अभियानले राष्ट्र निर्माणका लागि ३१ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । जसलाई बालेन सरकारसँगको सहयात्रापत्र पनि भनिएको छ । प्रतिबद्धतामा बालेन सरकारलाई अवरोध नभई सहयोग गरिनुपर्ने, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन, शिक्षा र स्वास्थ्य निःशुल्क र समान अवसर, व्यावहारिक शिक्षा र रोजगारीको सुनिश्चितता, सुशासनयुक्त र भ्रष्टाचारमुक्त राज्य, राज्यको नियुक्तिमा योग्यतालाई प्राथमिकता, हरेक पेसामा लाइसेन्स प्रणाली अनिवार्यदेखि निःसन्तान दम्पत्तीलाई सहयोगसम्म समेटिएका छन् ।

सुझावित समाचार