आजको नेपाली समाजमा सामान किन्न दुइटा फरक अभ्यास प्रचलनमा छन् । एउटा– मोबाइल खोलेर अनलाइनमार्फत अर्डर गर्ने, छिटो, सहज र घरसम्मै सामान आइपुग्छ । अर्को– नजिकैको पसलमा पुगेर भलाकुसारी गर्दै, सन्चो–बिसन्चो सोध्दै, कहिलेकाहीँ उधारोमा पनि सामान लिएर फर्किने, जहाँ अपनत्व, चिनजान र विश्वास झल्किन्छ । यी दुवै स्वरूपको सुविधामा ठाउँ र परिवेशअनुसार विविधता रहेको हुन्छ, तथापि दुवै अनुभवको आआफ्नै विशेषता र सीमितता छन् । यसलाई यदि वर्तमान नेपाली राजनीतिसँग जोडेर तुलना गर्ने हो भने अनलाइन अर्डरजस्तै नयाँ राजनीतिक दल र पसलको भलाकुसारीजस्तै पुराना राजनीतिक दलसँगको सम्बन्ध रहेको देखिन्छ ।
अनलाइनमार्फत सामान मगाउँदा हामीलाई धेरै कुरा सोचिरहनुपर्दैन । एउटा बटन थिच्नासाथ सामान घरको ढोकामै आइपुग्छ । यसले सुविधा, गति र आधुनिकताको अनुभूति गराउँछ । नेपाली राजनीतिमा नयाँ राजनीतिक दल पनि यस्तै देखिन्छन् । उनीहरू छिटो परिवर्तनको कुरा गर्छन्, प्रविधि, पारदर्शिता, कार्यसम्पादन र परिणाममुखी शासनको वाचा गर्छन् । पुराना झन्झट, पुराना अनुहार र पुराना शैलीबाट दिक्क भएको समाजलाई नयाँ दलको प्रस्तुति आकर्षक लाग्नु स्वाभाविक हो । ‘काम गर्छु, देखाएर गर्छु’ भन्ने भाष्य अनलाइन डेलिभरीजस्तै सीधा, सरल र आकर्षक लाग्छ ।
तर, अनलाइन अर्डरमा मानव सम्बन्धको अनुभूतिको अभाव हुन्छ । डेलिभरी ल्याइदिने व्यक्तिले हामीलाई व्यक्तिगत रूपले चिन्दैन र चिन्न पनि चाहँदैन । हामी बिरामी पर्यौँ कि कतै गयौँ कि, धेरै दिन भयो, पसलमा किन नआएको भनेर सोध्दैन । सम्बन्ध लेनदेनमा मात्रै सीमित हुन्छ । नेपालको राजनीतिमा नयाँ दलप्रति पनि समाजको केही शंका यही हो– के यी दलले दीर्घकालीन सामाजिक सम्बन्ध, स्थानीय सन्दर्भ र नागरिकको मनोविज्ञान बुझेर तदनुरूप विकास निर्माणको ढाँचा बनाउलान् ? कि कुनै आयातित फर्मुला अपनाउँदै केवल नीतिगत र प्राविधिक समाधानको संख्यामा मात्रै सीमित बस्लान् ? पुराना पुस्तासँग रहेको सीप, अनुभव र दृष्टिकोणलाई मुलुक निर्माणमा के–कति समेट्न सक्लान् ? राष्ट्रियस्तरको विषयगत विज्ञता समेट्दै निष्पक्ष र निर्भीक बौद्धिक ‘थिंक ट्यांक’ बनाई त्यसका विश्लेषणलाई सही स्वरूपमा राष्ट्र निर्माणमा उपयोग गर्न सक्लान् ?
पुराना संरचना, विचार र अनुभवको सम्मान गर्दै नयाँ सोच, सिप र प्रस्तुतिलाई एकसाथ जोड्न सकियो भने राजनीतिक संस्कारमा परिवर्तन सम्भव हुन्छ । न त पुरानोलाई अन्धाधुन्ध बोकेर हिँड्नु ठिक हो, न त नयाँको नाममा सबै विगत अस्वीकार गर्नु नै सही हो ।
त्यसैगरी, पुराना राजनीतिक दलतर्फ हेर्दा नजिकैको पसलमा केही दिन जान नसक्दा पसलेले ‘के भयो, सन्चो त छ ?’ भनेर सोध्छ । कहिलेकाहीँ पैसा नभए पनि उधारो दिन्छ । दुःखसुखमा भावनात्मक रूपमा अपनत्वको अनुभूति गराउँछ । पुराना राजनीतिक दल पनि नेपाली समाजमा यस्तैगरी बसेका छन् । उनीहरूको जरा गाउँटोलसम्मै गाडिएको छ । कार्यकर्ता, नेता र जनताबिच व्यक्तिगत चिनजान छ । संकटको वेला उनीहरू देखिन्छन्, आन्दोलन, परिवर्तन र इतिहाससँग जोडिएका छन् ।
तर, यही अपनत्व कहिलेकाहीँ कमजोरी पनि बन्छ । पसलेले धेरै चिनजानको फाइदा उठाएर पुरानो, महँगो वा कम गुणस्तरको सामान थमाइदिन सक्छ । हामीले विरोध गर्न पनि गाह्रो मान्छौँ । पुराना राजनीतिक दलमा पनि यही समस्या देखिन्छ– अपनत्वको नाममा परिवारवाद, अवसरवाद, गुटबन्दी, भ्रष्टाचार र अकर्मण्यता देख्दादेख्दै पनि विरोध गर्न गाह्रो हुन्छ । हाम्रो सम्बन्ध त बाबुबाजे पुस्तादेखिको छ, हामीले त यति वर्ष साथ दिएको हो भन्ने भावनाले नागरिकले बारम्बार सम्झौता गर्नुपर्ने अवस्था हुन्छ ।
यी उदाहरण केवल व्यवसायका कथा मात्रै होइनन्, समाज र राजनीतिका लागि पनि सन्देश हुन् । पुराना संरचना, विचार र अनुभवको सम्मान गर्दै नयाँ सोच, सीप र प्रस्तुतिलाई एकसाथ जोड्न सकियो भने राजनीतिक संस्कारमा परिवर्तन सम्भव हुन्छ । न त पुरानोलाई अन्धाधुन्ध बोकेर हिँड्नु ठिक हो, न त नयाँको नाममा सबै विगत अस्वीकार गर्नु नै सही हो । अर्थात्, नेपाली समाजको स्पन्दन बुझ्ने, नेपालवादले नेपाललाई डोर्याउने र विश्व राजनीतिमा बलियो उपस्थिति जनाउन सक्ने कूटनीतिक विज्ञतासहितको विशेषता र क्षमता भएको राजनीतिक दल तथा तिनलाई सचेत गराउन सक्ने विज्ञको खाँचो छ ।
त्यसैले प्रश्न उठ्छ– कसलाई राम्रो भन्ने ? नयाँ दल कि पुराना दल ? यसको उत्तर एकोहोरो दिन सकिँदैन । नेपाली समाजको परिप्रेक्ष्यमा दुवैको आवश्यकता छ, तर सर्तसहित । नयाँ राजनीतिक दलले अनलाइनजस्तै सुविधा, गति र पारदर्शिता दिनुपर्छ, तर डेलिभरी मात्र होइन, समाजसँगको विश्वास र अपनत्वको सम्बन्ध पनि बनाउँदै लग्नुपर्ने हुन्छ । स्थानीय समाजसँग जोडिनुपर्छ, दुःखसुख बुझ्दै अवसरको सिर्जना गर्ने हुनुपर्छ ।
त्यसैगरी, पुराना राजनीतिक दलले नजिकका पसलजस्तै अपनत्व जोगाइराख्नुपर्छ, तर पुरानो, बिग्रिएको सामान बेच्ने बानी छोड्नुपर्छ । समयअनुसार सुधार, जवाफदेहिता र परिणाम देखाउन गुटबन्दी, परिवारवाद, चाकरीवाद, भजनमण्डलीको घेराबाट बाहिर निस्किनुपर्छ । आलोचना सुन्ने मात्रै होइन, त्यसलाई कार्यान्वयन पनि गर्न सक्नुपर्छ । राष्ट्रिय सचेतकका रूपमा विज्ञ समूहको निर्माण र संरक्षण गर्दै राष्ट्रहितमा तिनको विज्ञताको उपयोग गर्न सक्नुपर्छ ।
अहिलेको चुनाबी माहोलमा हेर्दा समाजले अब ‘को चिनजानको हो ?’ भन्दा पनि ‘कसले गुणस्तरीय सेवा दिन्छ ?’ भन्ने प्रश्न गर्न थालेको छ । नेपाली समाज पूर्ण रूपमा निर्जीव प्रणाली होइन, यहाँ सम्बन्ध र भावना महत्वपूर्ण छन् । त्यसैले भविष्यको राजनीति भनेको अनलाइन डेलिभरीको सुविधा र पसलको भलाकुसारीको अपनत्व, यी दुवैको सन्तुलन हो । यही सन्तुलन बनाउन सक्ने राजनीतिक शक्तिप्रति समाजको विश्वास निर्माण हुन्छ । बुझ्नुपर्ने कुरा के पनि हो भने नेपाली समाज विभिन्न पुस्ता सँगसँगै बसेको समाज हो, यहाँ सफलता कुनै एक पुस्ता वा एक शैलीको परिणाम होइन ।
कुनै पनि कुरा किन प्रभावकारी बन्छ भन्ने बुझ्न हामी ठुला सिद्धान्त वा जटिल अध्ययनतिर गएर मात्र हुँदैन । कहिलेकाहीँ हाम्रा वरिपरि नै यस्ता थुप्रै उदाहरण हुन्छन्, जसले समय र समाजको मनोविज्ञान स्पष्ट देखाइदिन्छ । ‘बाजेको सेकुवा’ र चोक–चोकमा खुलेका आधुनिक चिया पसल यस्तै उदाहरण हुन् । यी दुवै नयाँ होइनन्, तर प्रभावकारी बनेका छन् । यसको मूल कारण पुरानो आधारशिला र नयाँ पुस्ताको ज्ञान, सिप, प्रस्तुतिकला र सोचको सन्तुलन हो । यही सन्तुलन नै आज नेपालको राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने हो र नेतृत्वका लागि सबैभन्दा ठुलो पाठ पनि यही हो ।
चिया नेपाली समाजमा नौलो वस्तु होइन । दशकौँअघिदेखि गाउँ–सहरमा चिया पिइँदै आएको छ । तर, पछिल्ला वर्षमा चोक–चोकमा खुलेका चिया पसलप्रति यति छिटो लोकप्रियता बढ्नुमा त्यहाँ सबै लिंग र उमेर समूहका व्यक्ति जान पाउनु, खुला संवाद र प्रश्न गर्न पाउनु, चियाका विविध स्वादसँगै आवश्यक प्रविधिको उपलब्धताले बसाइमा सहजता थपिनु पनि हो । त्यसका साथै युवा पुस्ताको उत्साह र प्रभावकारी शैली पनि यसमा जोडिएको छ ।
वास्तवमा भन्ने हो भने कुनै पनि क्षेत्रमा नयाँ पुस्ताको प्रवेशले ठुलो भूमिका खेल्छ । यो कुरा राजनीतिमा पनि लागू हुन्छ । पुरानो ज्ञानलाई जोगाउँदै नयाँ पुस्ताले खुला संवादसहितको स्वस्थ र सफा राजनीतिक वातावरण निर्माण गर्न सक्ने हो भने नेपालमै अथाह सम्भावना छ । यसले राजनीतिक संस्कार पनि फेरिन्छ र राजनीति पेसा होइन, सेवा हो भन्ने भाष्य पनि स्थापित हुन्छ । जब समाजको स्पन्दन र आवश्यकताकेन्द्रित कार्यक्रम र नीतिनियम बन्न थाल्छन्, त्यसको परिणाम दर्साउने उदाहरण समाजमा देखिन थाल्छन्, तब आशाका झिल्का बल्न समय लाग्दैन । अनि, बहुसंख्यक भुइँमान्छेकेन्द्रित आयआर्जनका विविध आकर्षक कार्यक्रमले आशाको सञ्चार तीव्र गतिमा हुन थाल्छ ।
राजनीतिक सफलताका लागि अर्को महत्वपूर्ण पक्ष भनेको समाजको पिँधमा रहेका भुइँमान्छेका मनोविज्ञान बुझ्नु पनि हो । कुन समाजको चेतनाको तह कहाँ पुगेको छ ? बदलिँदो सामाजिक, पारिवारिक सम्बन्धको संरचनाले उब्जाएका आवश्यकता के–के हुन् ? कस्तो वातावरणले युवामा कस्तो मनोविज्ञान निर्माण गरिदिन्छ, तिनलाई कस्तो अवसरको आवश्यकता छ ? नागरिकलाई ‘हामीलाई बुझिन्छ’, ‘हाम्रा आवश्यकताअनुरूप कार्यहरू गरिन्छन्’, विधिको शासन छ भन्ने अनुभूति गराउन सके मात्रै राष्ट्रप्रतिको प्रेम जगाउन सकिन्छ र यो नै दीर्घकालीन राजनीतिक सफलता पनि हो ।
जसरी हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुँदा अनेकौँ रोगले सहजै सताउन थाल्छ, त्यसैगरी जब मुलुक कमजोर हुन्छ, तब अनेक किसिमका हस्तक्षेप भइ नै रहन्छन् । तर, भुल्नै नहुने कुरा भनेको नेपाल बनाउने नेपाली आफैँले हो । त्यसैले बदला र वैमनस्य लिएर एक–आपसमा लड्दै मुलुकलाई झन्झन् कमजोर बनाउने कि मुलुक निर्माणको सवालमा एक ढिक्का भई सहकार्य गरी इतिहास रच्ने ? एउटा त के प्रस्ट छ भने चुनावमा जो जिते पनि विगतका गलत अभ्यासको निरन्तरता र मुलुकलाई संकटमा पारिने कुनै पनि बाह्य वा आन्तरिक कार्य, सर्त वा सम्झौता अब समाजले स्विकार्दैन । त्यसैले, यस चुनावमा मुलुकलाई मुटुमा राख्ने दीर्घगामी सोच बोक्नेले मात्रै जितून् भन्ने शुभकामना !
(झा समाजशास्त्री हुन्)