थाई एयर एसियाले अप्रिलदेखि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान रोक्ने संकेत गरेसँगै भैरहवाका पर्यटन व्यावसायीले चिन्ता व्यक्त गरेका छन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी बुधबार आयोजित अन्तर्क्रियामा सहभागी थाई एयर एसियाका प्रबन्धक सुनील शाक्यले अप्रिलदेखि भैरहवाबाट उडान भर्न नसकिने जनाएपछि स्थानीय व्यवसायीले चिन्ता प्रकट गरेका हुन् । उनीहरूले सरकारी र निजी क्षेत्रबाट गरिनुपर्ने कामको खाका तयार पारी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने जोड दिएका छन् ।
उनीहरूले अन्तर्राष्ट्रिय बजारमा गएर प्रवर्द्धन गर्नुपर्ने, नेपालमा लुम्बिनीसँगै अन्य ठाउँलाई जोडेर प्याकेज बनाउनु पर्ने, बलियो समिति बनाएर समन्वयकारी भूमिका खेल्नुपर्ने, हिमालयन र नेपाल एयरलाइन्सबाट उडान भर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले निजी र सरकारी लगानी जोखिममा रहेकाले विमानस्थलमा जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताए । विमानस्थलका निमित्ति महाप्रबन्धक श्यामकिशोर शाहले आर्थिक विकासका लागि निर्माण गरिएको विमानस्थल नियमति नचल्दा निजी क्षेत्र अप्ठ्यारोमा पर्नु स्वाभाविक भएको बताए । नियमित उडान भर्नका लागि सबै लागि रहे पनि सफलता पाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले विमानस्थल दिगो सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरी सहजीकरण समिति बनाउनुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले स्थानीयस्तरमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने काममा प्रतिबद्ध रहेको जनाए । विमानस्थलको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा जानुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल प्रवद्र्धनका लागि हातेमालो जरुरी रहेको जनाए ।
विमानस्थल सञ्चालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडलले दुई विशाल छिमेकी मुलुकको बिचमा रहेको नेपालले पर्यटनबाट प्रशस्त लाभ लिन सकिने जनाए । ‘रामायण सर्किट, महाभारत सर्किट र बौद्ध सर्किट जोडेर अन्तर्राष्ट्रिय प्याकेज बनाउनुपर्छ,’ उनले भने, ‘यस्तो भएमा विदेशी विमान कम्पनी यहाँ आउँछन् ।’ उनले भैरहवामा भिसा, मेडिकल सेन्टरलगायतका सुविधा नहुँदा पनि विमान कम्पनी उडान भर्न नआएको बताए ।
सिजनमै यात्रु छैनन् : थाई एयर एसिया
थाई एयर एसियाका सहायक प्रबन्धक सुनिल शाक्यले अप्रिलदेखि भैरहवामा उडान भर्न नसकिने बताएका छन् । अहिले सिजनका बेलामा समेत निकै कम यात्रु पाइरहेको र घाटामा हुँदा पनि सातामा दुई उडान भरिरहेको बताए ।
‘हामीले भारतको कुशीनगर झर्ने बौद्ध तीर्थयात्रीलाई भैरहवा आएर लुम्बिनी घुमेर त्यहाँ जान प्रवर्द्धन गरिरहेका छौँ । थाइल्यान्डमा पनि प्रचार गरेका छौँ,’ उनले भने, ‘तर, यात्रु पाइराखेका छैनौँ ।’ उनले विभिन्न समूहलाई बोलाएर विमान भर्ने काम गरिरहेको सुनाए । यसलाई दिगो बनाउने हो भने भारतीय यात्रुलाई दिने नो–अब्जेक्सन लेटर, भिसा, मेडिकल म्यानपावरलगायत सुविधा हुनुपर्ने उनको भनाइ छ।