मकवानपुरको भीमफेदी गाउँपालिका–६ ,जुरीखेतमा आज साँझ भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक महिला र पाँचजना पुरुष छन्। मकवानपुर प्रहरीका अनुसार उनीहरूको पहिचान खुलेको छैन ।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले घटनामा गम्भीर तीनजना घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा एक पुरुष र दुई बालबालिका छन् । उनका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आइतबार साँझ करिब ५ः३० बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो। सुमोमा सवार नौजनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल ल्याई पुर्याइएको थियो।
उद्धारपछि अस्पताल ल्याइएका एक महिला र पाँचजना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।