२२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ अन्तर्गत ओपन मेन्स सिंगल्सको उपाधि करणबहादुर थापाले हात पारेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छे बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा तनहुँ घर भई हाल भारत बस्ने नेपाली खेलाडी करणले आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।
उपाधिसँगै करणले ८० हजार तथा आयुषमानले ४० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। २२औँ संस्करणसम्म आइपुग्दा उपाधि विजेता करण नयाँ खेलाडीसमेत हुन्।
३५ वर्षमाथिको मेन्स सिंगलको फाइनलमा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गरे। उपाधिसँगै जितेन्द्रले ६० हजार र सन्तोषले ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाए।
विजेता खेलाडीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, आयोजक संघका अध्यक्ष राजकुमार गुरुलगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने गरी सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको आयोजक समितिका प्रथम उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा ११ पुसदेखि सुरु प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ विधामा प्रतिस्पर्धा भएको आयोजक संघका सचिव एवं प्रतियोगिता संयोजक विश्वराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार प्रतियोगितामा नेपालसहित चार देशका १६८ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।