मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष १५ मंगलबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८२ पौष १५ मंगलबार २o:५६:oo
Read Time : > 1 मिनेट
समाचार

‘लोपोन्मुख वन्यजन्तुको महत्त्वबारे विद्यालयस्तरकै पाठ्यपुस्तक राखौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ पौष १५ मंगलबार २o:५६:oo

संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख सल्लाहकार कर्मा भुटियाले लोपोन्मुख वन्यजन्तुको महत्त्व विद्यालयस्तरका पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । 

काठमाडौँमा मंगलबार आयोजित कार्यशाला गोष्ठीमा उनले सालक के हो भनेर मात्र अब नहुने, यसलाई किन जोगाउन आवश्यक छ भनेर विद्यार्थीलाई जानकारी हुनुपर्ने बताए । उनले भने, ‘यो त एउटा उदाहरण मात्रै हो । अन्य वन्यजन्तुका हकमा पनि महत्त्व दर्शाउन आवश्यक छ ।’

वातावरण कानुन समाजले आयोजना गरेको कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले वन्यजन्तुको गैरकानुनी ओसारपसार रोक्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कानुन कार्यान्वयनसँगै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका थिए । 

वातावरण कानुन समाजका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले वन्यजन्तुको ओसारपसारसँगै बाघको छाला घरमा राख्ने, कछुवाको प्रयोगसमेत हुने गरेकाले निरुत्साहन गर्न जरुरी रहेको बताए । ‘मान्छेले जानी–नजानी तथा कतिपय धर्मसंस्कृतिका हिसाबमा लोपोन्मुख वन्यजन्तु र तिनका अंग–प्रत्यंगको प्रयोग गरेको देखिन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीसँग कानुन त छन्, कानुन कार्यान्वयन एउटा पाटो हो । तर, योसँगै आमनागरिकमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।’ 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयका प्रमुख डा. ईशान गौतमले लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको महत्त्व फैलाउन आवश्यक रहेको बताए । ‘ती वन्यजन्तु र वनस्पतिको महत्त्व आमनागरिकसम्म पुग्यो भने संरक्षणमा हातेमालो हुन्छ,’ उनले भने, ‘अब डिजिटल माध्यमबाट जनचेतना फैलाउनुपर्ने देखिन्छ ।’

ग्रिनहुड नेपालका निर्देशक कुमार पौडेलले वन्यजन्तु संरक्षणमा लागेकाहरूको क्षमता अभिवृद्धि गर्न सके संरक्षणमा सहयोग पुग्ने बताए । यस्तै, नेपाल एसोसिएसन, वातावरण कानुन समितिका सहसंयोजक रूपा बस्नेतले लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षणका विषय संस्कृति र परम्परासँग पनि जोडिएको बताइन् । उनले भनिन्, ‘वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि हामीले मान्यताहरू पनि परिवर्तन गर्नुपर्नेछ । यसका लागि पाठ्यक्रममै सुधार गर्नुपर्ने देखिन्छ ।’ 

वातावरण कानुन समाजका कार्यक्रम संयोजक सुरज श्रेष्ठले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि झापालगायत क्षेत्रमा कार्यक्रम भइरहेको बताए । उनका अनुसार वन्यजन्तु संरक्षण, चोरीनिकासी नियन्त्रण तथा वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति आमनागरिकका मुख्य सरोकार हुन् ।