लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण

१५७ विदेशी विद्यार्थी अध्ययनरत, १६ हजार पुर्‍याउने लक्ष्य

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बौद्ध दर्शन तथा सोसम्बन्धी विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयमा हाल १५७ विदेशी विद्यार्थी अध्ययनरत छन्। नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीहरूले आवेदन दिएका छन्। विश्वविद्यालयमा कुल ३ हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन्।

विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रित र बुटवल तथा देवदहमा प्रायोगिक बौद्धअन्तर्गतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरू भर्ना भएका छन्।

विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवानलगायत देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। सबैभन्दा धेरै चीनका विद्यार्थी छन्। बुद्धिजम एन्ड नेपाल स्टडिज्, बुद्धिजम एन्ड पिस, बुद्धिजम् एन्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरू भर्ना भएको बताए। ‘विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध छौँ,’ उनले भने।

लुम्बिनी बौद्धको सर्टिफिकेटलाई चीन सरकारद्वारा मान्यता
लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेटलाई चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ। चीनको शिक्षा मन्त्रालयअन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भएको हो।

स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्सका निर्देशक डा. कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको संख्या बढ्दै जाने बताए। ‘चिनियाँ विद्यार्थीहरू प्रमाणपत्रले मान्यता पाउँछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अब त्यो समस्या समाधान भएको छ,’ उनले भने।

विश्वविद्यालयले देवदहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ। यो योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावाससमेत निर्माण गरिरहेको छ। सो पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झन्डै ८० अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेको छ। सोही सहकार्यअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू सेमेस्टर एक्सचेन्जअन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन्। ६४ विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन्। केही समयअघि मात्रै ४८ विद्यार्थीहरुले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका थिए।

सुझावित समाचार