मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
अजित अधिकारी काठमाडाैं
Invalid date format o८:३७:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका क्वार्टर क्षतविक्षत

Read Time : > 5 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३७:oo
  • मन्त्रीसहित राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुखको भैँसेपाटीस्थित सरकारी आवास रहेको मन्त्री क्वार्टरका २८ मध्ये २७ भवन खण्डहर, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास पनि ध्वस्त

जेन–जी आन्दोलनका क्रममा आगलागी भएको ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरको बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले निरीक्षण गरेका छन् । मन्त्री क्वार्टरका २८ मध्ये २७ वटा भवन जलेर नष्ट भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार ९६ रोपनी १० आना क्षेत्रफलमा राज्यमन्त्रीसहित २४ मन्त्रीलाई क्वार्टर बनाइएको छ । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि एक–एक भवन र प्रतिनिधिसभाको उपसभामुखलाई एक भवन आवासीय प्रयोजनका लागि तयार गरिएको छ । थप एउटा भवन पनि प्रयोगविहीन अवस्थामा थियो । तर, २४ भदौ दिउँसो प्रदर्शनकारीले आगजनी गर्दा २७ भवन पूर्ण रूपले जलेर नष्ट भएका छन् । मुख्य प्रवेशद्वारको बाँयापट्टि लहरमा दोस्रो स्थानमा रहेको रक्षामन्त्रीनिवास भने सग्लो छ । सो भवनको केही झ्यालको सिसा फुट्नुबाहेक अरू क्षति भएको छैन ।

तीन तलाका भवनहरू आगलागीले जलेर कालो भएका छन् । भुइँतलामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा छ । पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल छ । दोस्रो तलामा दुईवटा पाहुना कोठासँगै पूजाकोठा र लन्ड्री तथा खुला छत बनाइएको छ । प्रत्येक आवासमा दुईवटा प्रवेशद्वार छन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने ढोका बनाइएको छ । नेपाली परम्परागत शैलीमा बनाइएको भवनको साजसज्जाका लागि मात्रै २४ करोड रुपैयाँ खर्च भएको थियो । तर, आगलागीपछि सबै भवन कुरूप भएका छन् ।

मन्त्री क्वार्टरको दक्षिण–पश्चिमतर्फ सामान्य जाली गेट बनाइएको थियो । सोही स्थानबाट आन्दोलनमा सहभागी समूह भित्र छिरेर आगजनी गरेको स्थानीयको भनाइ छ । सो स्थानमा जग्गा अधिग्रहण विवाद भएकाले पक्की संरचना बनाउन ढिलाइ भएको सहरी विकास मन्त्रालयका अधिकारीले मन्त्रीद्वय अर्याल र घिसिङलाई ‘ब्रिफिङ’ गरेका छन् । अहिले पनि सो स्थानमा फलामको डन्डीमा टिनको पातालाई बाँधेर बेरा मात्रै लगाएर असुरक्षित अवस्थामा छाडिएको छ । 

आर्मीको सुरक्षामा रहेको मन्त्री क्वार्टरको क्षतिबारे अहिलेसम्म अध्ययन थालिएको छैन । मंगलबार सहकारी विकास तथा भवन निर्माण विभागका कर्मचारी भित्र पसेर निरीक्षण गर्न खोज्दा सेनाले नदिएपछि फर्किएका थिए । बुधबार मन्त्रीद्वय अर्याल र घिसिङले निरीक्षण गर्दा कुनै पनि भवनभित्र पसेनन्, बाहिरबाट मात्रै वस्तुस्थितिको जानकारी लिए । सेनाले आगलागी भएको भवनभित्रको स्थिति के कस्तो छ भन्ने यकिन नभएकाले भित्र छिर्नु जोखिमयुक्त हुने सुझावसमेत दिएको थियो । निरीक्षणमा पुगेका सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले क्वार्टर पुनर्निर्माणको विषय सरकारको प्राथमिकतामा रहेको बताए । ‘पुनर्निर्माणको विषयमा के कसो गर्न सकिन्छ, त्यो सबै प्राथमिकतामा राखेर अगाडि बढ्छौँ,’ उनले भने, ‘तत्काल नै गर्न सकिने अवस्था रहेछ भने पनि काम थाल्छौँ ।’

कस्तो छ अहिले अवस्था ?
क्वार्टर परिसरमा बनाइएको पाँच मिटर चौडा बाटोमा जलेका गाडी र बस यतिकै छन् । प्रत्येक क्वार्टरको मूलढोकाअगाडि जलेको अवस्थामा मन्त्रीका गाडी मात्रै छन् । आँखाले यतिकै हेरेर जलेको गाडी कुन ब्रान्ड वा कुन मोडेलको हो भन्ने ठम्याउन नसक्ने अवस्थामा छन् । अधिकांश क्वार्टरपरिसरमा एकभन्दा बढी गाडी जलेको अवस्थामा भेटिन्छन् । त्यसैले मन्त्रीको सरकारी गाडीसँगै उनका आफन्तहरूको निजी सवारीसाधनसमेत आगलागीमा परी जलेको अनुमान गर्न सकिन्छ ।

क्वार्टरभित्रको बाटोमै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निवास लेखेको ‘नेमप्लेट’ कुच्चिएर फालेको अवस्थामा छ । बाटोमा यत्रतत्र गाडीको जलेको पार्टपुर्जा छन् । प्रवेशद्वार भित्र पस्नासाथ देखिने पानीको फोहोरा फाल्ने आकर्षक संरचना पूर्ण रूपले क्षतिग्रस्त छ । गोलाकार आकारको ‘वाटर फाउन्टेन’को टायलहरू उप्काएर फालिएका छन् भने पानीको फोहोरा फाल्ने प्रणाली पनि नष्ट गरिएको छ ।

रातो र सेता रङले चम्किलो बनाइएको सबै भवन धुँवाको मुस्लोका कारण कालो भएका छन् । सबै क्वार्टरको मुख्य प्रवेशद्वार बन्द गरेर राखिएको छ । मुख्य द्वारसँगै रहेका पहेँलो रङको नेमप्लेट पनि जलेर कालो भएका छन् । प्रवेशद्वारअगाडिको एलइडी होर्डिङ बोर्ड पनि भत्काइएको छ । सेनाले गेटअगाडि काँडेतार राखेर सुरक्षा दिइरहेको छ ।

ग्यास सिलिन्डर पड्केर धेरै आगलागी 
आन्दोलनकारीको समूहले प्रत्येक भवनको भुइँतलामा आगो झोसेको स्थानीयले बताएका छन् । २४ भदौ दिउँसो १ बजेतिर प्रवेश गरेका आन्दोलनकारीले मन्त्री क्वार्टर र सम्मुखमा रहेको प्रदेश प्रमुख र मुख्यमन्त्रीनिवास दिउँसो साढे ३ बजेसम्म नियन्त्रणमा लिएर आगजानी गरेका थिए । तर, पहिलो तलाको भान्सामा रहेका ग्यास सिलिन्डर पड्केर ठुलो आगलागी भएको स्थानीयले बताएका छन् । एउटै क्वार्टरमा चार–पाँचवटासम्म सिलिन्डर पड्केको आवाज आएको र सोही कारण ठुलो आगलागी भएको स्थानीय शुभद्रा ठकुरी बताउँछिन् । ‘यहाँ आगलागी भएको दिउँसोको समयमा सिलिन्डर निरन्तर पड्केर भैँसेपाटी क्षेत्र नै अशान्त भएको थियो । सिलिन्डरहरू पड्केर पनि आगलागी धेरै भयो,’ उनले भनिन् । धमाधम सिलिन्डर पड्केर भवनमा दनदनी आगो लाग्न थालेपछि आन्दोलनकारीहरू पनि बिस्तारै मत्थर भएको उनले बताइन् ।

मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास पनि जोगिएनन्
सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा बस्न सजिलो होस् भनी सरकारले भैँसेपाटीस्थित मन्त्री क्वार्टरको सम्मुखमा सातवटा भवन बनाएको थियो । एउटै भवनलाई पार्टेसन गरेर प्रदेश प्रमुख र मुख्यमन्त्री तथा तिनको परिवार बस्न मिल्ने गरी निर्माण गरिएको छ । तर, सो भवनसमेत २४ भदौमा आगलागीमा परी ध्वस्त भएको छ । प्रदेशका पदाधिकारीलाई काठमाडौंमा ठुलो रकम खर्चेर पूर्वाधार निर्माण गर्न नहुने जनआवाजविपरीत सरकारले सातवटा ठुला भवन बनाएको थियो । १० भदौ ०८० मा उक्त भवन उद्घाटन भई सञ्चालनमा आएको थियो । तीन तलाको भवनमा पूजाकोठादेखि योग कक्षसम्म छन् । भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल बनाइएको छ । पहिलो तलामा बैठक कक्ष, योग कोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा छ भने दोस्रो तलामा भान्सा कोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजा कोठा छन् । १७ मंसिर ०७५ को मन्त्रिपरिषद् बैठकले बालुवाटारमा प्रधानमन्त्रीनिवाससहित भैँसेपाटीमा प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि १३ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भैँसेपाटीमा क्वार्टर र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीनिवास निर्माणको शिलान्यास गरेका थिए । तीनवटा प्याकेजमा टुक्र्याएर निर्माण गरिएको मन्त्री क्वार्टरको कुल लागत एक अर्ब ७७ करोेड रुपैयाँ रहेको विभागका उपमहानिर्देशक सनिलकुमार ठाकुरले जानकारी दिए । ‘दक्षिण–पश्चिमपट्टिको २७७ मिटर लामो पर्खालबाहेक सबै संरचना निर्माण सकिएको थियो,’ उनले भने । स्विमिङ पोखरी र जिम हल भर्खर मात्रै निर्माण सम्पन्न भएको थियो । तर, प्रयोग गर्न नपाउँदै यी संरचना पनि क्षतिग्रस्त भएका छन् । मन्त्री क्वार्टरको सम्मुखमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीनिवासका लागि सातवटा ब्लकसमेत निर्माण भएका छन् । सो ब्लक बनाउन ७२ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अब सिंहदरबारभित्रै संसद् र सर्वोच्च अदालत

आगलागीपछि ध्वस्त भएको संसद् भवनको बैठक कक्ष ।

संसद् र सर्वोच्च अदालतको नियमित काम अब सिंहदरबारबाटै हुने भएको छ । बुधबार क्षतिग्रस्त भएका संसद् भवन र सर्वोच्च अदालत भवनको अनुगमन गर्नेक्रममा सरकारका तीनजना मन्त्रीले यस्तो बताएका हुन् । सिंहदरबार परिसरभित्रै निर्माणाधीन संसद् भवन र सर्वोच्च अदालत भवन अन्तिम चरणमा रहेकाले चार पाँच महिनापछि सञ्चालनमा आउने उनीहरूको भनाइ छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र भौतिक, सहरी विकाससहित ऊर्जामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवनको अवलोकन गरे । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ । पहिलो दिन संसद् भवनपरिसरमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । संसद् भवनको भित्री भाग जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ । चीन सरकारले बनाइदिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् भवन बनाइएको थियो । 

बिआइसिसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संसद् बैठक नबस्ने भएको छ । अर्थमन्त्री खनालले संसद् भवन पुनर्निर्माण गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्ने बताए । आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने र त्यहीँ नै संसद्को बैठक बस्ने मन्त्रीहरूको भनाइ छ ।

आगामी निर्वाचनपछि सिंहदरबारभित्र निर्माण सम्पन्न हुने क्रममा रहेको संसद् भवनबाट बैठक चल्ने मन्त्री घिसिङले बताए । ध्वस्त भएको संसद् भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काइने उनको भनाइ छ । उनले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन, दीर्घकालीन योजनामा पुनर्निर्माण सुरु गर्ने बताए ।

मन्त्री घिसिङले संसद भवनमा ठूलो क्षति भएको बताए । उनकाअनुसार भवनभित्रका सभा सञ्चालन गर्ने सबै कुरा जलेका छन् । माइक, कुर्सी टेबल, साउन्ड सिस्टम केही बाँकी रहेन । भिडियो सिस्टम, मिडिया सेन्टर पनि जलेको छ । कम्प्युटर ल्यापटप, टिभीहरू बाँकी छैनन् । भवनभित्र कुर्सीहरू केही बाँकी छैन । दर्शकदीर्घा भुइँमा झरेको छ । ल्होत्से हल पूर्ण जलेको छ । दलका शीर्ष नेताहरू बस्ने कक्ष पनि बाँकी छैन । प्रहरीहरू बस्ने क्वार्टर पनि बाँकी छैन । योजना बनाएरै पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । 

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री घिसिङले चार–पाँच महिनापछि सर्वोच्च अदालतको काम नयाँ भवनबाट सुरु गरिने बताएका छन् । बुधबार आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गर्न पुगेका उनले सिंहदरबारमा नयाँ बिल्डिङ बनिसक्ने भएकाले सोही ठाउँबाट काम थाल्ने बताए । यसलाई कसरी अगाडि बढाउने भनेर सरकारले एउटा निर्णय पनि गर्ने उनको भनाइ छ । उनले भने, ‘धेरै ठुलो क्षति भएको छ । अब यसलाई सबै एसेसमेन्ट गरेर त्यसको डिटेल डिजाइनसहित काम अगाडि बढाउँछौँ ।’