Skip This
आन्दोलनमा भएको भौतिक क्षतिको प्रारम्भिक तथ्यांक : २६३ सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त, सयौँ सवारीसाधनमा आगजनी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
सुवास भट्ट काठमाडाैं
Invalid date format o६:२५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आन्दोलनमा भएको भौतिक क्षतिको प्रारम्भिक तथ्यांक : २६३ सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त, सयौँ सवारीसाधनमा आगजनी

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

आन्दोलनकारीहरूले मुख्य रूपमा सरकारी/सार्वजनिक निकायलाई लक्षित गरेर तोडफोड र आगजनी गरेको देखिएको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, संसद्, अदालत र राष्ट्रपति कार्यालय हुँदै तलैसम्म सरकारी कार्यालय निसानामा परेका छन् ।

प्राप्त विवरण ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति भएका छन् । आंशिक क्षति पुगेका प्रहरी कार्यालयको संख्या १२४ छ । आठ जिल्ला प्रशासन कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ ।

आन्दोलनकारीले व्यापारिक र निजी गरी ४२ भवनमा पूर्ण क्षति पुर्‍याएका छन् । यसबाहेक ११८ वटा व्यापारिक र निजी भवनमा आंशिक क्षति पुगेको छ ।

आन्दोलनकारीको निसानामा दलका कार्यालयहरू पनि परेका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार विभिन्न पार्टीका विभिन्न तहका ३५ वटा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आंशिक क्षति पुगेका पार्टी कार्यालयको संख्या ८६ छ ।

आन्दोलनका क्रममा मन्त्रालय तथा केन्द्रीय निकायहरूका सयौँ सवारीसाधनमा क्षति पुर्‍याइएको छ । महँगा मूल्यका गाडीमा आगजनी र तोडफोड गरिएको छ । ठुलो संख्याका मोटरसाइकलमा पनि क्षति छ ।

प्रारम्भिक तथ्यांकअनुसार सवारीतर्फ सबैभन्दा बढी क्षति सर्वोच्च अदालतमा छ । सर्वोच्चका ५१ वटा गाडी पूर्ण रूपमा नष्ट भएका छन् भने कम्तीमा सयवटा मोटरसाइकल पनि जलेका छन् । यी सर्वोच्च अदालतका सवारी मात्र हुन् । जिल्ला अदालतहरूमा ठुलो संख्याका सवारीमा क्षति भएको छ, विवरण आउन बाँकी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १३५ सवारीमा क्षति पुगेको छ । त्यसमा ४७ वटा गाडी जलेको र १३ वटामा तोडफोड भएको छ । ७४ मोटरसाइकल जलेको र एउटामा तोडफोड भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३० वटा गाडीमा पूर्ण क्षति छ ।  मन्त्रालयको सचिव र मन्त्रीकै गाडी पूर्ण क्षति भएका छन् । गाडी नभएपछि अहिले सचिवलाई वैकल्पिक व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयका २६ गाडी र ४७ वटा मोटरसाइकल पूर्ण क्षति छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १६ गाडी र १५ मोटरसाइकलमा क्षति पुगेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागमा ७० गाडी र ८० मोटरसाइकलमा पूर्ण क्षति छ । त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागका ४० गाडी र २७ मोटरसाइकल आगजनीले नष्ट भएका छन् । चारवटामा तोडफोड भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि सवारी क्षतिबाट अछुतो छैन । अख्तियारको केन्द्रीय कार्यालय टंगालमा रहेका १५ गाडी, ७४ मोटरसाइकल र दुईवटा बसमा क्षति पुगेको छ ।

यसबाहेक अन्य मन्त्रालय र निकायहरूले पनि अहिले सवारी क्षतिको विवरण संकलन गरिरहेका छन् । त्यसको विवरण आउने क्रम जारी छ ।

प्रहरीका १९ वटा हेबी गाडी, ८० लाइट गाडी र १३७ मोटरसाइकलमा पूर्ण क्षति भएको छ । त्यस्तै, १२ हेबी गाडी, २४ लाइट गाडी र सात मोटरसाइकलमा सामान्य क्षति छ ।

सिंहदरबारमा यसकारण जले धेरै गाडी
जेन–जी आन्दोलनको पहिलो दिन २३ भदौमा बानेश्वरमा प्रहरीको गोली लागी २१ जनाले ज्यान गुमाएपछि परिस्थिति प्रतिकूल हुँदै गयो । ठुलो संख्यामा प्रदर्शनकारी हताहती भएपछि सोही दिन दिउँसो नै काठमाडौं जिल्ला प्रशासनले आन्दोलन भएको क्षेत्र बानेश्वर–बबरमहल आसपास कर्फ्यु आदेश जारी गर्‍यो ।

सरकारी दमनले ठुलो संख्यामा मृत्यु भएपछि प्रदर्शनकारी थप आक्रोशित भए । यो आक्रोश सरकार र कर्मचारीप्रति व्यक्त हुन सक्ने र कर्फ्यु पनि जारी भएपछि निकायहरूले सरकारी नम्बर प्लेटका सवारीसाधन प्रयोग नगर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिए । जसका कारण कर्मचारीले सवारी मन्त्रालय वा कार्यालयमै छाडेर घर गए ।

दोस्रो दिन आन्दोलन झनै उग्र र हिंसात्मक बन्यो । प्रदर्शनकारी तोडफोड र आगजनीमै उत्रिए । निसानामा परे सरकारी निकायहरू । यही क्रममा संसद्, अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालयदेखि केन्द्रीय निकायहरूमा व्यापक तोडफोड र आगजनी गरिए । कर्मचारीहरूले कार्यालयमै सवारी छाडेर गएकाले त्यहाँ छिरेका आन्दोलनकारीहरूले ती सवारीमा आगजनी र तोडफोड गरे । जसका कारण सवारीमा ठुलो क्षति हुन पुग्यो ।

विवरण संकलन गर्दै सरकार
ठुलो संख्यामा कार्यालय र सवारीमा क्षति पुगेपछि सरकारले विवरण संकलनको काम अघि बढाएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यालयमा बसेको सचिवस्तरीय बैठकले कार्यालय र सवारी क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । सोहीबमोजिम पत्राचारमार्फत प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । ‘२०८२ साल भाद्र २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र उपकरण, सवारीसाधन, फर्निचर, सूचना प्रणालीलगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय/निकायले तयार गर्ने’ सचिवस्तरीय बैठकको निर्णय छ । उक्त क्षति सम्बोधन गर्न गर्नुपर्ने कार्यहरूको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय/निकायले तत्काल कार्य प्रारम्भ गर्ने निर्णय पनि बैठकले लिएको छ ।

कति छ मानवीय क्षति ?
पछिल्लोपटक अद्यावधिक तथ्यांकअनुसार आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना छ । त्यसमा प्रदर्शनकारीतर्फ २१ (२३ गतेको प्रदर्शनमा), अन्यतर्फ (२४ गतेको विध्वंसात्मक घटनापश्चात्) ३८, कैदीबन्दी र बालबन्दीतर्फ १० जना छन् । यसैगरी, घाइतेमा नेपाल प्रहरीतर्फ ३८४ छन् । त्यसमध्ये ३२० जना डिस्चार्ज भएका छन् भने ६४ जना उपचाररत छन् । सशस्त्रतर्फ २२६ जना घाइते भएकोमा २२१ डिस्चार्ज र पाँच उपचाररत छन् । आन्दोलनकारीतर्फ ११६ जना उपचाररत रहेको तथ्यांक छ ।

गाडी नभएपछि ‘पठाओ’मा हिड्ँदै छन् सहसचिवहरू
कानुनले सहसचिवसम्मलाई गाडी सुविधा दिएको छ । प्रयोग गर्दै आएका सवारीसाधन आगजनी र तोडफोड भएपछि कतिपय कर्मचारी सवारीविहीन हुन पुगेका छन् । उनीहरूले वैकल्पिक उपाय अपनाउन थालेका छन् । ‘गाडी नभएपछि सिंहदरबारकै कैयौँ सहसचिवहरू पठाओ, इनड्राइभ र याङ्गोलगायतका राइड सेयरिङका सवारीको प्रयोग गर्न थालेका छौँ,’ एक सहसचिवले नयाँ पत्रिकासँग भने ।