
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले थुप्रै क्षति गराएको छ। देशभरका अधिकांश सार्वजनिक सम्पत्तिमाथि आगजनी र तोडफोड भए । आन्दोलन मथ्थर भएपछि सडक विभागले आफ्नो क्षतिको विवरण सार्वजनिक गरेको छ।
जसमा महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखामा क्षति भएको जनाएको छ। त्यस्तै, वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरू, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरू, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरू, प्रशासन शाखा, उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरू र आर्थिक प्रशासन शाखा पूर्ण रूपमा क्षति भएको विभागको ठहर छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुंगा सुरुङमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरू, कानुन तथा विवाद व्यवस्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयको आंशिक क्षति भएको विभागले जनाएको छ।
त्यस्तै, सडक विभागमा दुईपांग्रे करिब ७५-८० वटा, चारपांग्रे करिब ६५-७० वटा पूर्ण रूपमा क्षति भएको छ भने सडक विभागमातहतका कार्यालयमा दुईपांग्रे करिब ९-१२ वटा, चारपांग्रे करिब २५-३० वटा पूर्ण रूपमा क्षति भएको छ । सडक विभागमातहतका कार्यालयमा सडक डिभिजन भक्तपुर, दाङ, चन्द्रपुर, महेन्द्रनगर-धनगढी साइट अफिस, हुलाकी आयोजना (धनगडी साइट अफिस) पूर्ण रूपमा क्षति भएको देखिन्छ ।