
महालक्ष्मी विकास बैंकको पोखरा शाखाबाहेक अन्य सम्पूर्ण शाखा पूर्ण रूपमा सञ्चालनमा आएका छन् । बैंकले लेकसाइड, पोखरा शाखाबाहेक अन्य सम्पूर्ण एक सय दुई शाखा कार्यालयका साथै सम्पूर्णमा डिजिटल सेवा सुरक्षित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
बैंकले लेकसाइड शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ सेवा नजिकको शाखा कार्यालयमार्फत लिन सकिने जानकारी गराएको छ । ‘यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनामा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ बैंकले भनेको छ ।
उक्त घटनामा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति बैंकले दुःख प्रकट गरेको छ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।