
यो एउटा पोखिनुपर्ने आक्रोश थियो– पोखियो । ०४६ पछि धेरै वितृष्णा थिए । म पनि तिनै वितृष्णा र बिचमा निस्किएका द्वन्द्वसँगै हुर्किएको एउटा नेपाली नागरिक हुँ । ठुलो परिवर्तन हुनु आवश्यक थियो, भयो । तर, यो पनि भुल्नुहुन्न कि यो परिवर्तन ०४६ को परिवर्तनकै देन हो । आजको लोकतन्त्र नै हो ०४६ को देन हो भन्दा फरक पर्दैन ।
ठुला–ठुला परिवर्तनमा मानवीय र भौतिक क्षति हुनु अस्वाभाविक होइन, तर निर्दोष दर्जनौँ बालक र युवा मारिनु भने तत्कालीन राज्य नेतृत्वकर्ताको क्रूरता र बर्बरता नै हो । र, अर्कातर्फ नेतृत्व गरिरहेकाहरूले घुँडा टेकिसकेपछि यति धेरै राष्ट्रिय सम्पत्ति ध्वस्त पारिनु, दस्तावेजलाई निमिट्यान्न गरिनुचाहिँ अत्यन्त दुःखद हो । यस घटनाले मुलुक कहीँ कतै गलत दिशातर्फ डोरिने त होइन भन्ने शंका पनि उब्जाएको छ । किनकि राज्यसञ्चालनका लागि अत्यावश्यक महत्वपूर्ण सम्पदा ध्वस्त भएका छन् ।
मेरा दुई सन्तान पनि यही जेनेरेसनका हुन् । पटक–पटक सोध्छन्– तपाईं कुनै पार्टीसँग सम्बद्ध त हुनुहुन्न नि ? यदि हुनुहुन्छ भने छाडिहाल्नुस्, वकालत नगर्नुस् । मैले उनीहरूलाई जवाफ दिएको छु– म विदेशमा काम गरिरेहेको एक नेपाली अनुसन्धानकर्ता हुँ । म कुनै पार्टीको कार्यकर्ता होइन । विगतलाई मैले सम्झन थालेँ, हाम्रो समयमा जेनेरेसन वर्गीकारण थिएन । मैले खोज्दै जाँदा म जेनेरेसन ‘एक्स’मा पर्दोरहेछु । हामीले पनि परिवर्तन देख्यौँ । पञ्चायती व्यवस्था, राजासहितको बहुदलीय प्रजातन्त्र र पछि आएर गणतन्त्र । यिनै परिवर्तनबिच यो पंक्तिकार हुर्किएको हो ।
विज्ञानको विद्यार्थी भएर पनि प्रविधिको प्रयोग भने हाम्रा लागि नितान्त सपना थियो । मैले १९९९ मा एमएस्सी सकुन्जेल कम्प्युटर छुन पाएको थिइनँ । इन्टरनेट प्रणाली के हो, सुनिएको थियो तर प्रयोग गर्ने अवसर मिलेको थिएन । हामी कल्पना गथ्र्यौँ कुनै वेला, मानिसको हातहातमा मोबाइल हुन्छ । मोबाइल आयो, हामी कल्पन्थ्यौँ, कुनै दिन मानिसले आफ्नो अनुहार हेरेरै मोबाइलमा कुरा गर्छन् ।
उति वेला हाम्रा सपना पनि अलग थिए । प्रविधिसँगको पहुँच हामीसँग थिएन । विश्व सञ्जालमा हामी जोडिन सकेका थिएनौँ । विज्ञान, प्रविधि र सञ्चारको प्रभाव हामीसँग दुर्लभ थियो । यो अवस्था यही जेनेरेसनका मेरा छोराछोरीलाई सुनाउँदा, अचम्म मान्छन्, दन्त्यकथाझैँ ठान्छन् । समय अहिले यति द्रुतगतिमा बदलिएको छ कि आहिलेका जेनेरेसनको सोच र आशा नै हामीभन्दा धेरै फरक छ । उनीहरूको सम्बन्ध स्मार्ट प्रणालीसँग गाँसिएको छ । एआईसँग जोडिएको छ । अन्तरिक्ष युगवरिपरि घुमेको छ ।
अब पनि मुलुकको राजनीतिलाई स्थिर बनाएर, समृद्धिको गति नपक्रने हो भने र पुरानै अवस्था सिर्जना गरेर नेतृत्वमा पुरानै पद्धति सुरु भयो भने त्यो मुलुकका लागि दुर्भाग्य साबित हुनेछ
राज्य नेतृत्व गरेको पुरानो पुस्ताले अहिलेको द्रुत परिवर्तनलाई नजिकबाट बुझेका छैनन् । हाम्रो पुस्ता भने परिवर्तनको साक्षी हो, तर परिवर्तनसँगै हुर्किएको पुस्ता भने होइन । यो आन्दोलनमा सहभागी भएको पुस्ता स्मार्ट र एआई प्रविधिको विकाससँगै हुर्किएको पुस्ता हो, यसैकारण पनि उनीहरूको सपना हाम्रोभन्दा अलग छ, फरक छ ।
विश्वले काँचुली फेीरसक्यो । विज्ञान र प्रविधिको विकास त परै छाडौँ, भविष्य निर्धारण गर्ने सन्दर्भमा समेत हाम्रो शिक्षा प्रणाली पनि आसलाग्दो छैन । हामी अझै कैयौँ दशकअघिकै परिस्थितिमा रुमल्लिइरहेका छौँ । म विज्ञानमा अभिरुचि भएको मान्छे, आफ्नो सपना पूरा गर्ने आधार उति वेला पनि बन्न सकेन, अहिले पनि उही अवस्थामा छ भने यो समयका युवाले त पक्कै सहने भएनन् । भला, सीमित परिवर्तन भए होलान्, तर कटु यथार्थ यही हो ।
मेरै पुस्ता पनि विगत तीन दशकयतादेखि पटक–पटक राज्यसञ्चालनमा देखिएका एउटै अनुहार र उही कार्यशैलीबाट वाक्कदिक्क भएको हुनुपर्छ । आसैआसमा हामीले पनि लामो समय बिताएका छौँ । तर, आजसम्म मुलुकमा भएका परिवर्तनलाई नकारात्मक रूपमा भने हेरिनुहुन्न । सकारात्मक पक्ष पनि छन् तिनका ।
लोकतान्त्रिक व्यवस्थामा पार्टी महŒवपूर्ण हो, प्रजातन्त्रको सही अभ्यासका लागि । हरेक पार्टी र तिनका नेता जनतासामु उत्तरदायी हुनुपर्छ । राष्ट्र र राष्ट्रियताका लागि सदैव अघि सर्नुपर्छ भन्ने मेरो बुझाइ हो । राज्यको नेतृत्व गर्न युवापुस्ता अनिवार्य सहभागी हुनुपर्छ, त्यसका लागि पार्टी ‘प्लाटफर्म’ हुन सक्छ, तर नेतृत्वमा गएपछि राजनीति मुलुकको हितमा हुनपर्छ न कि राजनीतिक प्रतिशोध, पद टिकाउ र पार्टीको हितका लागि । तर, राजनीति राष्ट्रका लागि कहिल्यै देखिएन । यसको अर्थ यो होइन– नेताहरू सबै खराब छन् । प्रणाली सही छ, तर अभ्यास गलत भयो ।
अर्को प्रसंग के छ भने, नेपाली नेतृत्व वर्ग विदेश भ्रमणमा आउँदा हेपिने गर्छन्, अपमानित हुने गर्छन्, यसको मुलभूत कारण हो आफ्नो पदीय गरिमा र ‘प्रोटोकल’ भुल्नु । हामी कूटनीतिक रूपमै कमजोर छौँ । विदेश नीति विशेषज्ञताको अभाव छ । छिमेकी मित्र र अलि परका मित्रसँग कस्तो कूटनीतिक व्यवहार गर्ने, कस्तो सम्बन्ध राख्ने र कसरी फाइदा लिने भन्ने स्पष्ट नीति छैन ।
मुलुकमा समयले ल्याएका परिवर्तनबाहेक अन्य अनुभव हामीले गर्न पाएका छैनौँ । दक्ष जनशक्तिको ठुलो हिस्सा विदेशतिरै छ । परिश्रमी हातहरू खाडीमा पसिना बगाउन बाध्य भएका छन् । गाउँघर रित्तिएका छन् । जग्गा–जमिन बाँझो हुँदै गएका छन् । रह्यो विकासको कुरा, सडक आउनु, सञ्चार क्षेत्रमा परिवर्तन हुनु, ठुल्ठुला हस्पिटल बन्नु मेरो बुझाइमा विकास होइन । यो त समयसँगै आएको परिवर्तन हो । मुलुक त्यो वेला समृद्ध हुन्छ जब एउटा सामान्य नागरिकले उपचार नपाई अकालमा मर्नुपर्दैन, तिनका सन्तानले सहज रूपमा गुणस्तरीय शिक्षा पाउँछन् र जीविकोपार्जनका लागि रोजगारी सहज हुन्छ । बलात्कार र हत्याका घटना बढ्दो क्रममा रहेको बारम्बार सुनिन्छन् । नागरिक सुरक्षाको प्रत्याभूति अझै हुन सकेको छैन ।
मुलुकमा आशाभन्दा निराशाले जकडेको अवस्था छ । अर्को कुरा, विदेशलाई गन्त्यव्य बनाउनेको संख्यामा सायद आहिले जेनेरेसन जेडकै युवा ज्यादा होलान् । विश्वका विभिन्न मुलुकको यात्राका क्रम यो पंक्तिकारले यही अनुभव गरेको छ । आवश्यक योजना, नीति र अवसरको निर्माण उनीहरूलाई ध्यानमा राखेर तर्जुमा गर्नुपर्ने थियो, त्यो हुन सकेन । किनकि मुलुकमै रहेर उनीहरूले आफ्ना सपना पूरा गर्ने अवसर अझै देखेका छैनन् । यसैले भर्खरै भएको युवाको आन्दोलन चरम निराशाको भयानक विस्फोटन होभन्दा अत्युक्ति नहोला ।
दर्जनौँ युवाको सहादतबाट भर्खरै भएको परिवर्तन नेपालको इतिहासमा अविस्मरणीय उदाहरण हो, नमेटिने क्षण हो, किनकि नेतृत्वकर्ता सही दिशामा हिँडेनन् भने कुनै दिन उनीहरू लखेटिनेछन् भन्ने ठुलो प्रमाण पनि हो । ठुलो परिवर्तनका लागि सहादत र क्षतिले नै योगदान पुर्याएको हुन्छ, उनीहरूलाई सम्मान दिन र कदर गर्न हामीले कहिल्यै भुल्नुहुन्न ।
ठुल्ठुला क्षति भएका छन् । भएका दस्तावेज खरानी भएका छन् । अमूल्य राष्ट्रिय सम्पदा ध्वस्त भएका छन्, त्यसको जिम्मेवारी कसले लिने ? उत्तर सहज छैन । राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको घाटा पनि हामीले नै व्यहोर्नुपर्छ । कानुनभन्दा माथि कोही पनि छैनन् । क्षति पुर्याउनेहरूलाई कारबाही पनि गरिनुपर्छ ।
घटनाक्रमले मुलुकलाई बर्बर बनाउन कसैले अप्रत्यक्ष रूपमा फाइदा लिइरहेको शंका पनि नगरी रहन सकिँदैन । किनकि ध्वस्त गरिएका सम्पदाले त्यसतर्फ नै इंगित गरेको छ । अहिले मुलुकका हरेक क्षेत्रमा बेथिति छन् । जसले जे गरे पनि हुने अवस्था छ । प्राज्ञिक, वैज्ञानिक र शैक्षिक सबै क्षेत्रको अवस्था चुनौतीपूर्ण छ । यो परिस्थितिबाट मुलुकमा आमूल परिवर्तन हुन सक्छ, तर अवस्था त्यति सहज छैन । अर्को कुरा सही परिवर्तनका लागि सहिद भएका र होमिएका युवाको आवाज कतै ओझेलमा त पर्ने होइन– त्यसतर्फ पनि युवावर्ग सचेत हुनु उत्तिकै आवश्यक छ ।
मुलुक अझै शून्य अवस्थामा छ । जनमानसमा दुवै अवस्था छ, आशाको पनि र शंकाको पनि, राज्यको नेतृत्व कसरी जान्छ भनेर । सँगसँगै ठुल्ठुला चुनौती पनि उत्तिकै छन् । मुलुकलाई गति दिन युवा सहभागिता पनि उत्तिकै आवश्यक छ, र परिपक्व वर्गको पनि । मात्र खाँचो रह्यो कुशल र परिपक्व नेतृत्वको । अब पनि मुलुकको राजनीतिलाई स्थिर बनाएर, समृद्धिका लागि गति नपक्रने हो भने र पुरानै अवस्था सिर्जना गरेर नेतृत्वमा पुरानै पद्धति सुरु भयो भने मुलुकका लागि पक्कै हितकर हुनेछैन । यो अवसरको सही सदुपयोग हुनु जरुरी छ ।
यसैले सचेत युवाको निर्णयले नै अब मुलुकको भविष्य निर्धारण गर्छ । उनीहरूले पक्कै सोच्नेछन् । यसैले मुलुकलाई गति दिन अलमलिने अवस्था छैन, त्यसैले समुन्नतिका लागि प्रतिबद्ध, दूरदर्शी, र स्वच्छ छवि भएकाहरूले अब नेतृत्व सम्हाल्नुपर्छ– यो नै अहिलेको आवश्यकता हो । दर्जनौँ युवाको बलिदान र संघर्षबाट प्राप्त यो अवसर भोलिको इतिहासमा बलियो पाठ बनेर अंकित हुनेछ । युवाको सपना पूरा हुने आधार खडा हुनेछन् । हामीले यही आशा गर्नुपर्छ ।
(डा. कट्टेल चाइना एकेडेमी अफ साइन्स, बेइजिङका वैज्ञानिक हुन् । यो उनको निजी विचार हो ।)