मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
डा. डिबी कट्टेल
२०७७ फाल्गुण १३ बिहीबार १०:१०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जीव उत्पत्तिका परिकल्पना कस्ता थिए ?

पृथ्वी र जीवित प्राणीको उत्पत्तिका सन्दर्भमा व्यवस्थित विचारधारा ३७१ वर्षअघि रेने डेसकार्टेसबाट आएको हो

Read Time : > 5 मिनेट
डा. डिबी कट्टेल
२०७७ फाल्गुण १३ बिहीबार १०:१०:००

मानव संस्कृतिको संसारसँग मानव र अन्य जीवहरूको उत्पत्तिका लागि उन्नत स्पष्टीकरण छन् । पृथ्वीमा जीवन एउटा रहस्य हो– अझै पनि धेरै तथ्य छन्, जो हामीले बुझ्न बाँकी छ । उतिवेला डार्बिनले विकासवादको सिद्धान्त प्रतिपादन गरे पनि पृथ्वीको आयु मापन नहुन्जेल पाश्चात्य विचारधारामा पृथ्वीलगायत जीवनको प्रारब्ध ६–१० हजार वर्षभन्दा पुरानो मानिएको थिएन । रेडियोधर्मी क्षयबाट हुने तापक्रम प्रभावको खोजले पृथ्वी पर्याप्त पुरानो हो भनेर देखायो । जीवविज्ञानीहरू नयाँ विचारका साथ द्रुत गतिमा अघि बढे, जसले आनुवंशिकीको गणितीय अस्थिपन्जरमा देह भर्ने महत्वपूर्ण काम गर्‍यो ।

सौर्यमण्डल, आकाशगंगा र ब्रह्माण्ड अर्बाैं वा हजारौँ वर्ष पुरानो हो भन्ने प्रश्नलाई पन्छाउने हो भने सृष्टिवादीहरू भौतिक ब्रह्माण्ड र जीवित चिजहरूले साधारण जैविक संरचना, जीवाणु नै किन नहोस्, यति जटिल छन् कि तिनीहरू अज्ञात उत्परिवर्तन र प्राकृतिक चयनका प्रक्रियामार्फत विकसित हुन सक्दैनन् भन्ने तर्क राख्छन् । पाश्चात्य अध्यात्म दर्शनमा ब्रह्माण्ड र पृथ्वी केही हजार वर्षपहिले मात्र सृष्टि भएको हो भन्ने सृष्टिवादी विश्वास छ ।

सँगसँगै थप विश्वास के पनि छ भने मानवसहित सबै जीवित वस्तुहरू, जो आज अस्तित्वमा छन्, उही रूपमै धेरै छोटो अवधिमा सिर्जना गरिएका हुन् ।परम्परागत पश्चिमी धार्मिक मान्यताहरू विशेषतः यहुदी र इसाई धर्मले खुट्टा र पखेटा, गिल्स र फोक्सो, पात र फूललाई सृष्टिको महत्वपूर्ण हात दर्साउँदै वनस्पतिलगायत जीवित प्राणीको उत्पत्ति र उनीहरूको वातावरणमा जीवन अनुकूलनको वर्णन गर्छ ।

झन्डै २६०० वर्षअघि ग्रिसका दार्शनिक अनेक्जिमान्डरले पनि सुरुमा मानवजातिको अहिलेको रूपमा उत्पत्ति भएको धारणा राखे । तर, पछि धारणा परिवर्तन गर्दै उनले भने, मानिस आफ्नो रूपमा पृथ्वीमा देखा परेका होइनन् । उनले जनावरले एक किसिमको स्वरूपबाट अर्को प्रकारको रूप परिवर्तन गरेको हुन सक्ने प्रस्ताव गरे । हाम्रो पूर्वज माछाजस्तो प्राणी हुन सक्ने उनको अनुमान थियो । उनको मान्यता थियो, जीवहरू पहिले रसिलो वातावरणमा उत्पन्न भए र त्यसपछि सुक्खा क्षेत्रमा फैलिए ।

अनेक्जिमान्डरको झन्डै एक शताब्दीपछि, एम्पेडोकल्स नामका दार्शनिकले नवीन वैज्ञानिक दृष्टिकोणका साथ लिखित पुरातन ग्रिक दर्शनलाई प्राकृतिक चयनको सिद्धान्तमार्फत प्रभावित पारे । उनले पृथ्वीको सुरुवाती समयलाई विचित्र प्राणीहरू, जस्तै– मानव टाउका भएका जनावरहरू, काँधविनाका पाखुराहरू र सबै प्रकारका राक्षसी प्राणीको संसारका रूपमा चित्रण गरे ।

अनौठो जीवनशैलीका प्राणी लोप भइसकेको ठान्दै एम्पेडोकल्सले राम्रा मात्र अनुकूलित भएर बाँचेको विचार अघि सारे । एम्पेडोकल्सले जीवको संरचना पूर्वअस्तित्वमा रहेका विभिन्न भाग मिलेर बनेको अनुमान गरे । यो एउटा प्राकृतिक चयनको एक अपरिपक्व सिद्धान्त थियो । उनलाई यस प्रक्रियाले पूरै नयाँ प्रजातिको विकास हुन सक्छ भन्ने थाहा थिएन । उनले यति मात्र सोचे कि यो धारणा सनकी जीवहरूलाई हटाउन सञ्चालन गरिएको एउटा मान्यता मात्र हो ।

पृथ्वीमा जीवनका सन्दर्भमा, विशेषगरी परमाणुवादी वा सूक्ष्मवादका अनुमानहरू रोमन कवि टाइटस लुक्रेटियसद्वारा आफ्नो पाचाैँ पुस्तक ‘वस्तुहरूको प्रकृति’मा पुनस्र्थापित गरेका थिए । यो झन्डै २१०० वर्षपहिलेको कुरा हो । तर, प्रारम्भिक परमाणुवादीका स्थापित दृष्टिकोणलाई, पछिल्लो मूलधारका प्लेटोनिक, नव–प्लेटोनिक, एरिस्टोटेलियन र स्टोइक दार्शनिक परम्पराले भने समर्थन गरेनन् ।

२३०० वर्षपूर्वका प्लेटोका लेखहरू, मुख्यगरी ‘टिमायस’ अत्यन्तै प्रचलित छ, जुन सृष्टि मिथकको लामो रचना पनि हो । ल्याटिन पश्चिमी परम्परामा निरन्तर उपलब्ध यो लेख एक मात्र परमाणुवादी परम्पराविरुद्ध प्लेटोनिक संवादमार्फत गरिएको गैरशास्त्रीय प्रभावशाली तर्कको स्रोत हो । वास्तवमा नव–प्लेटोवादको जैविक प्राणीलाई उनीहरूको उत्पत्तिमा वा उनीहरूको जटिल संरचनाको विकासमा संयोगजस्तो प्रक्रियाद्वारा वर्णन गर्न सकिँदैन भन्ने मान्यताको परम्परा निकै लामो समयसम्म कायम भयो ।

झन्डै २२०० वर्षअघिका, विशेषगरी ग्रिक चिकित्सक क्लौडियस ग्यालेनसका प्रभावशाली लेखमा विकसित भएझैँ जीवन विज्ञानको लामो सम्पदा तर्कसंगत नमुनाको प्रमाणका रूपमा शरीर रचना विज्ञानमा निर्भर थियो । यी ‘टेलियोलोजिकल डिजाइन’अन्तर्गतका व्याख्याले शास्त्रीय मान्यतामा समावेश सृष्टिको अवधारणासँग जटिल अन्तर्क्रिया गर्‍यो । जबसम्म पूर्व–अस्तित्वमा रहेका पदार्थको उत्पत्तिमा एक ‘बुद्धिमान अभिकृत्व’ नभई ‘विकासवाद’ले भूमिका खेल्छ भनेर डार्बिनले नभनुन्जेल ‘टेलियोलजी’को यो एक सामान्य अर्थले बारम्बार विकासको बहसमा सामना गर्नुपर्‍यो ।

१८औँ शताब्दीको मध्य अवधिलाई जैविक विकासको सिद्धान्तले प्रभुत्व जमाएको समय मान्न सकिन्छ, किनकि यो समय प्रजातिको प्राकृतिक विकासको प्राचीन अवधारणालाई विस्थापित गर्ने समयको रूपमा रह्यो 
 

प्राकृतिक प्रगतिले जीवहरू परिवर्तन हुन सक्छन् भन्ने धारणा सामान्यतया मध्ययुगका क्रिस्चियन विद्वान्, जस्तै– अल्बर्टस म्याग्नस (१२००–१२८०) र उनका विद्यार्थी थोमस अक्विनसले (१२२३–१२७४) राखेको मानिन्छ । अक्विनसले विस्तृत बहसबाट किरा र झिँगाजस्ता जीवित प्राणीको विकास कुहिएको मासुजस्ता निर्जीव पदार्थबाट हुन्छ भन्ने निष्कर्ष निकाले, तर यो मान्यता धार्मिक विश्वास वा दर्शनसँग मेल नखाने थियो ।

पृथ्वी र जीवित प्राणीको उत्पत्तिको सन्दर्भमा व्यवस्थित विचारधारा ३७१ वर्षअघि रेने डेसकार्टेस (१५९६–१६५०) द्वारा प्रस्तुत प्राकृतिक दर्शन र आध्यात्मिकताको संश्लेषणबाट आएको हो । डेसकार्टेसले समानतासँगै परमाणुवादी अनुमानबाट प्रमुख भिन्नता देखाउँदै पृथ्वी र जीवनको व्यख्या गरेका थिए, जुन उनको १६६४ मा प्रकाशित ‘प्रिन्सिपिया दर्शनशास्त्र’ मा उल्लेख गरिएको छ । तर, डेसकार्टेसको मुख्य कमजोरी भन्नु नै जीवित प्राणीको उत्पत्तिलाई सृष्टिको प्राकृतिक कथामा प्राकृतिक नियमद्वारा प्रभाव पार्छ भन्ने मुख्य कुरालाई सम्बोधन नगर्नु नै हो । वास्तवमा उनले सामान्य प्राकृतिक दर्शन र जीवित प्राणीको भ्रूण गठनको सम्बन्धबारे मात्र व्याख्या गर्ने प्रयत्न गरेका थिए ।

सन् १६८१ मा अंग्रेज पादरी थोमस बर्नेटले ईश्वरीय कार्यको माध्यमबाट प्रत्यक्ष रूपको जीवन सृष्टिको सट्टा प्रधान ‘एदन’को संसारको व्यख्या गरे । यो मान्यतासँगै बर्नेटले पहिलोपटक कार्टेसियन शैलीको प्रकृतिको विकास इतिहासको शाब्दिक व्याख्या गरे, जसमा जीवित रूपको उत्पत्ति पनि समावेश थियो । सन् १७४४ मा महान् प्रकृति वैज्ञानिक कार्ल लिन्नियसले ईश्वरमार्फत सुरुमा केही टापुमा जीवका केही प्रजातिको उत्पत्ति भएको धारणा आघि सरे ।

समयको अन्तरालमा अस्तित्वमा आएका यी प्रजातिले हस्तक्षेप गर्दै, नयाँ वर्णशंकरहरू उत्पादन गर्दै गए, फलस्वरूप पृथ्वीमा प्रजातिको धेरै फराकिलो शृंखला बन्न पुग्यो । प्रजातिहरूको उत्पत्तिको मुद्दामा पनि १७औँ शताब्दीमा जीव रूपको स्वतःस्फूर्त पुस्ताको सञ्चालन सम्भावनाबारे पनि धेरै बहस भएका थिए ।

फ्रान्सेस्को रेडी (१६२६–६७) द्वारा जीवोत्पत्ति सन्दर्भमा प्रसारित मूल सिद्धान्तको प्रयोगात्मक खण्डनले थोमस बर्नेटले प्रस्ताव गरेको धारणा कमजोर त भयो, तर नष्ट भने भएन । रेडीले स्वतःस्फूर्त पुस्ताको वा पिँढीको विकासका सन्दर्भमा नयाँ विचार अघि सरेका थिए । सहज वा स्वतःस्फूर्त पिँढीको प्रमाणका लागि अगस्टिनको पूर्व–अस्तित्वका ‘बिउ’ र ‘कीटाणु’ को सिद्धान्तको प्रसंग यहाँ उल्लेख छ ।

विश्वमा चरा र स्तनपायी जन्तुको पुस्ताका बारेमा विस्तृत अनुसन्धान गर्ने वैज्ञानिक विलियम हार्वे (१५७८–१६५७) हुन् । अनुभवी हार्वेले गरेको विस्तृत अध्ययन १६५१ मा ‘पशुको पुस्ताको अवलोकन’ पुस्तकमा प्रकाशित भएको थियो । यो पुस्तकमा मुख्य गरी आकस्मिकतालाई प्रमाणित गर्ने प्रयत्न गरिएको छ । हार्वेको अध्ययनले मैथुनिक पिँढीको एरिस्टोटेलियन आकृति वा रूप–पदार्थ सिद्धान्त र समान पुरुष र महिला वीर्यको धारणामा आधारित प्रतिद्वन्द्वी ‘दुई–बीज’ सिद्धान्तलाई, अनुभवजन्य आधारमा खण्डन र दाबी दुवै गरेको छ ।

यो सिद्धान्तलाई पुरातन परमाणुवादीहरू, ग्यालेनिक र हिप्पोक्रेटिक औषधीय सिद्धान्तवादीहरूले अँगालेका थिए । दुई–बीज सिद्धान्तलाई पियरे ग्यासेन्डी (१५९२१६५५) र नथनेल हाइमोर (१६१३–८५) जस्ता प्रारम्भिक आधुनिक परमाणुवादीले पनि स्विकारेका थिए । फलतः डेस्कार्टसको भ्रूण गठनबारे गरिएका अनुमानपछि उपहासको विषय बन्न पुगे । अर्थात् हार्वेको सन् १६५१ को विस्तृत भ्रूण अनुसन्धानले यी दाबीलाई खण्डनसमेत गरेको थियो । वास्तवमा भन्ने हो भने डेसकार्टेसद्वारा प्रस्ताव गरिएको समाधानको समर्थन गर्ने कुनै पनि लेखक भेट्टाउन गाह्रो छ ।

जीव विकासका सन्दर्भमा पूर्वअस्तित्वको सिद्धान्त प्रचलित सिद्धान्तमा पर्छ । यो सिद्धान्तको कम्तीमा तीन रूपहरू छुट्याउन सकिन्छ । दुई रूपले या त महिलाको अन्डाशय वा सन् १६७७ मा एन्टोन भ्यान लिउवेनहोइकले शुक्राणु पत्ता लगाएपछि पुरुषको वीर्य कोष, अत्यन्तै सूक्ष्म वा लघु जीवको पूर्व–अस्तित्वको रूपमा व्यख्या गर्छ । ‘सुधारवाद’का यी दुई संस्करणहरू सामान्यतया १६७०–१७४० को अवधिको व्यावसायिक चिकित्सा र स्त्रीरोगसम्बन्धी साहित्यमा व्यक्त गरिएका मुख्य विकल्प थिए ।

तेस्रो रूप, जसको १७औँ र १८औँ शताब्दीको सुरुमा थोरै मात्र अनुयायी थिए । ‘कीटाणु’ वा ‘रोगाणु’को सिद्धान्तका रूपमा चिनिएको यो मान्यता सन् १७७० को दशकमा अत्यन्तै लोकप्रिय भयो । यो क्लाउड पेरौल्टको व्याख्यानपछि प्रचलनमा आयो । पेरौल्ट सिद्धान्त अगस्टिनियन वर्णनसँग मिल्दोजुल्दो छ । अर्थात् जीवको पहिलो आदिम मूल सृष्टिमा बिउ माटोमा छरिएपछि सुरु हुन्छ । उचित अवस्थामा र सही जीवभित्र खाने क्रममा यी ‘कीटाणु’ अन्डाशयमा पुग्छन् र निषेचनको प्रतिक्रियामा यिनीहरू विकसित हुन पुग्छन् । ती सिद्धान्तले निषेचनको कार्यले समयमै जीवहरूको विकासका लागि महत्वपूर्ण अवसर प्रदान गरेको व्यख्या गर्छ ।

पूर्वअस्तित्वको सिद्धान्तले संरचना र प्रकार्यको आत्मीय अन्तरसम्बन्धको व्याख्या गर्‍यो, जसले एक एकीकृत प्रणालीका लागि जीवको अंशको अस्तित्व आवश्यक पर्छ भन्ने विचार अघि सार्छ । सम्पूर्ण जीव पूर्वअस्तित्वमा भएकै हुनुपर्छ भन्ने मान्यता ऐतिहासिक बहसले पनि देखाउँछ ।

१७औँ शताब्दीमा भएका बहस ईश्वर शास्त्रीय घटनाक्रमसँग मिल्दोजुल्दो छ । वास्तवमा भ्रूण मूलको यी पूर्वअस्तित्व सिद्धान्तले प्रजाति रूपान्तरणवादको प्रश्नलाई प्रत्यक्ष असर गर्‍यो । सर्वप्रथम, तिनीहरूबाट स्थानीय परिस्थिति र वातावरणीय अवस्थाको प्रभावबाट जीवलाई पृथक् गरियो । दोस्रो, ती सबैले प्रजातिको उत्पत्तिलाई मुख्य मुद्दा बनाए पनि वर्णन भने ईश्वरीय सृष्टिको मान्यतामा आधारित थिए ।

सन् १६७० देखि १७४०को अवधिमा वंश वा दर पिँढी वा पुस्ताको पूर्वअस्तित्व सिद्धान्तका विभिन्न मान्यताको प्रभुत्वले प्रजातिको उत्पत्तिको सन्दर्भमा विकासवाद सिद्धान्त विकास गर्न प्राकृतिक दार्शनिकको बीचमा एउटा अपवादबाहेक प्रयासको अभाव रहेको स्पस्ट देखिन्छ । फ्रान्सेली समुदायमा १० वर्षसम्म प्रचलित ‘एपिक्युरियन ब्रह्माण्ड विज्ञान’ जुन लुक्रेटियसको कविताका केही पक्षसँग मिल्दोजुल्दो छ, जुन बेनोइट डे मेललेटले (१६५६–१७३८) ‘टेलिमेड’मा प्रकाशन गरेका थिए । यसमा डे मेललेटले समुद्री प्राणीहरू कसरी समयसँगै भूमिमा बस्ने जीवको रूपमा विकसित भए भन्नेबारे उत्साहजनक अनुमान प्रस्तुत गरेका थिए । 

१८औँ शताब्दीको मध्य अवधिलाई जैविक विकासको सिद्धान्तले प्रभुत्व जमाएको समय मान्न सकिन्छ । किनकि यो समय प्रजातिको प्राकृतिक विकासको प्राचीन अवधारणालाई विस्थापित गर्ने समयको रूपमा रह्यो । पदार्थको ‘निष्क्रिय’ अवधारणाको सट्टा ‘सक्रिय’ सिद्धान्तको व्यख्यासँगै वैज्ञानिक रूपान्तरणवादको विकास घनिष्ट रूपमा पुस्ताको नयाँ सिद्धान्तसँग जोडिएको हुन्छ भन्ने मान्यता यसै वेला अगाडि आयो ।

सन् १७९४मा डार्बिनले जैविक जीवनको नियमको दोस्रो खण्ड प्रकाशित गर्दै गतिशील जीवित पदार्थको अवधारणाको आधारमा प्रजातिको विकासको सिद्धान्त प्रस्ताव गरेका थिए । भौगोलिक इतिहासको सम्बन्धमा गरिएका प्रजाति रूपान्तरणवादको यिनै प्रतिबिम्बले सायद चाल्र्स डार्बिनको ‘विकासवादको सिद्धान्त’ जन्मनुमा भूमिका खेलेको हुनुपर्छ ।