
जेन–जीको आन्दोलन र त्यसपछि बिग्रिएको शान्ति सुरक्षाकालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिराहाले गत मंगलबारदेखि निरन्तर लगाउँदै निषेधाज्ञा–कफ्र्यु शनिबार बिहानदेखि हटाइएपछि स्थानीय हाटबजारमा चहलपहल बढेको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन गुड्न थालेका छन् ।
सिराहाको मुख्य व्यापारिक क्षेत्र मानिने लहान, मिर्चैया, गोलबजार, सिराहा सदरमुकामलगायतका ठाउँमा हाटबजार, पसल खुलेका छन् भने पूर्व–पश्चिम लोकमार्गमा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक ट्रक चल्न थालेका छन् ।
जिल्ला प्रशासनले निषेधाज्ञा भए पनि शुक्रबार दिउँसो तराई मधेशका महिलाले मनाउने सांस्कृतिक पर्व जितियालाई मध्यनजर गर्दै तीन घण्टा बजार खुला गरी अवस्था केही खुकुलो बनाएको थियो । तराई मधेशका जिल्लामा महिलाले शनिबारदेखि सोमबारसम्म सांस्कृतिक पर्व जितिया मनाउँदै छन् ।
गत मंगलबारदेखि नै ठप्प रहेका जिल्लास्थित सरकारी कार्यालय, संघ–संस्था, प्रतिष्ठानहरू आइतबारदेखि खुल्ने भएका छन् । सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शनिबार सूचना जारी गर्दै जिल्लाको समग्र कार्यप्रणाली र सेवा प्रवाहलाई सेवाग्राहीमैत्रीपूर्ण तरिकाले सम्पादन गर्न सबै कार्यालय प्रमुखहरूले अहोरात्र, इमानदार र प्रभावकारी ढंगले काम गर्न आग्रह गरेका छन् ।
कार्यालयको सेवा प्रवाहलाई आइतबारदेखि सम्भव भएसम्म सञ्चालन गर्न तथा त्यसका लागि एक कार्यालयले अर्को कार्यालयलाई सहयोग पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै सूचनामार्फत उनले सम्पूर्ण कर्मचारी आ–आफ्नो कार्यालयमा उपस्थित भई सेवा प्रवाह गर्न जानकारी गराइएको छ ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड गरिएका सरकारी कार्यालयमा विद्युत् तथा सञ्चार सेवा सुचारुका लागि शनिबार लहान, मिर्चैया र सिराहास्थित नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका प्रमुखसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । ‘तोडफोड र आगजनीका कारणले विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका कार्यालयले सेवा सुचारुका लागि टेलिकम र प्राधिकरणमा निवेदन दिन आग्रह गर्दछु,’ उनले भने ।