मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा पनि कर्फ्यु, उग्र बन्दै आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १३:o४:oo

जिल्ला प्रशासन कार्यालय सिराहाले मंगलबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सिराहा, मिर्चैया, गोलबजार र लहान नगरपालिकाको बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कर्फ्यु आदेश जारी गर्दै जिल्लाको मिर्चैया नगरपालिकाको पूर्व चोहर्वा, पश्चिम मल्हनियाँ, उत्तर फूलबरिया र  दक्षिण बलुवा टोल, गोलबजार नगरपालिकाको पूर्व गागन खोला, पश्चिम चोहर्वा, उत्तर सैनिक चोक र दक्षिण कसहा सडकसम्म कर्फ्यु लगाइएको छ ।

 त्यस्तै, सिराहा नगरपालिकाको पूर्व शिवचोक, पश्चिम बरबिट्टा, उत्तर गुलरिया चोक र दक्षिण मखनाहा चोकसम्म र लहान नगरपालिकाको पूर्व बलान पुल, पश्चिम भोटिया टोल, उत्तर खुट्टी खोला र दक्षिण कसहा कालाबञ्जरसम्म कर्फ्यु  आदेश दिइएको छ । 

उग्र बन्दै आन्दोलन

जिल्ला प्रशासन कार्यालय सिराहाले मंगलबार बिहान विरोधका कार्यक्रम गर्दा जिल्लाका सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने गरी तथा आमनागरिकको अमनचयनमा खलल नपुग्ने गरी गर्न आग्रहसहितको सार्वजनिक अपिल जारी गरे लगत्तै लहान, गोलबजार, मिर्चैयालगायतका ठाउँहरूमा आन्दोलनकारीले सरकारी भवनलगायतका संरचनामा तोडफोड गरेका छन् । 

लहान नगर प्रहरीको भ्यान, नापी कार्यालय, मालपोत, लहान नगरपालिका, प्राविधिक शिक्षालय, डिभिजन वन कार्यालयलगायतका निकायहरूमा आन्दोलनकारीहरूले मंगलबार बिहान करिब ११ बजेतिर तोडफोड र आगजनी गरेका छन् । 

आन्दोलनकारीहरूले गोलबजार नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीपछि फैलिएको आगोले सर्वसाधारणको घरमा पनि आगो लागेको पत्रकारसमेत रहेका स्थानीय आशिष विश्वकर्माले बताए । उनका अनुसार प्रदर्शनकारीहरूले नेकपा एमालेका संघीय सांसदसमेत रहेका चोहर्वा घर भएका लीलानाथ श्रेष्ठ, उनका भाइ गोलबजारका मेयर श्यामकुमार श्रेष्ठको घरमा पनि तोडफोड गरेका छन् ।