मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

मानवीय क्षतिभन्दा भौतिक संरचनाको सुरक्षामा चिन्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:o५:oo

जेन–जी पुस्ताको प्रदर्शनमा भएको १९ जनाको मृत्यु र बर्बर दमनको नैतिक जिम्मेवारी लिनुको सट्टा प्रधानमन्त्री केपी ओली अरूलाई नै आरोपित गर्दै पन्छिने प्रयास गरेका छन् । सोमबार साँझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भएको बताएर नैतिक जिम्मेवारीबाट पन्छिएका छन् । जबकि घटनाको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री रमेश लेखकले भने राजीनामा गरेका छन् । 

‘जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भयो,’ प्रधानमन्त्री ओलीको वक्तव्यमा छ । 

सुरक्षाकर्मीबाट अत्यधिक र अनावश्यक बल प्रयोग हुँदा धेरै मानवीय क्षति भए पनि प्रधानमन्त्री ओलीले संवैधानिक संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको जिकिर गरेका छन् । ओलीले वक्तव्य मानवीय क्षतिभन्दा भौतिक संरचनाको सुरक्षालाई मुख्य बनाएका छन् । ‘जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौँ । तर, प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरूका कार्यालयहरूमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरू भए र ती संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो,’ उनले भनेका छन्, ‘आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरूले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नुपर्ने स्थिति उत्पन्न भयो ।’

भ्रष्टाचारको नियन्त्रण र सुशासनका लागि जेन–जीले सोमबार देशैभरि प्रदर्शन गरेका हुन् । तर, प्रधानमन्त्रीको वक्तव्यमा सामाजिक सञ्जालको विषयमा मात्र उल्लेख छ । भ्रष्टाचार नियन्त्रणबारे प्रधानमन्त्री केही बोलेका छैनन् । 

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको दाबी गरेका छन् । ‘राज्यको कानुन र अदालतको आदेशबमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचीकरण गरी व्यवस्थित रूपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबिच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नेछ । यसका लागि प्रदर्शन गरिरहनुपर्ने थिएन । र, गरिरहनुपर्ने स्थिति रहन दिइनेछैन,’ उनले भनेका छन् । 

ओलीले प्रदर्शनको क्रममा नागरिकहरूले ज्यान गुमाउनुपरेकोमा अत्यन्तै दु:खी भएको बताएका छन् । ‘यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनुभएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्नेछ र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्नेछ,’ ओलीले भनेका छन्, ‘आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारणसमेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरू हुन नदिन चालिने कदमहरूको सिफारिससमेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु ।’