
काठमाडौं महानगरपालिकाले जेन–जीको प्रदर्शन स्थलमा घुम्ती शौचालय राखिदिएको छ ।
नयाँ पुस्ताका युवाहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरिरहेकाहरूको सुविधाका लागि महानगरपालिकाले नि:शुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
अहिले युवाहरू भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय झन्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेन–जी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक)लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
उनीहरूको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् ।
जेन–जीले काठमाडौं उपत्यकाबाहिरका रुपन्देही, दाङलगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।