
डुडुवा गाउँपालिका– ६, लुहारनपुर्वाका अहमद कादरी बाँकेमा फस्टाउन सक्ने व्यवसायको खोजीमा रहँदा विभिन्न व्यावसायिक क्षेत्रको सर्वेक्षण गरेर कुखुरापालन व्यवसाय रोज्न पुगे । ०७२ सालमा एक हजार चल्लाबाट व्यवसाय सुरु गरेका उनीसँग अहिले ६० हजार कुखुरा र वातानुकूलित तीनवटा खोर छन् ।
एक लाख रुपैयाँबाट सुरु गरेको कुखुरा व्यवसायमा अहिले उनको आठ करोड लगानी छ । उनले भने, ‘सुरुमा लगानी डुब्छ कि भन्ने डर लागेको थियो । काम गर्दै जाँदा अनुभव भयो । सोचेजस्तो फाइदा नभए पनि घाटा भएन र लगानी बढाउँदै जान मन लाग्यो ।’
डुडुवा गाउँपालिका– ६, लुहारनपुर्वामा पोल्ट्री फार्ममा चल्लालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार तयार गरेका उनले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँको कारोबार गरेको बताए । ‘व्यवसायलाई व्यवस्थित बनाउन लगानी बढाउँदै जाँदा कुल लगानी आठ करोड रुपैयाँ पुगेको छ,’ उनले थपे ।
चल्लाको खोरमा दाना र पानी खुवाउने स्वचालित प्रविधि जडान गरेका छन् । उनले भने, ‘मेसिन जडान भएपछि कुखुरामा रोग सर्ने खतरा पनि कम भएको छ । जनशक्ति र समयको समेत बचत भएको छ ।’ उनले कुखुरासँगै भैँसी, माछा र बाख्रापालन पनि गरेका छन् । १४ वटा मुर्रा भैँसी र एउटा मुर्रा जातको राँगापालन गरेका छन् । तीमध्ये सातवटाले दुध दिने गरेको उनले बताए । ‘दैनिक ५० लिटर दुध बजारमा पठाउँछु ।
प्रतिलिटर सय रुपैयाँका दरले बिक्री भइरहेको छ,’ उनले भने । त्यस्तै, उनले पाँचवटा पोखरीमा ४० हजार माछा र ७० वटा उन्नत जातका बाख्रापालन गरेको बताए । ‘एकैसाथ धेरै व्यवसाय गर्न सकिने लागेपछि फरक–फरक ठाउँमा फरक–फरक व्यवसाय गरेको छु,’ उनले भने ।
खुला सीमाका कारण भारतीय कुखुरा सहजै भित्रिँदा नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री गर्न समस्या परेको उनले गुनासो गरे । भारतीय कुखुराको मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनले बताए । ‘भारतीय कुखुराको मूल्य नेपालको तुलनामा प्रतिकिलो सय रुपैयाँ फरक पर्छ । बाँकेका अधिकांश मासु पसलमा भारतीय कुखुरा पुग्छ,’ उनले भने, ‘सस्तो पर्ने भएपछि यहाँका मासु पसलले तस्करी भएको कुखुराको मासु बिक्री गर्छन् । भारतमा सस्तो भएपछि बिक्री गर्न बाध्य भएर मूल्य घटाउनुको विकल्प रहँदैन ।’ प्रशासनले प्रयास गर्दासमेत नरोकिएपछि व्यवसायीहरू कुखुरा तस्करी रोक्न आफैँ मैदानमा उत्रिने गरेको कुखुरा व्यवसायी मञ्च बाँकेका उपाध्यक्षसमेत रहेका कादरीले बताए ।