
अगस्ट २१ मा आयोजित तथाकथित ‘मार्च फर अष्ट्रेलिया’पछि धेरै पर्यवेक्षकले अस्ट्रेलिया गम्भीर मोडमा पुगेको बताइरहेका छन् । आप्रवासीविरुद्ध लक्षित त्यस र्यालीले उग्रदक्षिणपन्थी राजनीतिलाई सामान्यीकरण गरेको र राजनीतिक हिंसाको नयाँ युग सुरु भएको संकेत गरेको विश्लेषण भइरहेको छ ।
घटनाको स्पष्ट नश्लवादी चरित्र र नवनाजीको प्रभावलाई ध्यानमा राख्दा यो व्याख्या पूरै गलत भने होइन । तथापि, ‘मार्च फर अस्ट्रेलिया’लाई एकपटकको ‘अपवाद’का रूपमा प्रस्तुत गरिनुहुँदैन ।र्यालीको यो खालको चित्रणले अस्ट्रेलियालीहरूलाई यो अवस्था कसरी आयो भनेर बुझ्न सघाउ पुर्याउँदैन । गहिरिएर अध्ययन गरियो भने यस घटनाबाट अस्ट्रेलियाली समाजभित्रको नश्लवादी र जातीय राष्ट्रवादको अप्रिय सत्य उजागर हुन्छ ।
‘मार्च फर अस्ट्रेलिया’लाई निकट इतिहासका अस्ट्रेलिया र अन्य पश्चिमी देशमा भएका यस्तै घटनासँग तुलना गरेर हेरौँ । यो र यसअघिका क्रोनुल्ला दंगा, सन् २०१० को दशकमा घटेको ‘इङ्लिस डिफेन्स लिग’का गतिविधि, सन् २०१७ मा अमेरिकाको चार्लोट्सभिलमा भएको ‘युनाइट द राइट’ र्याली, सन् २०२१ को अमेरिकी संसद् भवनमा भएको दंगा र गत वर्षको लन्डन दंगाबिचको समानतालाई ख्याल गरौँ । ‘मार्च फर अस्ट्रेलिया’मा संलग्न भएका समूह र अन्य दक्षिणपन्थी समूह ‘अस्ट्रेलियन डिफेन्स लिग’, ‘रिक्लेम अस्ट्रेलिया’, ‘युनाइटेड प्याट्रियट्स फ्रन्ट’ (युपिएफ), ‘ट्रु ब्लु क्रु’ र ‘ल्याड्स सोसाइटीज’लगायतबिचको समानता पनि नबिर्सिऔँ । त्यस्तै, यी अस्ट्रेलियाली समूहको तिनका विदेशी समकक्षी समूहजस्तै इङ्लिस डिफेन्स लिग, प्राउड ब्वाइज र अन्यबिचको समानतालाई पनि विचार गरौँ ।
अस्ट्रेलियामा भएको पछिल्लो आप्रवासीविरोधी र्यालीबाट त्यहाँको समाजभित्र बढेको नश्लवादी र जातीय राष्ट्रवादको अप्रिय सत्य उजागर हुन्छ
यी समूह प्रायः केही समय सक्रिय हुन्छन् र विघटन गरिन्छन् । पछि समूहमा सरिक मानिस अर्को नामको समूहमा देखापर्छन् । उदाहरणका लागि, पछिल्लो र्यालीका चर्चित नवनाजीवादी नेता थोमस सेवेल पछिल्लो केही वर्षमै विभिन्न समूहमा संलग्न देखिन्छन् । उनी कुनै समय युपिएफका सदस्य थिए । पछि रिक्लेम अस्ट्रेलियामा जोडिए । फेरि ल्याड्स सोसाइटी र ‘एन्टिपोडियन रेसिस्टेन्ट’का सदस्य रहे । सेवेल एक्लैको संलग्ताको इतिहास हर्दा पनि ‘मार्च फर अष्ट्रेलिया’ स्वस्फूर्त रूपमा उठेको घटना मान्न सकिँदैन । तर, साथसाथै यसको उदय केवल तथाकथित ‘उग्रवादी’ समूह र अभिनेताहरूको सन्दर्भमा मात्र व्याख्या गर्न सकिँदैन । यसको धेरै लामो र फराकिलो इतिहास छ ।
र्यालीपछि अस्ट्रेलियाको सञ्चारमाध्यम तथा समाजिक सञ्जाल ‘उग्र दक्षिणपन्थ’, ‘चरमपन्थी’, ‘कट्टरपन्थी’, ‘नवनाजीहरू’ र ‘फासीवाद’जस्ता शब्द या शब्दावलीले भरिएको देखियो । निश्चित रूपमा ३१ अगस्टको दिन र त्यसअघि वा पछिका घटना धेरै मानिसका लागि स्तब्धकारी रह्यो । र, घटनामा खुलेर नवनाजीहरूको संलग्नता देखियो । तर, ‘मार्च फर अस्ट्रेलिया’जस्ता घटनालाई उल्लिखित उग्र समूहले मात्र गराएको घटनाका रूपमा व्याख्या गर्नु गलत हुन्छ । यस्तो व्याख्याले अस्ट्रेलियाको ‘मुख्य धार’को समाजको भूमिका ओझेलमा पर्छ ।
यही समस्या सार्वजनिक छलफलमा मात्र नभई उग्र दक्षिणपन्थीहरूसम्बन्धि अनुसन्धानमा पनि देखिन थालेको छ । उदाहरणका लागि, उग्र दक्षिणपन्थी शक्तिले सार्वजनिक क्षेत्रमा घुसपैठ बढाएको भन्ने विचार प्राज्ञिक क्षेत्रमा हावी हुँदै गएको छ । ‘कन्टाजियन थेसिस’ भनिने यस प्रक्रियामा समाजको किनारामा रहेका समूहले मुलधारलाई दुषित गर्दै लगेर कब्जा गर्ने अवस्थाको वर्णन गर्छ । ‘मार्च फर अस्ट्रेलिया’मा यही भएको एक थरीको तर्क छ, जसअनुसार ‘नेस्नलिस्ट सोसलिस्ट नेटवर्क’जस्ता श्वेत सर्वोच्चतावादी समूहले र्यालीलाई ‘कब्जा’ गरे र आफ्नो सदस्य भर्तीको अवसरका रूपमा प्रयोग गरे ।
निश्चित रूपमा श्वेत सर्वोच्चतावादी र नवनाजीहरूविरुद्ध आवाज उठाइनुपर्छ । तर, तिनको मात्र चर्चा गरेर पछिल्लो ¥यालीका लागि नश्लीय र जातीय राष्ट्रवादीहरू मात्र जिम्मेबार छन् भन्नु गलत हो । यस्तो व्याख्याले अस्ट्रेलियाको समाजमा व्याप्त नश्लवाद र जातीय राष्ट्रवादको व्यापकतालाई छोप्न सघाउँछ । साथै, यस्तो विचारले उनीहरूको कथित ‘वैध’ चिन्ता वास्तवमा श्वेत सर्वोच्चतासँग कति मिल्दोजुल्दो छ भनेर पनि व्याख्या गर्दैन ।
‘मार्च फर अस्ट्रेलिया’लाई दुई ध्रुवबिचको द्वन्द्वका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि देखिएको छ । यस्तो भाषाको प्रयोगले पनि दुई तुलनात्मक पक्षहरूको अस्तित्वको जोड दिन्छ, जो दुवै कथित रूपमा मिलनको मध्य बिन्दूबाट ‘विषम’ दिशातर्फ टाढिँदै गएको तर्क गर्छ । यसको समाधान दुवैको केन्द्रतर्फको ‘फिर्ती’ र ‘सामाजिक एकता’ भएको उदारवादीहरू सुझाउँछन् । यस्तो भाष्यले पनि अस्ट्रेलियामा सामान्यीकृत बन्दै गएको नश्लवाद र जातीय राष्ट्रवादलाई ढाकछोप गर्न सघाउँछ ।
अध्ययनहरूले उदार लोकतन्त्रले उग्र दक्षिणपन्थीविरुद्ध संक्रमण बन्नेभन्दा अनुकूल हुने सक्ने अवस्थासमेत देखाएको छ । ती अध्ययनले उग्र दक्षिणपन्थीविरुद्धको संघर्षमा दैनिक जीवनमा प्रयोग हुने नश्लवाद र जातीय राष्ट्रवादको हिसाब राख्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । राष्ट्रवादले मानिसलाई दुई समूहमा विभाजित गर्छ– आफ्नो पक्ष र बाहिरिया पक्ष । अस्ट्रेलियामा बाहिरियामाथि जोड दिने प्रवृत्ति बढेको छ । र, धेरै ऐतिहासिक तथ्य प्रमाणले यस प्रकरणमा ‘मुख्यधार’को अस्ट्रेलियाभित्र कायम नश्लवादको पनि भूमिका रहेको देखाउँछ ।
(गिलेस्पी युनिर्भसिटी अफ मेलवर्नमा अपराधशास्त्र अध्यापन गर्छन्)द कन्भरसेसनबाट