
फ्युनिक्युलर दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएपछि उनीहरूको सम्झनामा बिहीबार पोर्चुगलले एक दिनको राष्ट्रिय शोकको घोषणा गर्यो । बुधबार साँझ ६ बजेतिर पोर्चुगलको राजधानी लिस्बनमा चल्ने ‘एलेभाडोर दा ग्लोरिया’ नामक फ्युनिक्युलर पटरीबाट बाहिरिँदा दुर्घटना भएको थियो ।
‘एलेभाडोर दा ग्लोरिया’ लिस्बनको प्रमुख पर्यटकीय आकर्षण एक ट्राम सेवा हो । बिहीबारसम्म मृतकको संख्या १७ पुगेको र थप २१ जना घाइते भएको अधिकारीले बताएका छन् । अधिकारीहरूले पीडितहरूको पहिचान वा राष्ट्रियता सार्वजनिक गरेका छैनन् । तर, सुरुमा मृतकमध्ये केही विदेशी नागरिक रहेको बताएका थिए । बिहीबार, उनीहरूले घाइतेमध्ये कम्तीमा ११ जना भने विदेशी रहेको तथ्यांक सार्वजनिक गरे ।
दुर्घटनालगत्तै पोर्चुगल सरकारले एक दिनको राष्ट्रिय शोक र लिस्बनका अधिकारीले राजधानी सहरमा तीन दिनको शोक घोषणा गरेका छन् । ‘यो हाम्रो सहरका लागि दु:खद दिन हो । लिस्बन शोकमग्न छ,’ सहरका मेयर कार्लोस मोएडासले घटनास्थलमा पत्रकारसँग प्रतिक्रिया दिने क्रममा भने । उता राष्ट्रपति मार्सेलो रेबेलो दे सुसाले पनि यस ‘त्रासदी’प्रति समवेदना व्यक्त गरे ।
लिस्बनको अग्नि विभागले खुकुलो केबलका कारण फ्युनिक्युलरले नियन्त्रण गुमाएको र त्यसपछि छेउको भवनमा गएर ठोक्किँदा दुर्घटना भएजस्तो देखिएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रपति सुसाले दुर्घटनाको कारण तुरुन्तै पत्ता लगाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
घटनाबारे ‘सार्वजनिक अभियोजकको कार्यालयले अनुसन्धान सुरु गर्ने महान्यायाधिवक्ताको कार्यालयले बताएको राष्ट्रिय समाचार एजेन्सी लुसाले लेखेको छ । रिपोर्टका अनुसार प्रहरी, राष्ट्रिय यातायात सुरक्षा प्राधिकरण र फ्युनिकुलर सञ्चालक कम्पनी क्यारिसले पनि दुर्घटनाको कारणको अनुसन्धान गरिरहेका छन् । सन् १८८५ मा सञ्चालन हुन थालेको एलिभाडोर दा ग्लोरियाबाट पूरै लिस्बन सहरको दृश्यावलोकन गर्न सकिन्छ ।