
बाराको जितपुरसिमरा उपमहानगरपालिका– ४ स्थित सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका– १ का ५८ वर्षीय छेवाङ लामा रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका वेला बाघले आक्रमण गरेको हो। बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। केही समयअघि मात्रै बारा अम्लेखगन्जमा बाघको आक्रमणबाट तीनजनाको ज्यान गएको थियो। यसरी निरन्तर बाघ आक्रमणका घटना बढ्दै गएपछि स्थानीयवासी आतंकित बनेका छन्।
उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन्। पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएकाे प्राविधिक टोलीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।