
यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही पानीजहाजमा एक जापानी वृद्ध पनि थिए, जसको उमेर लगभग ९० वर्ष हाराहारीको हुँदो हो । ती जापानी वृद्धका हातखुट्टा थरथर कामिरहेका थिए र आँखा पनि निकै कमजोरजस्ता देखिन्थे । तर, त्यति वृद्ध भइसक्दा पनि उनी चिनियाँ भाषा सिक्नका लागि चिनियाँ भाषासम्बन्धी किताब पढिरहेका थिए ।
स्वामी रामातीर्थ ती जापानीको लगन देखेर प्रभावित भए । उनी ती जापानी वृद्धको प्रयास देखेर चुपचाप बसिरहन सकेनन् । उनले ती वृद्धलाई सोधे, ‘यति वृद्धि भएर पनि तपाईं चिनियाँ भाषा सिक्न खोजिरहनुभएको छ । चिनियाँ भाषा त संसारकै कठिनतम् भाषामध्ये एक हो । यो भाषा राम्ररी सिक्नका लागि तपाईं–हामीजस्ता तेस्रो भाषाभाषीलाई निकै वर्ष लाग्छ । अनि तपाईं यस्तो कठिन भाषा कहिलेसम्ममा सिकिसक्नुहुन्छ र कहिले यसको उपयोग गर्न पाउनुहोला ?’
उनको यो भनाइ सुनिसकेपछि ती वृद्ध जापानीले स्वामी रामातीर्थलाई कमजोर आँखाले ध्यान दिएर यसो हेरे र भने, ‘जबसम्म म जिउँदो हुन्छु, तबसम्म मैले केही न केही सिकिरहनुपर्छ, नत्र मलाई आफ्नो जीवन बेकारको लाग्छ । मर्नु त एक दिन छ नै । यो कुरा सबैलाई थाहा पनि छ । तर, यदि मानिसले मृत्युबारे मात्र सोचिरह्यो भने उसले जीवनमा केही काम गर्न सक्दैन । त्यसैले नयाँ कुरा सिक्न उमेरलाई कहिल्यै बाधक ठान्नु हुँदैन ।’
उनको जवाफ सुनेर स्वामी रामातीर्थ हर्षविभोर भए र ती जापानी वृद्धलाई झुकेर अभिवादन गरी आफ्नो स्थानमा गएर बसे ।