रूपचन्द्रको बाटो

२०७६ असार ७ शनिबार ०७:३६:००

कलंकी–नागढुंगा–नौबिसे हुँदै त्रिभुवन राजपथको ५६ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, शिखरकोट । मकवापुरको थाहा नगरपालिका–३ मा पर्ने शिखरकोट बजारमै छ, ‘विकास घर’ । छेउमै ठडिएको छ, पूर्णकदको अग्लो सालिक । ओभरकोटमा सजिएको, आफ्नो परिचित शैलीमा हाते माइक बोकिरहेको त्यो सालिक ‘रूपचन्द्र विष्ट’को हो । रूपचन्द्र अर्थात्, ‘थाहा’ आन्दोलनका प्रणेता । हो,  रूपचन्द्र भौतिक रूपमा हामीबीच नरहेको आज २० वर्ष भयो ।

थाहासँग प्रेम गर,
थाहा तिमीकहाँ आउँदछ
थाहाप्रति इमान राख
कर्तव्य तिमीकहाँ आउँदछ

आफ्नो वैचारिक अभियानलाई ‘थाहा आन्दोलन’को नाम दिएका उनी थाहा पाउनु मानिसको पहिलो अधिकार हो भन्ने मान्यता राख्थे । ‘सबैले थाहा पाउनु जरुरी छ, असल के खराब के, व्यवस्था के, शासन के, विधि के, विधान के ?’ यी र यस्ता अनेक विषय बोकेर उनी भोका, नांगा, अशिक्षित, गरिब, दुःखीका झुप्रोसम्म पुग्थे । समाज बदल्ने उद्देश्य बोकेर अनवरत संघर्षमा लागेका उनले जनतालाई सुसूचित गर्न ‘थाहा’ अभियानकै रूपमा चलाएका थिए । 

काठमाडौं दक्षिणी–पश्चिम र मकवानपुरका उत्तरी क्षेत्रमा पर्ने दामन, पालुङ, टिस्टुङ, शिखरकोट, बज्रबाराही, चित्लाङ, डाँडाखर्क, आग्रा, गोगनेसहित अधिकांश ग्रामीण क्षेत्रका झुप्राझुप्रामा पुगेर उनले जनता जगाउने काम गरे । उनको आन्दोलनले तत्कालीन शासन व्यवस्था र शासकका विरोधमा देशैभर तरंग ल्यायो । गरिखाने जनताको चेतनाको ढोका एकदसम्म उघार्‍यो ।

‘उनले चढ्ने गरेको थोत्रो स्कुटरमा, सर्टमा, ज्याकेटमा र हेलमेटमा ‘थाहा’ लेखिएको हुन्थ्यो,’ विद्रोहको उनको आह्वान सुनेर जीवनको कलिलो उमेरमै उनका अघिपछि लाग्दै मकवानपुरका कुनाकन्दरा पुगेका रामनारायण विडारी (हाल राष्ट्रिय सभाका सदस्य) सम्झन्छन्, ‘त्यति मात्र होइन, उनका अगाडि उभिने जोसुकैका छातीमा पनि उनी थाहा लेखिदिन्थे । हामी पनि सडकका भित्ताभित्तामा थाहा देख्दै हिँड्थ्यौँ ।’ 

राजनीतिक उचारचढाव
बाबु पद्मबहादुर विष्ट र आमा चित्रकुमारी विष्टको परिवारमा विक्रम सम्वत् १९९० पुस २६ मा उनको जन्म भएको थियो । स्कुल पढ्दापढ्दै उनले कम्युनिस्ट राजनीति गरे, जुन उनको पारिवारिक विरासतभन्दा फरक थियो । ००७ सालदेखि १० सम्म उनी कम्युनिस्ट पार्टीअन्तर्गत विद्यार्थी राजनीतिमा सक्रिय रहे । काठमाडौंको कीर्तिपुरलाई आधार मानी ०१० देखि ०१७ सम्म किसान र मजदुर फा“टमा क्रियाशील भए । ०१७ देखि ०२६ सम्म विद्यार्थी र किसान क्षेत्रमा र त्यसपछिका वर्ष झुत्रेझात्रेहरूका झुप्रामा पुगे । 

रूपचन्द्र कुनै वादमा बाँधिएनन् । सत्य, न्याय, सुशासन, चेतना, विकास, मानवीयता आदिको कुनै वाद हुँदैन भन्ने कुरा उनले व्यवहारमार्फत पुष्टि गरेका छन् । उनी सत्य र न्यायका पक्षपाती थिए ।

बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार ०१७ सालमा सैनिक कूमार्फत भंगगरी राजा महेन्द्रले शासन आफ्नो हातमा लिए, पञ्चायती व्यवस्थातिर लम्किए । रूपचन्द्र त्यही पञ्चायत उपयोग गर्नतिर लागे । ०२२ साल र ०३१ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतको प्रधानपञ्च भए । यही अवधिमा जनश्रमदानबाट उनले बनाएका थिए, ‘विकास घर’ । ०२८ सालमा उनी स्नातक उम्मेद्वारसमेत बनेका थिए । ०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर जनप्रतिनिधिको भूमिका निभाए । ०३८ देखि ०५६ सम्मको अवधिमा उनी विचार सम्प्रेषणमा केन्द्रित रहे । सदा विद्रोही स्वभाव बोकेका रूपचन्द्रको निधन ७ असार ०५६ मा भएको थियो । 

रूपचन्द्रका अनेक नाम
रूपचन्द्र जसरी ‘थाहा आन्दोलन’का प्रवर्तक थिए, त्यसैगरी जनमुखी अभियानका अभियन्ता । छाप्रेहरूका नेता, गरिब किसान, मजदुर र नारीहरूका नायक, कलिला बालबालिकाका हिरो थिए । बाह्रै महिना हाड घोटेर परिश्रम गर्दा पनि दुई छाक जुटाउन नसक्ने निमुखाहरूका आवाज थिए । त्यसैले उनी एक होइन, अनेक नामले परिचित भए । 

रुदाने (रूपचन्द्र दामन नेपाल), जसरु (जनमुखी सहकर्मी रूपचन्द्र), रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र)लगायत केही प्रतिनिधि नाम हुन् । विडारीका भनाइमा उनी विषय र परिस्थितिअनुसार आफ्नो नाम परिवर्तन गर्थे । तर, त्यसको सान्दर्भिकता पनि प्रस्ट्याउँथे । जस्तो, एकपटक उनले आफ्नो नाम ‘स्वरूपे’ भनेर चलाए । त्यसको अर्थ ‘आफ्नै रूप’ भन्ने थियो । नजिकबाट चिन्ने धेरैमाझ उनी ‘रुदाने’ नामले नै बोलाइए । मकवानपुरका पाका नागरिक अझै पनि उनलाई यही नामले सम्झन्छन् 

पञ्चायतको उपयोग
उनी पञ्चायतको उपयोगमा थिए भन्ने कुरा पटकपटकका गिरफ्तारीबाट पनि स्पष्ट हुन्छ । राष्ट्रिय पञ्चायत सदस्यका रूपमा राष्ट्रिय पञ्चायतका बैठकमा निर्भिकतासाथ उभिन्थे । तत्कालीन शासन व्यवस्था र सरकारविरुद्ध आगो ओकल्ने उनका अभिव्यक्ति अहिले पनि संसद् सचिवालयको रेकर्डमा सुरक्षित छन् । उनका अडियो सुन्दा हरतरहले उनी जनमुखी राजनीतिको पक्षमा थिए भन्ने स्पष्ट हुन्छ । त्यसैले पनि उनी शासकको कोपभाजनमा परिरहे । कलिलै उमेरमा मात्र होइन, ०२५–२६ सालमा मात्रै पनि होइन, राष्ट्रिय पञ्चायत सदस्य हुँदासमेत पनि पटकपटक गिरफ्तारीमा परे ।

रूपचन्द्रमा कलिला बालबालिकाप्रति विशेष रुचि थियो । कलिला बालबालिकाको मनमा बेठीक कुरा हालिदिनुहुँदैन अनि मात्र भावी पुस्ता उज्यालोतर्फ अगाडि बढ्छ भन्थे । मान्यता होइन, जान्यतालाई बढी महत्व दिनुपर्छ भन्थे ।

असल गुरु
उनी जति राम्रा विद्यार्थी थिए, त्यति नै असल गुरु पनि थिए । उनले तीसको दशकमा जनकल्याण माविको स्थापना गरे । केही वर्ष प्रधानाध्यापक बनेर शिक्षा क्षेत्रमा पनि योगदान दिए । उनी दुईपटकसम्म जनकल्याण माविको प्रअ बनेका थिए । त्यस क्रममा उनले अलग्गै राष्ट्रिय गान बनाएका थिए । पठनपाठन सुरु हुनुअघि विद्यार्थीलाई त्यही राष्ट्रिय गान गाउन लगाउँथे । उनले बनाएको राष्ट्रिय गान आसपासका अन्य थुप्रै विद्यालयमा समेत गाउन थालेपछि तत्कालीन शासकले उनलाई पटकपटक पक्राउ गर्ने प्रयास गरेको थियो । 

स्कुलका ८ देखि १० कक्षाका विद्यार्थीले अनिवार्य रूपमा बिहान–बेलुका प्रौढ शिक्षा पढाउनुपर्ने व्यवस्था लागू गरे । सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्य पढाउनुपर्छ भन्ने मान्यता उनको थियो । त्यसैले छोरा नपढाउने बाबुआमालाई सजायस्वरूप विद्यालयमा आएर जनश्रमदान गर्नुपर्ने नियम लगाएका थिए । स्थानीयहरू सम्झँछन्, ‘यस नियमले आजित भएका एक अभिभावकले आफ्ना छोराछोरीलाई पढाए पनि वा नपढाए पनि तिमीलाई के मतलव भनेर रिस देखाए । उत्तरमा रूपचन्द्रले भने– नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछ । मुलुकको अहितमा काम गर्छ । सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ ।’

दामन क्षेत्रका बुढापाका अहिले पनि सम्झन्छन्, ‘रूपचन्द्रमा कलिला बालबालिकाप्रति विशेष रुचि थियो । कलिला बालबालिकाको मनमा बेठीक कुरा हालिदिनुहुँदैन अनि मात्र भावी पुस्ता उज्यालोतर्फ अगाडि बढ्छ भन्थे । मान्यता होइन, जान्यतालाई बढी महत्व दिनुपर्छ भन्थे । देउता मान, हाकिम मान, ठूलालाई मान भन्दै जाँदा शासकलाई मान, शोषकलाई मान भन्न पुगिन्छ भन्ने उनको भनाइ थियो ।’ 

पर्चा बेचेर चुनाव खर्च
सायद इतिहासमा त्यस्ता मानिस बिरलै भेटिएलान् जसका पर्चा र पम्प्लेट मानिस किनेर पढ्दा हुन् । हो, रूपचन्द्र तिनै बिरलैमध्ये एक थिए । दार्शनिक र साहित्यिक शब्दले भरिएका उनका पर्चा र पम्प्लेट सित्तैमा पाइँदैनथ्यो । ती पर्चा बिक्रीबाट उनी चुनाव खर्चको जोहो गर्थे । ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्दा होस् वा त्यसअघिका स्थानीय निर्वाचनमा, उनले पर्चा पम्पेलेटकै सहारा लिए । ‘पर्चा बेचेर चुनाव लड्ने एक्लो उम्मेदवार’ बिबिसीले रिपोर्ट नै तयार पारेको थियो,’ विडारी सम्झन्छन् । पर्चाहरूमा उनका विचार व्यक्त गरिएका हुन्थे । जस्तै, ०३९ सालको स्थानीय चुनावको पर्चामा उनले लेखेका थिए, 

केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी
ऋति यथार्थमुखी, कर्तव्यमुखीबाहेक
पछुवा, भगुवा सारा दोषी
जात ठूलो कि जनता ? 
नाता ठूलो कि न्याय ?
स्वार्थ ठूलो कि निःस्वार्थ ?

विकास र पारदर्शिताको मोडल
उनले न्यायसँग विकासलाई जोडेका थिए । विकाससँग न्यायलाई मिसाएका थिए अनि न्यायपूर्ण विकासको मोडल बनाएका थिए । तत्कालीन दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर गाउँ विकास समिति बनाएका थिए । जसको कार्यालयलाई विकास घर भनिन्थ्यो । विकास घर जनश्रमदानबाट निर्माण गरिएको थियो । रूपचन्द्रले विकास करको नियम चलाएका थिए । दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपथ्र्यो । आफूले तिरेको कर कहाँ खर्च भइरहेको छ ? त्यसको प्रस्ट जानकारी पाउने व्यवस्था मिलाएका थिए । दिनदिनै विकास घरको सूचनापाटीमा विकास कर कहाँ खर्च भइरहेको छ भनेर हरहिसाब टाँसिएको हुन्थ्यो । रूपचन्द्रले दामन पालुङमा ०२६ सालतिर कृषि विकासका निम्ति सामूहिक खेती, विकासे बाली, विकासे खेताला, विकासे पशुको विकासको अभ्यास र नमुना प्रदर्शन गरेका थिए । उन्नत जातको नगदेबालीको विकास र विस्तार गर्ने सुधारका कामको नेतृत्व पनि गरेका थिए । 

दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपर्ने नियम रूपचन्द्रले बनाएका थिए । आफूले तिरेको कर कहाँ खर्च भइरहेको छ ? त्यसको प्रस्ट जानकारी पाउने व्यवस्था मिलाएका थिए ।

संगठनमा अरुचि
रूपचन्द्रले आफैँले संगठन बनाउन रुचाएनन् । कुनै विशेष परिस्थितिमा संगठित हुनैपर्ने अवस्था आए जनता आफैँ जाग्छन् र संगठित हुन्छन् भन्ने उनको मत थियो । ‘संगठन बनाउने होइन, संगठन हुन दिनुपर्छ । बनाएको संगठनले क्रान्ति गर्दैन । भएको संगठनले क्रान्ति गर्नुहुन्थ्यो,’ विडारी सम्झन्छन्, ‘अलिनजिक लेनिनको संगठन पद्धतितिर भए पनि त्यहाँ जनमुखी अभ्यासको अभाव छ भन्नुहुुन्थ्यो ।’

रूपचन्द्र कुनै वादमा नै बाँधिएनन् । सत्य, न्याय, सुशासन, चेतना, विकास, मानवीयता आदिको कुनै वाद हुँदैन भन्ने कुराको उनले व्यवहारमार्फत पुष्टि गरेका छन् । रूपचन्द्र सत्य र न्यायका पक्षपाती थिए । उनले आफ्नो जीवनकालमा सर्वाधिक प्रशंसा बुद्ध, गान्धी र माक्र्सको गरेका छन् । गान्धीले अपनाएको सत्य र अहिंसाको बाटोलाई सबैभन्दा वैज्ञानिक एवं आधुनिक राजनीतिक बाटो ठानेका छन् । तर, यदि विचारको क्षेत्रमा बल प्रयोग गरियो, यदि सरकार श्रमजीवीहरूकोे पक्षमा उभिएन भने श्रमिकको चक्रवर्ती शक्ति जाग्छ र माक्र्सवादले शोषक र सामन्तको साम्राज्य ध्वस्त पार्छ भन्ने उनको विश्लेषण थियो । 

कवितात्मक शैलीमा विचार
रूपचन्द्रले लामो समय बिताएको मकवानपुरका ग्रामीण बस्तीमा अशिक्षित जनता बढी थिए । गरिबीले पिल्सिएका उनीहरूमा उनी कविताको भावमा यसरी जागरण ल्याउन प्रयास गर्थे । 

श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन
छाप्राको राजनीति महल (दरबार)ले गरेर हुँदैन
महिलाको राजनीति पुरुषले गरेर हुँदैन
आफ्ना लागि आफैँ जागेर अघि बढ्नुपर्छ
वास्तवमा जसलाई जेको खाँचो छ
त्यसलाई पाउन ऊ स्वयं जाग्नुपर्छ
आमूल क्रान्ति ल्याउनुछ भने 
क्रान्तिकारीले स्वयं अग्रसरता देखाउनुपर्छ

हामी कसैका होइनौँ
कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका 
सत्य र न्याय हाम्रा ।।