
प्रधानमन्त्री केपी ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार चीनको तियान्जिन महानगरमा द्विपक्षीय वार्ता भएको छ । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन पुगेका दुई शीर्ष नेताबिच पहिलोपटक द्विपक्षीय वार्ता भएको हो । भेटमा व्यापार, लगानी, शिक्षा, संस्कृति, तथा हवाई कनेक्टिभिटीबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।
भेटवार्तामा दुई देशको सम्बन्ध र विशेष गरी तत्कालीन सोभियत संघका समयमा नेपाललाई भएको सहयोगको चर्चा भएको थियो । सन् १९९१ अघि सोभियत संघको समयमा पुटिन त्यहाँको गुप्तचर विभागका प्रमुख थिए । नेपाल र रुसबिच भविष्यमा भ्रमणको आदानप्रदान हुनुपर्नेमा दुवैको जोड थियो ।
‘हाम्रो छलफल नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ गर्दै संस्कृति, व्यापार र लगानीका क्षेत्रमा पारस्परिक लाभदायक सहकार्य प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रह्यो,’ प्रधानमन्त्री ओलीले भेटपछि सामाजिक सञ्जाल एक्समा लेखेका छन् । रुसमा नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति, काठमाडौं–मस्को सीधा हवाई उडान, नेपालका विभिन्न क्षेत्रमा लगानीका लागि रुसलाई प्रधानमन्त्रीले आग्रह गरेका थिए । उनले रुसी सेनामा भर्ती भएका नेपालीहरूको विषयमा केही पनि सार्वजनिक गरेका छैनन् । नेपाल र रुस दुवै पक्षले त्यसबारेमा छलफल भए–नभएको केही उल्लेख गरेको छैन ।
भेटमा रुसी राष्ट्रपति पुटिनले सन् १९५६ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनायता कुनै पनि समस्या नभएको बताएका थिए । उनले आगामी वर्ष सम्बन्धको ७०औँ वर्षगाँठ रहेको उनले स्मरण गराए । महत्वपूर्ण एजेन्डामा दुई देशबिच सहकार्य थप गहिरो र सुदृढ बनाउनुपर्ने पुटिनको भनाइ थियो ।
ओलीले विगतमा दुई देशबिच सम्बन्ध गहन रहेको, तर अहिले सम्बन्धमा कमजोरी रहेको बताएका थिए । आफू दुईपटक रुस भ्रमणमा गए पनि रुसबाट उच्चस्तरीय भ्रमण नभएको ओलीको गुनासो थियो ।
७१ नेपालीको मृत्युबारे मौन
रुसी सेनामा भर्ती भएका ७१ जना नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु पुष्टि भइसकेको छ । पुष्टि हुन बाँकी ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर नेपालबाट रुसमा विवरण पठाइएको छ । यसबारे दुई शीर्ष नेताबिच छलफल हुने अपेक्षा थियो । दुवै पक्षले यसबारे छलफल भएको उल्लेख गरेको छैन ।
परराष्ट्रको कन्सुलर सेवा विभागका अनुसार हालसम्म ३४९ व्यक्तिका परिवारले रुसी सेनामा कार्यरत आफन्त खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । थप ४० जना नेपाली बेपत्ता अवस्थामा छन् । उनीहरू सबै रुसी सेनामा भर्ती भएकाहरू हुन् । नेपालले विगतमा सन्धि भएअनुसार भारतीय र ब्रिटिस सेनामा बाहेक अन्य देशको सेनामा नागरिक भर्ती नगर्ने आफ्नो अडान राख्दै आएको छ ।
रुस सरकारले पछिल्लोपटक नेपाली नागरिकलाई रुसी सेनामा भर्ना रोकेको छ भने कार्यरत रहेका नेपालीको करार नवीकरण पनि रोकेको छ । सरकारी तथ्यांकअनुसार युक्रेनी सेनाको हिरासतमा हालसम्म सातजना नेपाली छन् । तर, परिवारजनबाट प्राप्त विवरणअनुसार थप १० जना नेपाली युक्रेनी सेनाको बन्दीमा छन् ।
एससिओको पूर्ण सदस्यमा नेपालको दाबी
नेपालले एससिओको पूर्ण सदस्यमा दाबी गरेको छ । प्रधानमन्त्री केपी ओलीले चीनको तियान्जिनमा आयोजित एससिओ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै एससीओको मर्म र भावनामा ऐक्यबद्धता जनाए र नेपाललाई पूर्ण सदस्यता दिन अनुरोध गरे । चिनियाँ प्रधानमन्त्री सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित सम्मेलनमा प्रधानमन्त्री ओलीले बहुपक्षीयता, क्षेत्रीय सहयोग समावेशी विकासलाई प्रवद्र्धन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
‘नेपालले सन् २०१६ देखि एससिओको संवाद साझेदार (डायलग पार्टनर)को रूपमा भूमिका निर्वाह गर्दै आएको छ । अब नेपाल एससिओको पूर्ण सदस्य बन्न इच्छुक छ र यहीअनुसार भूमिका निर्वाह गर्न चाहन्छ,’ प्रधानमन्त्री ओलीले भने । एससिओमा सहकार्य सुदृढ गर्न नेपालले आफ्नो ठाउँमा भूमिका निर्वाह गर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।
‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ विज्ञान र प्रविधिमा ठुलो प्रगति भए पनि असमानता, द्वन्द्व र जलवायु संकटले त्यो प्रगतिलाई छायाँमा पारेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर विश्व शासन प्रणालीलाई न्यायोचित, समावेशी र प्रभावकारी बनाउनु जरुरी छ ।’