
कर्तव्य पालनाको सिलसिलामा निधन भएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा वीरगन्ज उद्योग वाणिज्य संघले स्थापना गरेको ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जमा कार्यरत तत्कालीन कमान्डर सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको छ ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको परिसरमा वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सो अवार्ड नायब उपरीक्षक सुब्बालाई प्रदान गरेका हुन्।
सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा वीरगन्ज उद्योग वाणिज्य संघले दुई लाख रुपैयाँको अक्षय कोष खडा गरी सोबापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट कार्य गर्ने एकजना सशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक २५ हजार रुपैयाँ राशिको ‘बेस्ट इन्टिग्रिटी अवार्ड’ प्रदान गर्ने घोषणाअनुरूप सो अवार्ड प्रदान गर्दै आएको छ ।
गुल्ममा रहँदा सुब्बाले अवैध चोरी–निकासी पैठारी नियन्त्रण र राजस्व संकलनमा उत्कृष्ट कार्य गरेको आधारमा सो पुरस्कार प्रदान गरिएको बताइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा ०८० भदाै २ गते सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको थियो ।