मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १o:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:oo:oo

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न स्थानीयले माग गरेका छन् । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको अगुवाइमा स्थानीयले पदाधिकारी नियुक्तिको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री विश्वविद्यालयको सभा सदस्य रहने व्यवस्था ऐनमा छ । पदाधिकारी नियुक्तिका लागि सभा सदस्यको हैसियतले विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीसँग कुरा गर्न स्थानीयले मुख्यमन्त्री शाहलाई आग्रह गरेका हुन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी ऐन जारी भएको दुई महिना भए पनि सरकारले पदाधिकारी नियुक्त गरेको छैन ।

राष्ट्रपतिले गत ४ असारमा ऐन प्रमाणीकरण गरेका थिए । ऐनअनुसार विश्वविद्यालयका पदाधिकारीमा कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन् । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ । उपकुलपति संघीय सरकारले नियुक्त गर्नेछ ।

वरिष्ठ चिकित्सक डा. गणेशबहादुर सिंहले चिकित्सा शिक्षा पठनपाठनका लागि गेटामा तत्कालै तीन सयशय्याको अस्पताल सञ्चालन आवश्यक रहेको बताए । विश्वविद्यालय यसै वर्षबाट सञ्चालन होस् भन्ने यहाँका नागरिकको माग रहेको उनले बताए । मेडिकल शिक्षा पढाउन तीन सयशय्याको अस्पताल दुई वर्ष सञ्चालन भएको हुनुपर्ने प्रावधानका कारण गेटामा एमबिबिएस पढाउन केही समय लाग्न सक्ने उनको भनाइ छ ।

त्यसको विकल्पमा सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयमातहत राखेर मेडिकल शिक्षाको पठनपाठन सुरु गर्न सकिने सिंहले बताए । ‘एमबिबिएस पढाउन कम्तीमा तीन सयशय्याको अस्पताल दुई वर्ष सञ्चालन भएको हुनुपर्ने भन्ने ऐन छ । त्यसकारण अहिले तीन सयशय्या सुरु गरे मेडिकल शिक्षा पढाउन दुई वर्ष लाग्छ,’ उनले भने, ‘छोटोमा जाने हो भने सेतीलाई लिन सकिन्छ ।’ सुदूरपश्चिमवासीलाई अहिले स्वास्थ्य, शिक्षा मात्र नभई सुलभ, सस्तो र स्तरीय स्वास्थ्य सेवा पनि चाहिएकाले अस्पताल सञ्चालनमा ढिलो गर्न नहुने उनले बताए । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले चालू वर्षमा कम्तीमा तीन सयशय्याको अस्पताल सञ्चालनका लागि पहल गरिदिन मुख्यमन्त्री शाहलाई आग्रह गरे । विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेर यसै आर्थिक वर्षबाट चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न सकिने उनले बताए ।

‘यो वर्ष सम्भव नभए अर्को वर्ष जसरी पनि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्छ,’ पाण्डेयले भने, ‘ऐन आएको पनि दुई महिना भइसक्यो । सरकारले तत्कालै पदाधिकारी नियुक्त गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ मुख्यमन्त्री शाहले गेटामा अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न संघीय सरकारसँग आफूले पहल गर्ने बताए । सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयमातहत राखेर चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न सकिने उनको भनाइ छ ।

गेटामा चिकित्सा शिक्षाको पठनपाठनसँगै ६ सयशय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार छन् । करिब ६ अर्ब ६८ करोड रुपैयाँको लागतमा निर्मित संरचना लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेका छन् । कतिपय भवन पाँच वर्षअघि नै निर्माण सम्पन्न भएका थिए ।