
तानसेनका केही निजी विद्यालयले महिनौँदेखि उकुसमुकुस हुने गरी विद्यार्थी ओसारपसार गरिरहेका छन् । उनीहरूलाई श्वास फेर्नसमेत गाह्रो छ । यहाँको भिएस एकेडमी सेकेन्डरी स्कुलले २५ जना विद्यार्थी एउटै स्कारपियोमा बोक्दै आएको छ । जबकि एउटा स्कारपियो गाडीको सिट पास संख्या चालकबाहेक सातजनाको हो । त्यस्तै, आफूलाई प्रतिष्ठित ठान्ने न्यु होराइजनले पनि सिट क्षमताभन्दा धरै विद्यार्थी बोक्ने गरेको छ ।
भिएसका प्रधानाध्यापक भरत न्यौपाने केही विद्यार्थीका लागि मात्र अर्को सवारी व्यवस्था गर्न आर्थिक भार पर्ने भएकाले व्यावहारिकताले सही लागेर बोकेको तर्क गर्छन् । उनले भने, ‘हाम्रा पनि बाध्यता छन्, त्यो कसले बुझ्छ ?’ तर, कोचिएर यात्रा गर्ने अबाेध बालबालिकाको बाध्यता भने उनले बुझेका छैनन् । त्यस्तै, सिट क्षमताभन्दा धेरै विद्यार्थी बाेक्ने न्यु होराइजन माविका प्रधानाध्यापक डाँसुराम पन्त एउटा बस बिग्रिरहने भएकाले समस्या भएको बताउँछन् ।
यातायात व्यवस्था विभागले जारी गरेको स्कुल बस निर्देशिकाले १२ वर्षभन्दा कम उमेरका विद्यार्थी सिट क्षमताभन्दा १.५ गुणा बढी बोक्न पाउने व्यवस्था गरेको छ । व्यवस्थाअनुसार पनि स्कारपियोले बढीमा ११ जना बोक्न सक्छ। नाफामुखी निजी विद्यालयले गरेको यस्तो नियमविपरीत कार्यप्रति न प्रहरीको आँखा छ न अभिभावकले मुख खोल्न सकेका छन् । विद्यार्थी त कसरी बोलून् शिक्षकहरूले आफूहरूले जे भने पनि मान्नुपर्छ भनेर सिकाएका छन् । एक–दुई दिन कोचिएर हिँड्नुपरे पनि अलग कुरा, बजार क्षेत्रमा नै हुने यो अवस्थामा किन मौन छ नियमकारी निकाय ? यसको जवाफ तिनै विद्यार्थीले खोजिरहेका छन् जो साथीको एउटा घुँडामा अडिएर विद्यालय जान्छन् ।