
प्रमुख प्रतिपक्ष दल माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित बाँकी अभियान भदौ १५ बाट सुरु गर्ने भएको छ । भदौ अन्तिमसम्म अभियान पूरा गर्ने गरी तयारी थालिएको माओवादीले जनाएको छ ।
माओवादीको मध्यपहाडी अभियान बैतडीबाट सुरु भएको अभियान पोखरा पुगेर रोकिएको थियो । रोकिएका मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान लमजुङबाट सुरु गरेर ताप्लेजुङमा समापन गर्ने तयारी रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टी रूपान्तरणको अभियानमा अभियानले सहयोग गर्ने उनको भनाइ छ । ‘वर्षाका कारण रोकिएको अभियान १५ भदौबाट सुरु गर्ने तयारी छ ।
अभियान ताप्लेजुङसम्म पुग्नेछ । भदौभित्रै अभियान सक्नेछौँ,’ उनले भने । शुद्धीकरण र रूपान्तरणमा अभियान महत्वपूर्ण हुने उनले बताए । अभियानका क्रममा जनसभा, भेटघाटलगायतका कार्यक्रम हुनेछन् । यसअघि माओवादीले जेठभित्र अभियान सक्ने तयारी गरेको थियो । तर, बजेट र वर्षाको कारण देखाउँदै पोखरा पुगेर अभियान रोकिएको थियो । अभियानपछि दसैँ–तिहारको बिचमा केन्द्रित समिति बैठक बस्ने माओवादी तयारी छ ।