
लोसपाबाट राजीनामा दिएका अनिलकुमार झाले आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टी घोषणाको तयारी गरेका छन् । निर्वाचन आयोगमा प्रक्रिया पूरा भएसँगै बुधबार घोषणाको तयारी छ । झाले गत फागुनमै लोसपाबाट राजीनामा दिएर सद्भावना पार्टीलाई अघि बढाउने तयारी गरेका थिए । ‘३६ वर्ष पुरानो नेपाल सद्भावना पार्टीलाई अगाडि बढाउँदै छौँ । पहिला पनि हाम्रो पार्टी त्यही थियो । लोसपामा अटाउन नसकेपछि पुरानै पार्टीमा फर्किएँ,’ उनले भने ।
मधेशकेन्द्रित ६ दल मिलेर राजपा बन्दा झा नेतृत्वको पार्टी पनि सामेल भएको थियो । त्यसपछि विभिन्न पार्टी हुँदै झा पुन: पुरानै पार्टीमा फर्किएका हुन् । ‘मधेशको मुद्दालाई अगाडि बढाउन मधेशकेन्द्रित दल मिलेर एकता गरिए पनि टिक्न सकेन । कम्युनिस्ट पृष्ठभूमि र कांग्रेस पृष्ठभूमिका नेताहरू अलग–अलग हुने स्थिति भयो । म पनि मधेशको पुरानै पार्टीमा फर्किएँ,’ झाले भने । उनले व्यक्तिगत कारण देखाएर लोसपाबाट राजीनामा दिएका थिए ।
गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पछिल्लो समय रामकुमार महतोको नेतृत्वमा थियो । उनले आफ्नो नाममा रहेको पार्टी अनिलकुमार झाको अध्यक्षतामा सञ्चालन हुने निर्णय केन्द्रीय समितिबाट गराएर निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले उक्त निर्णयलाई सदर गरेसँगै झाको नेतृत्वमा पार्टी घोषणाको तयारी गरिएको नेताहरूले बताएका छन् । झाले विद्यार्थी जीवनदेखि नै नेपाल सद्भावना पार्टीबाट राजनीति गरेका थिए । पार्टी विभाजनपछि झा राजेन्द्र महतोको नेतृत्वमा बनेको सद्भावना पार्टीमा गएका थिए ।