
काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । २७ वर्षीय नेकोभा सेटर पोसेसनबाट खेल्छिन् ।
नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं थप सन्तुलित र मजबुत भएको जनाएको छ । पहिलो सिजनमा बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन् । काठमाडौं इडब्लुभिएलको पहिलो सिजनमा तेस्रो भएको थियो । लिगमा सहभागी फ्रेन्चाइज टोलीले तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ ।
काठमाडौंले बाँकी दुईजना विदेशी खेलाडी छिट्टै घोषणा गर्नेे जनाएको छ । पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौंले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको छ ।
यस टोलीमा मनीषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । टोलीको मुख्य प्रशिक्षका लोकबहादुर बुढा छन् । दोस्रो सिजनको एभरेस्ट महिला भलिबल लिग २० देखि २८ भदौसम्म हुनेछ ।